रामेछाप । बिहान विद्यालय, साँझ आफ्नै बारी । दिनभरि कक्षाकोठामा विद्यार्थीलाई पढाउने र बाँकी समय माटोसँग खेल्ने-मन्थली नगरपालिका–७, भटौलीका दिलबहादुर अछामीको दैनिकी यस्तै छ।
पेशाले शिक्षक भए पनि अछामीको परिचय अहिले विद्यालयको कक्षाकोठामा मात्र सीमित छैन । खहरेको बगरछेउको सामान्य खोरियालाई हराभरा फलफूलको बगैंचामा बदल्दै उनी सफल कृषकका रूपमा पनि आफ्नो पहिचान बनाइरहेका छन् ।
केही वर्षअघिसम्म मन्थली–७ को आसिखेतमा रहेको उनको पाखोबारी सामान्य खोरियाभन्दा फरक थिएन। काल्ना र बुट्यानले भरिएको उक्त जमिन त्यत्तिकै उपयोगविहीनजस्तै थियो । खहरेको छेउमा रहेको जमिनमा खासै उत्पादन हुँदैनथ्यो। तर अछामीले त्यही उजाड जमिनमा सम्भावना देखेँ। ‘अरूले खोरिया देखेको ठाउँमा मैले केही गर्न सकिन्छ कि भनेर सोचें,’ उनी भन्छन्, ‘मेहनत गरे बाँझो जमिन पनि उत्पादन दिने रहेछ भन्ने अहिले अनुभव भइरहेको छ।’

तीन वर्षअघि उनले त्यही खोरियाका दुई पाटामा ड्रागन फ्रुट खेती सुरु गरे। सिमेन्टका पोल आफैं तयार गरेर खेती सुरु गरेका उनले सुरुवातमा करिब पाँच लाख रुपैयाँ लगानी गरे । मेहनत र निरन्तर स्याहारपछि दुई वर्षमै उनको लगानी उठ्यो । अहिले ड्रागन खेतीले उनलाई नाफा दिन थालेको छ । ‘गत वर्ष करिब तीन लाख रुपैयाँको ड्रागन बिक्री भयो,’ अछामीले भने, ‘यस वर्ष साढे तीन लाख रुपैयाँजतिको बिक्री भयो। अब अझै डेढ लाख रुपैयाँजतिको बिक्री हुने अपेक्षा छ।’

करिब एक रोपनी क्षेत्रफलमा फैलिएको उनको ड्रागन बगैंचा अहिले हराभरा छ। लहरिएका बोटका हाँगामा झुन्डिएका राताम्य फलले बारीको स्वरूप नै फेरिएको छ। केही वर्षअघि सामान्य खोरियाजस्तो देखिने जमिन अहिले फलफूलको बगैंचामा परिणत भएको छ। अछामी आफ्नो उत्पादन राम्रो हुनुको मुख्य कारण नियमित स्याहारलाई मान्छन् । मल, पानी र गोडमेलमा विशेष ध्यान दिँदा ड्रागनको उत्पादन हरेक वर्ष बढ्दै गएको उनको अनुभव छ।
कक्षाकोठाबाट निस्किएर ड्रागनसँगै आँप– भुईँकटहर र अम्बा हुर्काउँदै
अछामी रुद्राक्षेश्वर माध्यमिक विद्यालय, मुगिटारमा अध्यापन गर्छन्। कृषि क्षेत्रमा उनले कुनै औपचारिक तालिम भने लिएका छैनन्। आफ्नै अनुभव, खोज र प्रयोगबाट उनले खेतीका तरिका सिक्दै आएका छन् । ड्रागन फ्रुटमा सफलता पाएपछि उनको कृषि कर्म त्यतिमै रोकिएन । बारीमा कागती, विभिन्न जातका आँप, अनार, भुईँकटहर, अम्बालगायतका फलफूल पनि हुर्किरहेका छन्। ड्रागनको भित्री बालीका रूपमा उनले भुईँकटहरसमेत लगाएका छन् । बारीमा फलेको भुईँकटहर रसिलो र स्वादिलो रहेको उनी बताउँछन्।

महँगा तथा विदेशी जातका आँपका बिरुवा पनि उनले हुर्काइरहेका छन् । केही बोटले फल दिन सुरु गरिसकेका छन् भने केही बिरुवा उत्पादनका लागि तयार हुँदैछन् । ‘अहिले लगाएका आँपका बिरुवाले केही वर्षपछि राम्रो उत्पादन दिने अपेक्षा छ,’ उनी भन्छन्, ‘त्यसबाट थप आम्दानी गर्ने योजना छ।’
परिवारको श्रम, एउटै सपना
अछामीको कृषि यात्रामा परिवारको साथ पनि उत्तिकै महत्वपूर्ण छ । उनी विद्यालयमा विद्यार्थीलाई पढाइरहँदा उनकी श्रीमतीले बारी सम्हाल्छिन् । गोडमेलदेखि मलपानीसम्मका काममा उनी सक्रिय हुन्छिन्। विद्यालयबाट फर्किएपछि अछामी आफैं पनि बारीमा खटिन्छन् । छोराछोरीले समेत पढाइबाट बचेको समय खेतीको स्याहारमा लगाउन थालेका छन् । यसरी उनको बारी एक व्यक्तिको मेहनत मात्र नभई परिवारकै साझा श्रम, लगाव र सपनाको प्रतिफल बन्दै गएको छ ।
उत्पादनलाई बजारको छैन चिन्ता
उत्पादन बढ्दै गएपछि किसानका लागि सबैभन्दा ठूलो चुनौती बजार व्यवस्थापन बन्ने गर्छ। तर अछामीका लागि भने बजार केही सहज छ । मन्थलीका उपभोक्ताहरूले उनको उत्पादन खोजेरै लैजाने गरेका छन् । गुणस्तरीय भएकाले उनको ड्रागन प्रतिकेजी करिब तीन सय रुपैयाँमा बिक्री भइरहेको छ । मन्थलीमा मात्र सीमित उनको उत्पादन अब काठमाडौंसम्म पुर्याउने तयारीमा रहेको सुनाउँछन्। बजारको माग र उत्पादनको सम्भावना देखेर उनले आगामी दिनमा खेती विस्तार गर्ने योजना बनाएका छन्। ‘बजारको समस्या धेरै छैन। उत्पादन राम्रो भयो भने ग्राहक आफैं आउँछन्,’ उनी भन्छन्, ‘अब खेतीलाई अझ विस्तार गर्ने सोचमा छु।’
दुई वर्षमै लगानी उठ्यो, अब आम्दानी
अछामीका लागि कृषि अब अतिरिक्त आम्दानीको माध्यम मात्र रहेन । यो सम्भावनाको नयाँ संसार बनेको छ । कुनै औपचारिक कृषि तालिम नलिएका उनले आफ्नै खोज, निरन्तर सिकाइ, प्रयोग र मेहनतबाट खोरियालाई उत्पादनशील जमिनमा बदलेका छन्। पाँच लाख रुपैयाँको लगानीबाट सुरु भएको ड्रागन खेतीले दुई वर्षमै लगानी उठाएर अहिले आम्दानी दिन थालेको छ ।
उनको कथा कृषिमा सफल हुन ठूलो जमिन, ठूलो लगानी वा औपचारिक तालिम मात्र चाहिन्छ भन्ने सोचलाई पनि चुनौती दिन्छ। इच्छाशक्ति, निरन्तर मेहनत, धैर्य र नयाँ प्रयोग गर्ने आँट भए सामान्य देखिने जमिनबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण अछामीले प्रस्तुत गरेका छन् ।कहिल्यै महत्व नपाएको खहरेछेउको त्यो खोरिया अहिले उनको सपना फलाउने ठाउँ बनेको छ। बारीमा झुन्डिएका ड्रागनका राताम्य फल र हुर्किंदै गरेका आँपका बोटले केवल आम्दानीको कथा सुनाइरहेका छैनन्, उजाड जमिनमा पनि मेहनत र सम्भावनाको बाली फलाउन सकिन्छ भन्ने प्रेरणा पनि दिइरहेका छन् ।















प्रतिक्रिया दिनुहोस्