काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गर्दै आएको खुलामुखी म्युचुअल फण्ड योजना ‘शुभ लक्ष्मी कोष’ को आकार तीन अर्ब रुपैयाँ पुर्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ।
कम्पनीका अनुसार कोषको अधिकृत आकार एक अर्ब रुपैयाँबाट वृद्धि गरी तीन अर्ब रुपैयाँ कायम गर्न असोज १९ गते स्वीकृति पाएको हो। यससँगै कोषले इकाईधनीका लागि सिस्टेमेटिक विथड्रअल प्लान (एसडब्लूपी) सुविधा पनि सञ्चालनमा ल्याएको छ। यस सुविधामार्फत इकाईधनीले निश्चित समयान्तरमा आफ्नो लगानीबाट आवश्यक रकम योजनाबद्ध र नियमित रूपमा झिक्न सक्नेछन्।
कम्पनीका अनुसार शुभ लक्ष्मी कोषको आकार २०८२ कात्तिक २५ गते ५० करोड रुपैयाँ रहेको थियो। त्यसपछि कोषको आकार एक अर्ब रुपैयाँ पुर्याउन धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको थियो। स्वीकृतिअनुसार थप गरिएको रकम करिब पूर्ण रूपमा संकलन गरी इकाई बाँडफाँट गर्न कम्पनी सफल भएको जनाएको छ। कोषको आकार तीन अर्ब रुपैयाँ पुगेपछि थप लगानीकर्तालाई योजनामा सहभागी गराउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
एसडब्लूपी सुविधा विशेषगरी आफ्नो लगानीबाट नियमित आम्दानी प्राप्त गर्न चाहने तथा लगानीलाई व्यवस्थित रूपमा उपयोग गर्न इच्छुक लगानीकर्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ। नियमित रूपमा लगानी गर्न सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) तथा आवश्यकताअनुसार योजनाबद्ध रूपमा रकम झिक्न एसडब्लूपी सुविधा उपलब्ध भएपछि शुभ लक्ष्मी कोष लगानीकर्ताका लागि थप आकर्षक विकल्प बन्ने कम्पनीको अपेक्षा छ।















प्रतिक्रिया दिनुहोस्