सडक विस्तार सुस्त हुँदा स्थानीयलाई धुलो–हिलोको सास्ती, व्यवसाय प्रभावितस पूर्वी नेपालको व्यापारिक ‘लाइफलाइन’ बन्ने आयोजना आफैँ ढिलाइको चपेटामा
काभ्रे । काठमाडौँ उपत्यकाबाट पूर्वतर्फ निस्कँदा साँगा पार गरेपछि सडकको अवस्था फेरिन्छ। कतै सडक चौडा पार्न डाँडा काटिएको छ, कतै रिटेनिङ वाल ठडिँदैछ, कतै नाली निर्माण भइरहेको छ। कतै निर्माणाधीन पुलका संरचना देखिन्छन् भने कतै सडक धुलाम्मे छ।
सवारीको चाप, निर्माण सामग्री, धुलो, हिलो र अव्यवस्थित डाइभर्सनबीच यात्रुहरू गन्तव्यतर्फ अघि बढिरहेका हुन्छन्। सामान्य अवस्थामा करिब ४५ मिनेटमा पार गर्न सकिने दूरी पार गर्न घण्टौँ लाग्ने अवस्था बनेको छ।
यो दृश्य हो काठमाडौंलाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने महत्वपूर्ण सूर्यविनायक–धुलिखेल सडकखण्डको।
झन्डै १६ किलोमिटर लामो सडकलाई छ लेनमा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको आयोजना तीन वर्ष पुगिसक्दा पनि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। आयोजनाको समग्र भौतिक प्रगति करिब ६१ प्रतिशत पुगेको छ। अर्थात्, अझै करिब ४० प्रतिशतभन्दा बढी काम बाँकी छ।
सडक विस्तार पूरा भएपछि काठमाडौँ उपत्यकाको पूर्वी नाका साँगामा हुने सवारी चाप घट्ने, यात्रा समय कम हुने र काभ्रे हुँदै पूर्वी नेपालसम्मको व्यापारिक आवागमन सहज हुने अपेक्षा गरिएको छ। तर निर्माणमा भइरहेको ढिलाइले आयोजनाबाट प्राप्त हुने ती सम्भावित लाभलाई नै पछि धकेलिरहेको छ।
६ लेनको सपना, धुलो–हिलोको वर्तमान
सूर्यविनायक–धुलिखेल सडकलाई चार लेनको मुख्य सडकसहित दुई सर्भिस लेन गरी छ लेनमा विस्तार गर्ने योजना हो। सडकसँगै पक्की नाली, पैदलमार्ग, सडक सुरक्षा संरचना, रिटेनिङ वाल, पुल तथा अन्डरपास निर्माण गर्ने काम पनि आयोजनामा समेटिएको छ।
सडक विभागका अनुसार आयोजनाको अनुमानित लागत १० अर्ब ५० करोड रुपैयाँ छ भने सम्झौता रकम ८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ।
आयोजनालाई दुई खण्डमा विभाजन गरिएको छ—सूर्यविनायक–साँगा र साँगा–धुलिखेल।
काभ्रेतर्फको ८ दशमलव ३ किलोमिटर साँगा–धुलिखेल खण्डको भौतिक प्रगति ६८ प्रतिशत र आर्थिक प्रगति ६३ दशमलव ५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। यस खण्डको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको हो। २०७९ मङ्सिर २७ गते ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा सम्झौता भएको यो खण्डको म्याद २०८३ मङ्सिर २३ गतेसम्म छ।
यता भक्तपुरतर्फको ७ दशमलव ५ किलोमिटर सूर्यविनायक–साँगा खण्डको भौतिक प्रगति ५४ प्रतिशत र आर्थिक प्रगति ४८ प्रतिशत पुगेको छ। बन्धन भगवती जेभीले २०७९ पुस २४ गते ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा यसको ठेक्का पाएको थियो। यसको म्याद २०८३ फागुन २९ गतेसम्म रहेको छ। दुवै खण्डको प्रगतिबीच पनि उल्लेख्य अन्तर देखिन्छ।
बनेपामा सडक विस्तार, व्यवसायमा मन्दी
साँगा, जनागाल, बाँसघारी, बुडोल हुँदै बनेपा बजारसम्म सडक विस्तारको प्रभाव प्रत्यक्ष देखिन्छ।कतिपय स्थानमा सर्भिस लेन र नाली निर्माण भइसकेका छन्। मुख्य सडकमा कालोपत्र गर्ने काम पनि अघि बढिरहेको छ। तर काम पूरा नभइसकेकाले बजार क्षेत्रका व्यवसायी र स्थानीय भने निर्माणको प्रत्यक्ष मारमा छन्।
बनेपा बजारका व्यापारी मणि श्रेष्ठका अनुसार सडक निर्माणसँगै बजारको व्यापारिक गतिविधिमा समेत असर परेको छ। “सडक विस्तार आवश्यक हो, तर निर्माण लम्बिँदा व्यवसायमा मन्दी आएको छ,” उहाँको भनाइ छ।
ग्राहकलाई पसलसम्म पुग्न कठिन हुने, सवारी पार्किङको समस्या हुने तथा धुलो र हिलोका कारण व्यापारिक वातावरण प्रभावित हुने गरेको व्यवसायीहरूको गुनासो छ।
अर्थात्, दीर्घकालमा आर्थिक गतिविधिलाई गति दिने उद्देश्यले निर्माण भइरहेको सडक अहिले भने स्थानीय अर्थतन्त्रका लागि अस्थायी बोझ बनिरहेको छ।
पुल निर्माणको गति झन् कमजोर
आयोजनाको महत्वपूर्ण हिस्सा पुल निर्माण हो। जगाती, महादेव खोला र पुण्यमाता खोलामा गरी तीन स्थानमा १२ वटा पुल निर्माण गर्ने सम्झौता भएको छ।
तर पुल निर्माणको भौतिक प्रगति हालसम्म करिब १० प्रतिशत र आर्थिक प्रगति ३ दशमलव २८ प्रतिशत मात्रै पुगेको छ। डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण भइरहेको पुलमा डिजाइन पुनरावलोकन र प्राविधिक विषयका कारण समय लागेको आयोजनाका इन्जिनियर विष्णु खनाल बताउनुहुन्छ।
स्थानीय आवश्यकता तथा संरचनाको प्राविधिक अवस्थाअनुसार डिजाइन संशोधन गर्नुपरेपछि निर्माण प्रक्रिया थप प्रभावित भएको उहाँको भनाइ छ।
बजेटको अभावले रोकिएको गति
आयोजनाको ढिलाइमा निर्माणस्थलका समस्या मात्र छैनन्। बजेट अभाव र निर्माण व्यवसायीलाई समयमै भुक्तानी हुन नसक्नु पनि प्रमुख कारण बनेको छ।
आयोजना कार्यान्वयन एकाइकी सूचना अधिकारी अञ्जु परियारका अनुसार चालु आर्थिक वर्षमा आयोजनाका लागि ९३ करोड १० लाख १७ हजार ७१६ रुपैयाँ बजेट विनियोजन भएको छ। त्यसमध्ये पुँजीगततर्फ ९० करोड ८९ लाख रुपैयाँ छुट्याइएको छ।
गत आर्थिक वर्षमा निर्माण व्यवसायीलाई मूल्य अभिवृद्धि करसहित १ अर्ब ७० करोड ७९ लाख २३ हजार ३७६ रुपैयाँ भुक्तानी गरिएको थियो। तर चालु आर्थिक वर्षमा पर्याप्त बजेट नहुँदा सम्पन्न कामको समेत बिल भुक्तानीमा समस्या देखिएको आयोजनाले जनाएको छ।
निर्माण व्यवसायीका लागि नियमित नगद प्रवाह आवश्यक हुन्छ। सामग्री खरिद, उपकरण सञ्चालन र मजदुर व्यवस्थापनमा रकम चाहिन्छ। भुक्तानी रोकिँदा त्यसको प्रत्यक्ष असर निर्माणको गतिमा पर्छ।
पोल, पाइप र फाइबरले पनि रोकेको बाटो
आयोजना ढिलाइको अर्को कारण सडकको सीमाभित्र रहेका पुराना पूर्वाधार हुन्। विद्युत्का पोल, खानेपानीका मुख्य पाइप, अप्टिकल फाइबर तथा अन्य संरचना स्थानान्तरणमा भएको ढिलाइले कतिपय स्थानमा निर्माण प्रभावित भएको छ।
जगाती, नलिनचोक, साँगा र बनेपाका बजार क्षेत्रमा सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने, जग्गा प्राप्ति तथा पुलको डिजाइनलगायतका विषयले पनि सुरुआती चरणमा आयोजना प्रभावित गरेको थियो।
आयोजना कार्यालयका अनुसार स्थानीयस्तरका विवाद, साइट क्लियरन्सको समस्या, बिटुमिन तथा इन्धनको अभाव र निर्माण सामग्रीको मूल्य वृद्धिले पनि काम सोचेअनुसार अघि बढ्न सकेन।
इन्जिनियर खनालका अनुसार यी समस्या समाधान गर्दै थपिएको समयभित्र आयोजना सम्पन्न गर्ने प्रयास भइरहेको छ।
सडक बनाउँदै गर्दा सडकमै फसेका यात्रु
निर्माणाधीन सडकमा सबैभन्दा बढी समस्या यात्रुले भोगिरहेका छन्।निर्माण कम्पनीले सडक विस्तारको कामसँगै दैनिक सवारी आवागमन पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ। सुक्खायाममा धुलो र वर्षायाममा हिलो, पानी तथा अव्यवस्थित डाइभर्सनले यात्रालाई कठिन बनाउने गरेको छ।
पर्याप्त पानी नछर्किएको, नाली निर्माण ढिलो भएको र डाइभर्सन व्यवस्थित नभएको भन्दै स्थानीयवासी तथा यात्रुले पटक–पटक गुनासो गर्दै आएका छन्।
विशेषगरी साँगा भञ्ज्याङ सवारी चापका कारण संवेदनशील क्षेत्र बनेको छ। काठमाडौँ उपत्यकाको पूर्वी प्रवेशद्वार भएकाले यहाँ दैनिक ठूलो संख्यामा सवारीसाधन सञ्चालन हुन्छन्।
त्यसमाथि विपी राजमार्ग हुँदै सिन्धुली, बर्दिबास, महोत्तरी, उदयपुर तथा कोशी प्रदेशका विभिन्न जिल्लातर्फ जाने–आउने सवारीको चापसमेत यही मार्गमा थपिन्छ।
फलतः निर्माणले गति लिन नसक्दा यात्राको समय र इन्धन खर्च दुवै बढिरहेको छ।
साँगाको अन्डरपासले देखाएको सम्भावना
तर आयोजनाका केही संरचनाले भने सडक विस्तारपछि आउन सक्ने सहजताको संकेत पनि दिएका छन्। साँगा क्षेत्रमा निर्माण भइरहेको अन्डरपासले स्थानीय बस्तीबाट आउने–जाने सवारीसाधन तथा पैदलयात्रीलाई सहज बनाउन थालेको स्थानीय जीवन श्रेष्ठ बताउनुहुन्छ।
यस्ता संरचना समयमै पूरा भएमा मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।त्यसैगरी सडकका दुवै किनारमा अपाङ्गतामैत्री पैदलमार्ग, पक्की नाली तथा सडक बत्ती निर्माण गर्ने योजना छ। डाँडा काटिएका क्षेत्रमा पहिरो जोखिम न्यूनीकरणका लागि जाली भर्ने, टेकिङ वाल निर्माण तथा हरियाली प्रवर्द्धनका कामसमेत आयोजनामा समेटिएका छन्।
यसले देखाउँछ यो आयोजना केवल सडक चौडा बनाउने परियोजना होइन। यो सडक, सुरक्षा, पैदलयात्रु, वातावरण र आर्थिक गतिविधिलाई एकैपटक जोड्ने पूर्वाधार आयोजना हो।
सडक ढिलो हुँदा अर्थतन्त्रको गति पनि सुस्त
सूर्यविनायक–धुलिखेल सडकको महत्व स्थानीय यात्रामा मात्र सीमित छैन। यो मार्ग काठमाडौँ उपत्यकालाई काभ्रे हुँदै पूर्वी नेपालसँग जोड्ने प्रमुख व्यापारिक मार्ग हो। स्थानीय उत्पादन काठमाडौँको बजारसम्म पुर्याउनदेखि पूर्वी जिल्लाबाट राजधानीतर्फ हुने खाद्यान्न तथा अन्य वस्तुको आपूर्ति व्यवस्थासम्म यसको महत्वपूर्ण भूमिका छ।
पर्यटनका दृष्टिले पनि यो सडक उत्तिकै महत्वपूर्ण छ। धुलिखेल, नमोबुद्धलगायतका पर्यटकीय गन्तव्यसँगै पूर्वी नेपालतर्फ जाने पर्यटक तथा यात्रुको आवागमन यसै मार्गमा निर्भर छ।
सडक सहज भयो भने यात्रा समय घट्छ, इन्धन बचत हुन्छ, ढुवानी लागत घट्छ र व्यापारिक गतिविधि बढ्छ।तर सडक निर्माण नै लामो समयसम्म अधुरो रह्यो भने यी सबै आर्थिक लाभ पनि पछाडि धकेलिन्छन्।
अबको प्रश्न : थपिएको समयभित्र काम सकिएला ?
