काठमाडौ: राष्ट्रिय साइबर सुरक्षा केन्द्र (एससीएससी) ले वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने पीएचपी (PHP) सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी देखिएको भन्दै सम्बन्धित निकायहरूलाई सतर्क रहन आग्रह गरेको छ।
केन्द्रले सम्भावित साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न वेबसाइट सञ्चालक तथा सरकारी र गैरसरकारी संस्थाहरूका लागि अत्यावश्यक साइबर सुरक्षा एड्भाइजरी जारी गरेको हो।
केन्द्रका अनुसार पीएचपीमा देखिएका दुई गम्भीर प्राविधिक कमजोरीले अपाचे, पीएचपी–एफपीएम र लाइटस्पिडजस्ता वेब सर्भर प्रणालीका साथै वर्डप्रेस, जुम्ला, ड्रुपल र म्याजेन्टोजस्ता कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सीएमएस) प्रयोग गर्ने वेबसाइटहरूमा सुरक्षा जोखिम निम्त्याउन सक्छन्।
यस्ता कमजोरीको फाइदा उठाउँदै साइबर आक्रमणकारीले अनलाइन प्रणालीमा अनधिकृत पहुँच प्राप्त गर्न वा महत्त्वपूर्ण डिजिटल पूर्वाधारमा क्षति पुर्याउन सक्ने खतरा रहेको केन्द्रले औँल्याएको छ।
सम्भावित जोखिमबाट जोगिन केन्द्रले प्रयोगमा रहेका पीएचपी प्रणालीलाई तत्काल सुरक्षित संस्करणहरू ८.२.३५+, ८.३.३६+, ८.४.२७+ वा ८.५.१२+ मा अद्यावधिक गर्न सुझाव दिएको छ।
त्यस्तै, पीएचपी ८.१ वा त्यसभन्दा पुराना संस्करणमा सुरक्षा सुधार उपलब्ध नहुने भएकाले ती संस्करण प्रयोग गरिरहेका वेबसाइट तथा अनलाइन प्रणालीलाई नयाँ सुरक्षित संस्करणमा स्थानान्तरण गर्नुपर्ने जनाएको छ।
प्रणाली अद्यावधिक गरिसकेपछि सुधार गरिएका फाइलहरू प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन अपाचे तथा पीएचपी–एफपीएमलगायत सम्बन्धित वेब सेवाहरू पुनःसञ्चालन गर्न पनि केन्द्रले निर्देशन दिएको छ।
तत्काल सफ्टवेयर अद्यावधिक गर्न नसकिने अवस्थामा जोखिमयुक्त प्रणालीलाई सार्वजनिक इन्टरनेटबाट अलग गरी सुरक्षित आन्तरिक नेटवर्कमा सीमित राख्न वा आवश्यक परे अस्थायी रूपमा सेवा बन्द गर्न सुझाव दिइएको छ।
केन्द्रले साइबर सुरक्षासम्बन्धी कमजोरीलाई गम्भीरतापूर्वक लिई समयमै आवश्यक प्राविधिक सुधार तथा सुरक्षात्मक उपाय अपनाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।
















प्रतिक्रिया दिनुहोस्