काठमाडौं । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुनविद् नाभानेथम ‘नवी’ पिल्लेले पाएकी छन् ।
नर्वेजियन नोबेल समितिले आज शान्ति स्थापना, अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धन तथा युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा संलग्नलाई जवाफदेही बनाउने कार्यमा पुर्याएको योगदानको कदर गर्दै उनलाई यस वर्षको पुरस्कार दिने निर्णय गरेको हो। नोबेल समितिका अनुसार पिल्लेले असाधारण साहस, निष्ठा र दृढ नैतिक अडानका साथ विश्वव्यापी कानुनी व्यवस्थालाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन्। उनले अन्तर्राष्ट्रिय कानुनी सिद्धान्तको संरक्षण गर्दै हिंसा र द्वन्द्वबाट पीडित व्यक्तिहरूलाई न्याय दिलाउन तथा राष्ट्र र राष्ट्रिय नेताहरूलाई कानुनी रूपमा जवाफदेही बनाउन योगदान पुर्याएकी छन्।
दक्षिण अफ्रिकाको डर्बनमा रङ्गभेदी शासनका बेला भारतीय तमिल मूलको परिवारमा जन्मिएकी पिल्लेले बाल्यकालदेखि नै संरचनात्मक भेदभाव, जातीय पृथकीकरण र सामाजिक बहिष्करणको सामना गर्नुपरेको थियो। यस्ता चुनौतीका बीच कानुनको क्षेत्रमा प्रवेश गरेकी उनी मानवअधिकार संरक्षण र अन्तर्राष्ट्रिय न्याय प्रणालीको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वका रूपमा स्थापित भइन्। उनको कानुनी यात्राको सुरुवाती चरणमा नेल्सन मण्डेला र रङ्गभेदविरुद्ध संघर्ष गर्ने अन्य व्यक्तिहरूको पक्षमा वकालत गर्नु प्रमुख थियो। त्यसपछि उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अदालतहरूमा न्यायाधीशका रूपमा काम गर्दै गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा न्याय सुनिश्चित गर्ने प्रयास गरिन्।

पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि गठित अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा न्यायाधीशका रूपमा सेवा गरिसकेकी छन्। उनी संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तसमेत बनेकी थिइन्। पछिल्लो समय उनले कब्जामा रहेको प्यालेस्टिनी भूभागसम्बन्धी संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगको अध्यक्षता गरेकी थिइन्। हाल उनी म्यानमारमाथि नरसंहारको आरोप लागेको मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयमा न्यायाधीशका रूपमा कार्यरत छिन्।
नोबेल समितिका अनुसार रुवान्डासम्बन्धी ऐतिहासिक मुद्दामा पिल्लेको भूमिकाले बलात्कार तथा यौन हिंसालाई मानवताविरुद्धको अपराध र नरसंहारका रूपमा स्थापित गर्ने कानुनी प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्याएको थियो। त्यस्तै, प्रचारप्रसारमार्फत नरसंहार गर्न उक्साएको आरोपमा प्रतिवादीलाई अभियोजन गर्ने ऐतिहासिक कानुनी उपलब्धिमा पनि उनको भूमिका उल्लेखनीय रहेको थियो।समितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी शासन शान्ति स्थापना र द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि आधारभूत रहेको उल्लेख गरेको छ। कानुनी शासन कमजोर हुँदा अन्याय, हिंसा र दण्डहीनता बढ्न सक्ने भन्दै समितिले न्यायबिना स्थायी शान्ति सम्भव नहुने सन्देश दिएको छ।
पिल्लेको लामो कानुनी यात्रा, स्वतन्त्र निर्णय क्षमता, विशेषज्ञता र दृढताले उनलाई समकालीन समयका सम्मानित अन्तर्राष्ट्रिय कानुनविद्मध्ये एक बनाएको समितिको भनाइ छ। उनको न्यायप्रतिको प्रतिबद्धता र मानव मर्यादाको संरक्षणमा पुर्याएको योगदानले शान्तिपूर्ण विश्व निर्माणका लागि प्रयासरत व्यक्तिहरूलाई प्रेरणा दिने समितिले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्