Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

बाढीले मेटायो आधा दर्जन बढी आयोजनाको अस्तित्व : हाइड्रोका ८९४ जना सम्पर्कविहीन, टनेलभित्र ढुंगा–लेदो भरिँदा उद्धारमा झन् सकस

बाढीले मेटायो आधा दर्जन बढी आयोजनाको अस्तित्व : हाइड्रोका ८९४ जना सम्पर्कविहीन, टनेलभित्र ढुंगा–लेदो भरिँदा उद्धारमा झन् सकस
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोशी बाढीपछि नुवाकोट र रसुवामा सञ्चालनमा रहेका एवं निर्माणाधीन ११ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त बनेका छन्। ती आयोजनामा हराइरहेका कामदार तथा कर्मचारीको संख्या आइतबार साँझसम्म ८९४ जना पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) काअनुसार बाढीका कारण दुई जिल्लाका ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन गरी जम्मा १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। यी आयोजनाको कुल क्षमता ६६९ मेगावाट रहेको छ। क्षतिग्रस्त आयोजनाको संख्या भने ११ रहेको र ती आयोजनासँग सम्बन्धित ८९४ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।

रसुवामा ६ आयोजनामा क्षति

रसुवा जिल्लामा भोटेकोशी बाढीबाट ६ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल क्षमता ४९४ मेगावाट रहेको छ भने ७२६ जना सम्पर्कविहीन छन्। रसुवामा सबैभन्दा बढी क्षति माथिल्लो त्रिशूली–१ आयोजनामा भएको छ। २१६ मेगावाट क्षमताको निर्माणाधीन उक्त आयोजनामा ५७३ जना सम्पर्कविहीन रहेको विवरण छ। आयोजना नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी (एनडब्लूईडीसी) ले प्रवर्द्धन गरिरहेको छ।

त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ। रसुवागढी हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको यस आयोजनामा ९३ जना सम्पर्कविहीन छन्। १२० मेगावाटको रसुवा–भोटेकोशी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ। लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनी प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनामा ४ जना सम्पर्कविहीन छन्। २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना परीक्षण चरणमा रहेको छ। मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरेको आयोजनामा ४१ जना सम्पर्कविहीन छन्।

त्यसैगरी, २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ। चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको आयोजनामा ८ जना सम्पर्कविहीन छन्। ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनामा ७ जना सम्पर्कविहीन रहेको विवरण छ।

बाढीबाट नुवाकोटका ६ आयोजनामा क्षति

नुवाकोटका प्रमुख जलविद्युत् आयोजनामध्ये त्रिशूली जलविद्युत् आयोजना, देवीघाट जलविद्युत् आयोजना, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मिड्ल त्रिशूली गंगा र सौर्य विद्युत् आयोजनामा क्षति पुगेको छ। यी आयोजनाको कुल क्षमता १७६ मेगावाट रहेको विवरणमा उल्लेख छ। नुवाकोटका आयोजनामा १६८ जना सम्पर्कविहीन रहेको विवरण छ। २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजनामा १ जना र १४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजनामा १ जना सम्पर्कविहीन छन्।

स्रोत : इप्पान

नेपाल विद्युत् प्राधिकरणले यी आयोजना सञ्चालन गरिरहेको छ। ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए आयोजनामा ४२ जना सम्पर्कविहीन छन्। त्यस्तै, ३७ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–३ बी आयोजनामा १२२ जना सम्पर्कविहीन रहेका छन् । यसैगरी, १५.६ मेगावाटको निर्माणाधीन मिड्ल त्रिशूली गंगा आयोजनामा २ जना सम्पर्कविहीन छन्। पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरेको उक्त आयोजनामा क्षति पुगेको छ। २५ मेगावाटको सौर्य विद्युत् आयोजनाको विवरणमा सम्पर्कविहीन संख्या उल्लेख गरिएको छैन।

सुरुङभित्र फसेकाको उद्धार चुनौतीपूर्ण

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् केन्द्रको सुरुङमा फसेकाहरूको उद्धार सोमबार पनि जारी रह्यो। २४ घण्टा लगातार खोजी कार्य जारी रहेपनि उद्धार टोलीले केबल टनेल पोर्टल सफा गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सोमबार सुरुङमा क्राउन ब्लास्ट गरी केबल टनेलमा पानी रहेको पाइएपछि वाटर पम्प सेट प्रयोग गरी डि–वाटरिङ गर्ने काम गरिएको थियो। सुरुङको मुखतर्फ रहेका ढुंगा–माटोको थुप्रो हटाई भित्र प्रवेश गर्न सकिने मार्ग तयार गर्ने काम पनि गरिएको छ। विशेषज्ञ प्राविधिक टोलीले २४ घण्टा काम गरिरहेको भए पनि सुरुङभित्र फसेकाहरूको उद्धारमा सफलता मिल्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार सुरुङभित्र पानी भरिएकाले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको छ।

रसुवागढीमा खोजी गर्दा कोही भेटिएनन्

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा सोमबार नेपाली सेनाले नेतृत्व गरेको टोलीले विद्युत्गृहको सुरुङभित्र प्रवेश गरी अवलोकन गरेको छ। रसुवागढी हाइड्रोपावरको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली सोमबार नै फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंकापछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजी कार्यमा जुटेको थियो। सुरुङको भित्री भागमा पुगेर ड्रोनमार्फत अवलोकन गर्दा कोही नभेटिएपछि खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको सेनाले जनाएको छ। रसुवागढीबाट कम्पनीका ४९ जना कर्मचारीसहित ९३ जना हराइरहेका छन्।

चिलिमेमा ३५ मिटरसम्म उद्धार टोली पस्यो, व्यक्ति भेटिएनन्

२२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा आइतबार बाढीले प्रभावित बनाएपछि रोकिएको उद्धार कार्य सोमबार पुनः पनि जारी रह्यो । दिनभर नेपाली सेना, सशस्त्र प्रहरी, भारतीय प्राविधिक टोली तथा आयोजनाकै व्यक्तिहरू विद्युत्गृहसम्म पुग्ने मार्ग खुलाउने काममा जुटेका थिए। चिलिमे जलविद्युत् केन्द्रका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार आवश्यकताअनुसार उपकरणहरू लगेर विद्युत्गृह जाने मार्ग खुलाउने काम सोमबार दिनभर गरिएको छ। यद्यपी सेनाको टोलीले मंगलबार पनि उक्त स्थानमा बिहानैबाट खोजीकार्य जारी राखेको छ । नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेतका अनुसार, २५० मिटर लामो सुरुङमा उद्धार टोलीले ३५ मिटर भित्रसम्म पुग्न सफल भएको छ। तर, उक्त स्थानमा टनेलको मुख सकिएकाले अर्को ठाउँबाट पुनः नयाँ मार्ग खोजेर उद्धार गर्नुपर्ने देखिएको छ। जुन आज बिहानबाटै काम जारी रहेको छ।

स्रोत : इप्पान

माथिल्लो त्रिशूली–३ बीमा खोजी जारी

३७ मेगावाटको आयोजनाको हेड फेला पारेर उद्धार टोलीले कम्प्रेसरबाट भित्र अक्सिजन पठाउन सफल भएको छ। तर, टनेलमा पानी निकै रहेकाले सोमबार उद्धार टोली पानी बाहिर निकाल्न खटियो। आयोजनाका सबै संरचना बाढीमा बगेका छन्। नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार माथिल्लो त्रिशूली–३ बीसँगैको २२० केभी त्रिशूली–३ बी हब सबस्टेसन पनि पूर्ण क्षतिग्रस्त बनेको छ। त्यहाँबाट सम्पर्कविहीन भएकाहरूको पनि खोजी कार्य भइरहेको छ।

माथिल्लो त्रिशूली–१ मा ५७३ जना वेपत्ता

२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा फसेकाहरू मध्ये सोमबार ३ जनाको मात्र उद्धार भएको छ। हालसम्म उद्धार तथा सम्पर्कमा आएकाहरूको संख्या ८७३ जना रहेको छ।
आयोजनामा परामर्शदाता कम्पनी, ठेकेदार कम्पनीसहितका कर्मचारी गरी ५७३ जना हराइरहेका छन्। यसमध्ये ३०० जना सुरुङभित्र काम गर्नेहरू हराइरहेका छन्। उनीहरू सुरुङभित्र बसेर काम गरिरहेका थिए वा भित्र प्रवेश गर्न बाँकी थियो भन्ने यकिन हुन नसकेको इप्पानले जनाएको छ। १० गते आयोजनामा करिब साढे १४ सय जनाले काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ।

यसैगरी, रसुवागढी हाइड्रोको २५० मिटरसम्म उद्धार टोली पुगेको छ। टनेलको अन्तिम विन्दु पुग्न करिब पाँच मिटर अगाडी बन्द भएको छ। २५० मिटरभित्रसम्म पुगेर खोज्दा केही पनि फेला नपरेको सेनाले जनाएको छ ।मंगलबार पनि यहाँ खोजीकार्य जारी छ । लाङटाङ हाइड्रोको ६५ मिटर भित्र उद्धार टोली पुगेर खोजी गर्दा सोमबार दिउँसो एक शव फेला परेको छ । सेनाका अनुसार मंगलबार बिहानैदेखि त्रिशूली, चिलिमेलगायतका आयोजनामा निरन्तर नेपाली सेना तथा संयुक्त टोलीले सातौं दिन पनि खोजी कार्य जारी राखेका छन् । आयोजनाहरुको टनेलमा ठूला ठूला ढंगाहरुसँगै लेदोमाटो पसेर मुख बन्द भएको, हेलिकप्टरबाट उद्धारकर्मी तथा सामान लैजानुपर्ने भएकाले मौसम प्रतिकूल बनेको तथा आयोजनाको अस्तित्वनै बाढीले पुगेको तथा बगाएकाले सुरुको विन्दु पत्ता लगनउन उद्धार टोलीलाई निकै कठिनाई बनेका कारण खोजी कार्यमा चुनौती थपिएको सेनाले जनाएको छ।

यद्यपी बाढीले क्षतिग्रस्त बनेका ११ आयोजनामध्ये सात ओटाको प्ररम्भिक भौतिक क्षति एक खर्ब रुपैयाँ माथि हुनसक्ने आकलन प्राधिकरणले गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit