काठमाडौं । युरोपेली क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको २०२६/२७ सिजनको लिग चरण आज (मंगलबार)देखि सुरु हुँदैछ।
प्रतियोगिताको पहिलो दिन ६ खेल हुँदैछन्। यसपटक च्याम्पियन्स लिगका खेलहरू नेपालका लागि विशेष सन्देशसहित सुरु हुँदैछन्। नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएकाप्रति ऐक्यबद्धता जनाउँदै यूईएफएले यस साताका सबै च्याम्पियन्स लिग खेलअघि एक मिनेट मौनधारण गर्ने भएको छ। यूईएफएले खेलअघि ‘नेपाल, तिमी एक्लो छैनौ’ लेखिएको ब्यानरसमेत प्रदर्शन गर्ने जनाएको छ। यूईएफएका अध्यक्ष अलेक्जान्डर चेफेरिनले युरोपेली फुटबल परिवार नेपालका पीडितप्रति शोक तथा समर्थन व्यक्त गर्न एकजुट हुने बताएका छन्।
यूईएफएका अनुसार आज (मंगलबार ) बाट सुरु हुने सबै खेलमध्ये दुई खेल नेपाली समयअनुसार राति १०ः३० बजे र बाँकी चार खेल राति १२ः४५ बजे सुरु हुनेछन्। ३६ टोली सहभागी नयाँ ढाँचाको लिग चरण जनवरी २७, २०२७ सम्म सञ्चालन हुनेछ। पहिलो दिन नै युरोपका चर्चित क्लबहरू मैदानमा उत्रिँदैछन्। नेपाली समयअनुसार राति १०ः३० बजे क्लब ब्रुगले घरेलु मैदानमा एस्टन भिल्लाको सामना गर्नेछ। सोही समयमा एइके एथेन्सले एलएएसकेसँग खेल्नेछ। राति १२ः४५ बजे हुने खेलमा पोर्टोले घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, जर्मन क्लब बोरुसिया डर्टमन्डले घरेलु मैदानमा स्पेनिस क्लब भिल्लारियालसँग खेल्नेछ।
सोही समयमा लिलले रियल बेटिससँग प्रतिस्पर्धा गर्दा पहिलो दिनको सबैभन्दा आकर्षक खेलमा रियल मड्रिड र इन्टर मिलान आमनेसामने हुनेछन्। उक्त खेल रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ। युरोपेली फुटबलको ठूलो मञ्चबाट नेपाली बाढीपीडितप्रति जनाइने ऐक्यबद्धता र समर्थनले विश्व समुदायमा जलवायुको मुद्दाप्रति शक्ति राष्ट्रलाई सचेत गराउन समेत सकारात्मक सन्देशले प्रवाह हुने विस्वास गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्