काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण आवश्यक भएको उल्लेख गर्दै नीतिगत सुधारका लागि महासंघको पैरवी निरन्तर जारी रहने बताएका छन् ।
महासंघअन्तर्गतका विभिन्न वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा बधाई दिन सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको र ती सम्भावनालाई अवसरमा बदल्न अनुकूल वातावरण आवश्यक रहेको धारणा राखे । उनले हरेक विषयलाई नकारात्मक दृष्टिकोणले नहेरी सकारात्मक सोच राख्नुपर्ने भन्दै, स्वदेशमै रोजगारी सिर्जना गर्ने सम्भावना रहेको बताए ।
ढकालले सानो–सानो लगानीबाट पनि स्वदेशमै पूँजी निर्माण गर्न सकिने र सोही पूँजी परिचालन गरेर पूर्वाधार विकास गर्न सकिने जानकारी गराउँदै महासंघको नेतृत्वमा १० अर्ब पूँजीको लिमिटेड कम्पनी स्थापना गरी काम भइरहेको जानकारी दिए ।
महासंघको पछिल्लो विधान संशोधनले वस्तुगत संघहरूबाट महासंघमा प्रतिनिधित्व गर्न थप अवसर सिर्जना गरेको उल्लेख गर्दै महासंघका वस्तुगत परिषद् उपाध्यक्ष हेमराज ढकालले वस्तुगत संघहरूका क्षेत्रगत समस्याहरू समाधान गर्न महासंघले निरन्तर पहल गरिरहेको बताए ।
महासंघका उद्योग उपाध्यक्ष सुरकृष्ण वैद्यले अर्थतन्त्र चलायमान बनाउन र देशमा रोजगारी वातावरण सिर्जना गर्न महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको बताए । एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले देशको आर्थिक विकासका लागि अर्थतन्त्र चलायमान बनाउन आवश्यक रहेको उल्लेख गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनका लागि वस्तुगत संघहरू थप सक्रिय रहनुपर्ने धारणा राखे । सोही अवसरमा महासंघले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा तयार गरेका वस्तुगत संघहरूको कार्य सञ्चालन विधि तथा कार्यस्थलमा आधारित तालिम सञ्चालन निर्देशिकाको विमोचन गरिएको थियो ।
कार्यक्रममा विभिन्न वस्तुगत संघका सभापतिहरूले आ–आफ्ना संघका समस्या राख्दै ती समस्याहरू समाधानका लागि महासंघले आवश्यक पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्