Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

वनगाउँले जुटे तरकारी खेतीमा, छैन उत्पादनको मूल्य

वनगाउँले जुटे तरकारी खेतीमा, छैन उत्पादनको मूल्य
विज्ञापन
Advertisement

काठमाडौं । कैलालीको टीकापुर–८ वनगाउँको पूरै गाउँ तरकारीखेतीमा लागेको छ । सुरुका दिनमा आफ्नै उपभोगका लागि तरकारी उत्पादन सुरु गरेको भए पनि पछिल्लो समय उनीहरु व्यावसायिक भएका छन् । तरकारीले बजार पाउन थालेपछि उनीहरु व्यावसायिक खेतीमा लागेको बताउँछन् ।

विज्ञापन
Advertisement
Advertisement

“हाम्रो पूरै गाउँ तरकारीखेतीमा लागेको छ”, स्थानीयवासी तीर्थ चौधरीले भने, “थोरै धेरैको कुरा हो तर सबैजसो तरकारी खेतीमा लागेका छन् ।”

उनका अनुसार गाउँमा करिब सय घरधुरी छन् । ती सबैले मौसमी र बेमौसमी खेती गर्न लागेका हुन् । यतिखेर त्यस गाउँमा खुर्सानी, टमाटर र गोभी उत्पादन भएको देख्न पाइन्छ । टमाटर र गोभीले खासै मूल्य नपाएको किसानको गुनासो छ । टमाटर प्रतिकिलो १०, काउली २० मा प्रतिकिलो र खुर्सानी ७० रुपैयाँ थोक मूल्यमा लिने गरेको उनीहरुको भनाइ छ । खुर्सानीले सुरुमा मूल्य नपाए पनि अहिले राम्रो मूल्य पाएको किसान तीर्थले बताए । “तरकारीमा राम्रो आम्दानी लिनका लागि अरुको उत्पादनभन्दा पहिला उत्पादन हुनुपर्छ”, चौधरीले भने, “काउली र टमाटर सबैसँग भएकाले मूल्य खासै छैन तर सुरुमा उत्पादन गर्नेले धेरै मूल्य पाएका थिए ।”

उनले टमाटर र काउली ढिला भयो भन्दै खुर्सानीबाट आम्दानी लिने बताए । मौसमी तरकारीखेती गर्दै आएका किसानले मौसमीभन्दा बेमौसमी तरकारीले मूल्य पाउने कुरा बुझेपछि बैमौसमी तरकारी उत्पादन गर्न आकर्षित भएका छन् । समयभन्दा छिटो उत्पादन गर्दा राम्रो मूल्य पाइन्छ र सबैको उत्पादन भएपछि बजार मूल्य पाइँदैन भन्ने कुरा सबैले बुझ्दै गएको स्थानीय मानबहादुर चौधरीले बताए । किसानले पाँच कट्ठादेखि एक बिघासम्म तरकारीखेती गर्दै आएका छन् ।

राजापुर र टीकापुर बजारमा तरकारी खपत हुन् थालेपछि त्यस गाउँका किसान तरकारीखेतीमा हौसिएको मानबहादुरले बताए । “हाम्रो उत्पादन भएको तरकारी बर्दियाको राजापुर र टीकापुरका थोक व्यापारीले खरिद गर्ने गरेका छन्”, चौधरीले भने, “गाउँमै आएर तरकारी किन्ने गरेका छन्, कतिपयले आफैँ हाटबजारमा लगेर बिक्री गर्ने गरेका छन् ।”

कात्तिकमा लगाएको तरकारी पुस महिनाबाट बिक्री गर्न तयार भएको चौधरीले बताए । “कात्तिकमा लगायौँ, ढिलो भएकाले उत्पादन पनि ढिलो हुँदा खासै मूल्य पाइएन”, चौधरीले भने, “गाउँ पूरै तरकारीखेतीमा लागेकाले तरकारीका थोक व्यापारीलाई पनि सहज भएको छ ।”

तरकारीका थोक व्यापारी वनगाउँमा तरकारी पाइन्छ भनेर ढुक्क भएर आउने गरेको स्थानीयको भनाइ छ । किसानले आफ्नो बिक्री भएपछि अर्को छिमेकीको बिक्रीमा सघाउने गरेका छन् । उत्पादन भएको तरकारी लगभग बिक्री भएको अवस्था छ । यसरी तरकारीको आम्दानीले सामान्य खर्च धान्न सजिलो हुने गरेको भौना चोधरीले बताइन् ।

चौधरी गाविसका पूर्वउपाध्यक्ष समेत हुन् । उसो त उनीहरु धान र गहुँ खेती पनि गर्छन् । बाढी ग्रस्त क्षेत्र भएपनि त्यो गाउँ तरकारीमा आत्मनिर्भर भनेर चिनिन थालेको छ । “गाउँ पूरै तरकारीमा लागेको हुँदा युवा र महिला पनि आफ्नो पकेट खर्च निकाल्न तरकारीखेतीमा लागेको पाइन्छ”, भौनाले भनिन्, “आधुनिक बीउ पाइने र टनेलमार्फत खेती गर्दा बेमौसमी खेतीगर्न सजिलो भएको छ ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit