काठमाडौ: सन् २०२७ को आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौमा सञ्चालन हुनेछ।
प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिग ‘ए’ तथा ‘बी’ बाट शीर्ष दुई-दुई टोली गरी कुल आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा हुने विश्वकप छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नेछन्।
प्लेअफमा सहभागी हुने टोलीमध्ये नेपाल, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) लिग–२ बाट छनोट हुने निश्चित भइसकेको छ। त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले पनि आफ्नो स्थान पक्का गरिसकेका छन्।
च्यालेन्ज लिग ‘ए’ बाट जर्सीको सहभागिता सुनिश्चित भएको छ भने कुवेत पनि छनोट हुने बलियो सम्भावनामा छ। यद्यपि, बाँकी खेल सम्पन्न भएपछि मात्र कुवेतको स्थान औपचारिक रूपमा निश्चित हुनेछ। लिग–२ बाट ओमान र नामिबियामध्ये एक टोलीले प्लेअफमा स्थान बनाउनेछ।
यसैबीच, विश्वकप छनोट प्लेअफ नेपालमै आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच पूर्वनिर्धारित क्रिकेट शृङ्खलाको तालिका प्रभावित हुने भएको छ।
यसअघि डिसेम्बर ९, ११ र १३ मा सञ्चालन गर्ने तय भएको उक्त शृङ्खलाका खेलहरू नयाँ मितिमा सारिनेछन्। क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सँगको छलफल र आपसी सहमतिपछि शृङ्खलाको संशोधित तालिका सार्वजनिक गरिनेछ।













प्रतिक्रिया दिनुहोस्