चितवन। बाढीपहिरोको जोखिम र मुख्य राजमार्गमा पुनः अवरोध हुन सक्ने आशङ्काका कारण यस वर्षको दसैँमा चितवनको सौराहामा आन्तरिक पर्यटकको चहलपहल अपेक्षाकृत कम देखिएको छ।
भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीपछि सडक अवरोध हटे पनि यात्रामा हुन सक्ने कठिनाइको डरले पर्यटकको आगमन प्रभावित भएको पर्यटन व्यवसायीले बताएका छन्।
गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटकको आगमन घटेको थियो। अघिल्ला वर्षमा भने दसैँ बिदाको समयमा सौराहालगायत प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने गरेको थियो। तर, यस वर्ष दसैँको समयमा सौराहाका होटलमा आन्तरिक पर्यटकको बुकिङ उत्साहजनक देखिएको छैन।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले आफ्नो सौराहास्थित होटल ल्याण्डमार्कमा ७५ कोठामध्ये बिहीबार सातवटा मात्रै बुकिङ भएको बताए। उनका अनुसार सौराहा मात्रै नभई पोखरामा समेत विगतका वर्षको तुलनामा आन्तरिक पर्यटकको आगमन कम छ।
पाण्डेले वर्षाका कारण सडक पुनः अवरुद्ध हुन सक्ने त्रासले आन्तरिक पर्यटकको यात्रा योजना प्रभावित भएको बताए। भोटेकोशी र बूढीगण्डकीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले पनि यस वर्ष नेपालीले विगतमा जस्तो उत्साहका साथ दसैँ मनाउन नसकेको उनको भनाइ छ।
उनले पर्यटकको आगमन क्रमशः बढ्दै जाने र आगामी वैशाखसम्म पर्यटन गतिविधि चलायमान हुने अपेक्षा व्यक्त गरे। उनका अनुसार पर्यटन क्षेत्रमा पर्यटकको आगमन क्रमशः बढ्ने, उच्च बिन्दुमा पुग्ने र त्यसपछि घट्ने प्रवृत्ति देखिन्छ।
होटल भिस्टाका सञ्चालक रमेश सिलवालले दसैँसँगै आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको भए पनि त्यसअनुसार पर्यटक नआएको बताए। उनका अनुसार दसैँको समयमा केही विदेशी पर्यटक आएका छन् भने भारतीयसहित अन्य देशका पर्यटकले पनि सोधपुछ र बुकिङ गर्न थालेका छन्। उनले आगामी दिनमा विदेशी पर्यटकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे।
भोटेकोशी बाढीका बेला धेरै पर्यटकले होटल बुकिङ रद्द गर्दा व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको थियो। वर्षायाममा आएको बाढी र सडक अवरोधका कारण पर्यटन व्यवसाय प्रभावित भएको थियो।
सौराहास्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेले भने दसैँको समयमा आफ्नो होटल विदेशी पर्यटकले भरिएको बताए। उनले पछिल्ला तीन दिन होटल विदेशी पर्यटकले भरिएको जानकारी दिए। जर्मनी, डेनमार्क, बेल्जियम, अस्ट्रेलिया र अमेरिकाबाट पर्यटक आएको उनले बताए।
न्यौपानेले स्वदेशी पर्यटकको बुकिङ कमजोर रहे पनि आगामी दिनमा आगमन बढ्नेमा आफू आशावादी रहेको बताए। भोटेकोशी बाढीपछि रोकिएका पर्यटकसमेत नेपाल आउन थालेको उल्लेख गर्दै उनले नेपाल आएका विदेशी पर्यटक विगतमा जस्तै सौराहा घुम्न आउन थालेको बताए।
चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारका रूपमा रहेको सौराहा वन्यजन्तु अवलोकनका लागि प्रख्यात पर्यटकीय गन्तव्य हो। निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घुम्न आउने अधिकांश पर्यटक सौराहामा बस्ने गर्छन्। यसबाहेक भरतपुरका पटिहानी, जगतपुर र मेघौली क्षेत्रमा पनि पर्यटक बस्ने गरेका छन्।
यी क्षेत्रबाट पर्यटकले हात्ती, जिप, डुङ्गा तथा पैदल यात्रामार्फत निकुञ्ज र मध्यवर्ती सामुदायिक वनको भ्रमण गर्ने गर्छन्। एकसिङ्गे गैँडा, पाटेबाघलगायत दुर्लभ वन्यजन्तुको अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक चितवन आउने गरेका छन्।
चितवन देशकै प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक हो। विशेषगरी सफारी पर्यटनका लागि परिचित चितवनमा वन्यजन्तु अवलोकनसँगै थारू समुदायको संस्कृति, परम्परा र जीवनशैलीको अनुभव लिन पनि पर्यटक आउने गर्छन्। आन्तरिक पर्यटकको आगमन कमजोर देखिए पनि विदेशी पर्यटक आउन थालेकाले आगामी दिनमा पर्यटन व्यवसायमा सुधार आउने अपेक्षा व्यवसायीले गरेका छन्।















प्रतिक्रिया दिनुहोस्