काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नवौंदिन पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेना, सुरक्षा निकाय, आयोजना प्राविधिक तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले विभिन्न आयोजनामा फरक–फरक प्रविधि र उपकरण प्रयोग गरी खोज तथा उद्धार गरिरहेको छ।
लाङटाङ खोला जलविद्युत आयोजना
रसुवास्थित २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट बिहीबार दुई जनाको शव निकालिएको छ। सुरुङमा खोज तथा उद्धारका लागि खटिएको नेपाली सेनाको टोलीले दुई जनाको शव निकालेको हो । बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित ७–८ जनाको प्राविधिक टोली आयोजनाको खाली पेनस्टक पाइप हुँदै करिब १५० मिटरसम्म भित्र पुगेको थियो। सोही बाटो प्रयोग गरी सेनाले शव बाहिर निकालेको हो।
मुख्य सुरुङबाट उद्धार टोली प्रवेश गर्ने प्रयास गरे पनि ढुंगा, माटो र लेदो भरिएकाले करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न नसकेको थियो। त्यसपछि आयोजनाका प्राविधिकसहितको टोलीले वैकल्पिक बाटोबाट खोजी थालेको थियो। हाल लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली परिचालन गरिएको छ। टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर थप खोजी गरिरहेको छ। आयोजनामा कार्यरत २५ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।
चिलिमे हाइड्रो
चिलिमे जलविद्युत आयोजनामा पनि विदेशीसहितको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको छ। बाढीपहिरोबाट प्रभावित संरचना तथा सुरुङ क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै टोलीले चरणबद्ध रूपमा खोजी गरिरहेको सेनाले जनाएको छ।
त्रिशूली–३ ‘ए’
त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा उद्धार कार्यका लागि ९३ जनाको संयुक्त टोली खटिएको छ। टोलीले पाँच वटा एक्स्काभेटर प्रयोग गरी सुरुङको आउटलेटमा थुप्रिएको लेदो तथा माटो हटाउने काम गरिरहेको छ। उद्धारका क्रममा सुरुङको आउटलेटमा रहेको होल साँघुरो भएपछि राति करिब २ बजे सुरुङको ‘क्राउन’ भागमा ब्लास्टिङ गरी होल ठूलो बनाउने र सफा गर्ने कामसमेत गरिएको छ। सुरुङभित्र प्रवेश गर्ने बाटो खुलाउन उपकरण प्रयोग गरी निरन्तर काम भइरहेको छ। यस आयोजनामा कार्यरतमध्ये ठूलो संख्यामा बेपत्ता छन् ।
त्रिशूली–३ ‘बी’
त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ८९ जना, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। टोलीले बाढीपहिरोले पुरिएका आयोजनाको कार्यालय तथा कर्मचारी आवास क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्ने बाटो खोल्ने काम गरिरहेको छ। एक्स्काभेटरबाट बाटो बनाउने तथा बबक्याट प्रयोग गरी माटो पन्छाउने काम भइरहेको छ।
नदी किनारमा पनि खोजी गरिँदै
जलविद्युत आयोजनाका सुरुङबाहेक प्रभावित क्षेत्रमा जमिन, जंगल, डाँडा, खोला तथा बस्ती क्षेत्रमा पनि खोज तथा उद्धार जारी राखेको सेनाले जनाएको छ। स्थानीयवासीलाई सुरक्षा प्रत्याभूति दिँदै आवश्यक उद्धार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन पैदल गस्तीसमेत सञ्चालन गरिएको छ। त्रिशूली नदीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ। रसुवाको स्याफ्रुवेशी क्षेत्रमा पनि नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले खोजी गरिरहेको छ।
यसैबीच नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरमा सम्भावित संक्रमण फैलिन नदिन चिकित्सक अधिकृतहरूले सचेतनामूलक कक्षा सञ्चालन गरिरहेका छन्। नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार ३०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
बाढीपहिरोबाट जलविद्युत आयोजनाका सुरुङ तथा संरचना प्रभावित भएपछि त्यहाँकार्यरत सात सय बढी संख्यामा मानिसहरु सम्पर्कविहीन बनेका छन् । बिहीबार मध्यान्न १२ बजेसम्म भदौ १० गतेको बाढीपछि रसुवा जिल्लाबाट ८८५ र नुवाकोटबाट १५५८ जना बेपत्ता छन् । आजसम्म कुल सम्पर्कविहीनको संख्या चार हजार २१६ जना पुगेको छ। सेनाका अनुसार उद्धार टोलीले आयोजनाअनुसार फरक प्रविधि अपनाएर जलविद्युतका सुरुङभित्र फसेका नागरिकको खोजी कार्य गरिरहेको छ।















प्रतिक्रिया दिनुहोस्