म्याग्दी। म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाले अब विद्युत् उत्पादनको तयारी थालेको छ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार बाँध, डिसेन्डर, मुख्य सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ। २० मेगावाटको एक युनिट परीक्षण पूरा भएको छ भने अर्को युनिटको पनि परीक्षण सुरु गरिएको छ। एक सातादेखि १० दिनभित्र परीक्षण सकेर विद्युत् उत्पादन थाल्ने लक्ष्य छ।
आयोजनाबाट उत्पादित विद्युत् २२० केभी दाना–कुश्मा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। कोरोना महामारी, बाढी–पहिरो र निर्माण सामग्री अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो।
राहुघाट आयोजना निर्माणका लागि भारतीय कम्पनी जयप्रकाश एसोसियट्ससँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो। लामो समयदेखि प्रतीक्षित आयोजना सम्पन्न हुन लागेसँगै म्याग्दीमा जलविद्युत् विकासले थप गति लिने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्