सम्झौताअनुसार मूल अवधि सकिएपछि आयोजनाको म्याद थप गरिएको छ। आयोजना कार्यालयले अब २०८३ पुसभित्र छ लेन सडकको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्यसहित नयाँ कार्ययोजना बनाएको जनाएको छ।
सुख्खायामभित्र साँगा–धुलिखेल खण्डको बाँकी काम सम्पन्न गरी भौतिक प्रगतिलाई शतप्रतिशत पुर्याउने र सूर्यविनायक–साँगा खण्डको कामलाई पनि तीव्रता दिने गरी निर्माण व्यवसायी परिचालन गरिएको इन्जिनियर खनालको दाबी छ।
तर स्थानीयको अनुभव भने अझै फरक छ। तीन वर्ष बितिसक्दा पनि सडक विस्तारको काम अपेक्षित गतिमा अघि नबढेपछि “अब साँच्चिकै कहिले सकिन्छरु” भन्ने प्रश्न स्थानीय र यात्रुको साझा प्रश्न बनेको छ।
अब आयोजना सम्पन्न गर्न केवल निर्माण कम्पनीलाई दबाब दिएर पुग्दैन। पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेछ। सम्पन्न कामको भुक्तानी समयमै गर्नुपर्नेछ। विद्युत्, खानेपानी र सञ्चारका पूर्वाधार तत्काल व्यवस्थापन गर्नुपर्नेछ। सडक सीमाभित्रका अवरोध हटाउनुपर्नेछ। साथै निर्माणका क्रममा सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउनुपर्नेछ।
सडक होइन, पूर्वी नेपालको आर्थिक ढोका
सूर्यविनायक–धुलिखेल सडकलाई केवल एउटा सडक विस्तार आयोजनाका रूपमा हेर्नु यसको वास्तविक महत्वलाई साँघुरो बनाउनु हुनेछ। यो काठमाडौँ र पूर्वी नेपालबीचको आर्थिक सम्बन्ध जोड्ने पूर्वाधार हो। व्यापार, पर्यटन, आपूर्ति, रोजगारी र स्थानीय उत्पादनको बजार विस्तारसँग यसको प्रत्यक्ष सम्बन्ध छ।
त्यसैले सडक विस्तारमा हुने प्रत्येक दिनको ढिलाइ केवल निर्माणको समय थपिनु होइन—यात्रुको समय, व्यवसायीको लागत र अर्थतन्त्रको सम्भावित गति पनि पछाडि धकेलिनु हो।
अब स्थानीयलाई धुलो र हिलोबाट मुक्ति दिने मात्र होइन, वर्षौँदेखि प्रतीक्षामा रहेको पूर्वी नेपालको आर्थिक मार्गलाई गति दिने गरी आयोजना अघि बढाउनुपर्ने देखिन्छ।
तीन वर्षमा ६१ प्रतिशत काम भएको यो आयोजना अब बाँकी ३९ प्रतिशत काममा कति गति लिन सक्छ—यसैले सूर्यविनायक–धुलिखेल सडकको भविष्य मात्र होइन, यससँग जोडिएको ठूलो आर्थिक सम्भावनाको समय पनि निर्धारण गर्नेछ।















प्रतिक्रिया दिनुहोस्