एजेन्सी। सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक हेनरी बी. कागान र जापानी वैज्ञानिक केन्सो सोआईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार पुरस्कार घोषणा गरेको हो। एकेडेमीका अनुसार कागान र सोआईलाई असममित जैविक संश्लेषणमा गैररेखीय प्रभाव र स्वउत्प्रेरण (अटोक्याटालिसिस) सम्बन्धी खोजका लागि यो पुरस्कार प्रदान गरिएको हो। उनीहरूको अनुसन्धानले रासायनिक प्रतिक्रियालाई नियन्त्रण गरी एउटै ऐनाप्रतिबिम्बी अणु (मिरर इमेज) प्रमुख रूपमा उत्पादन गर्न सकिने बाटो खोल्यो।
धेरै जैविक अणु दुई प्रकारमा पाइन्छन्, जुन एकअर्काका ऐना–प्रतिबिम्ब हुन्छन्। उदाहरणका लागि, एमिनो एसिडका यस्ता दुई रूप हुन्छन्। मानिसलगायत जीवित प्राणीका कोषमा भने प्रायः तीमध्ये एउटै रूप मात्र जैविक संरचनामा प्रयोग हुन्छ। रसायनशास्त्रमा यस अवस्थालाई होमोचिरालिटी भनिन्छ। प्रकृतिमा यस्तो एकरूपता कसरी उत्पन्न भयो भन्ने प्रश्न वैज्ञानिकहरूका लागि लामो समयदेखि रहस्य रहँदै आएको थियो। प्रयोगशालामा यस्ता अणु बनाउँदा सामान्यतया दुवै ऐना–प्रतिबिम्बी रूप बराबरजसो बन्ने भएकाले वैज्ञानिकहरूले आफूलाई आवश्यक एउटै रूप मात्र उत्पादन गर्ने विधि खोजिरहेका थिए। औषधि विकासमा यसको विशेष महत्त्व छ, किनकि एउटै अणुका दुई प्रतिबिम्बमध्ये एउटा शरीरमा प्रभावकारी हुन सक्छ भने अर्कोको प्रभाव फरक हुन सक्छ।
कागानले सन् १९८६ मा रासायनिक प्रतिक्रियालाई नियन्त्रण गर्ने नयाँ तरिका पहिचान गर्दै अपेक्षाभन्दा बढी मात्रामा एउटै ऐना–प्रतिबिम्बी अणु उत्पादन गर्न सकिने देखाएका थिए। त्यसपछि सोआईले यस क्षेत्रमा थप महत्त्वपूर्ण प्रगति गरे। सन् १९९५ मा उनले होमोचिरालिटी हासिल गर्न सक्ने सम्भावना भएको पहिलो रासायनिक प्रतिक्रिया डिजाइन गरे भने सन् २००३ मा गैरचिरल मिश्रणबाट चिरल अणु उत्पादन गर्दै दुई सम्भावित ऐना–प्रतिबिम्बमध्ये एउटामात्र बन्ने प्रतिक्रिया प्रदर्शन गरे।
रोयल स्विडिस एकेडेमीका अनुसार कागान र सोआईको खोजले एक सय वर्षभन्दा पुरानो रासायनिक रहस्य—प्रकृतिमा होमोचिरालिटी कसरी उत्पन्न भयो भन्ने प्रश्न—सम्झन र समाधानतर्फ अघि बढ्न महत्वपूर्ण आधार दिएको छ। उनीहरूको कामले औषधि निर्माणका लागि आवश्यक जटिल अणुहरू डिजाइन तथा उत्पादन गर्ने रसायनशास्त्रीहरूलाई समेत महत्वपूर्ण आधार प्रदान गरेको छ।
पुरस्कारको कुल रकम १ करोड २० लाख स्विडिस क्रोनर रहेको छ, जुन दुवै वैज्ञानिकबीच बराबर बाँडिनेछ। हेनरी बी. कागानको जन्म सन् १९३० मा फ्रान्समा भएको हो भने केन्सो सोआईको जन्म सन् १९५० मा जापानमा भएको हो।















प्रतिक्रिया दिनुहोस्