काठमाडौं । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ ।
पछिल्लो आठ महिनामा रू एक खर्ब ५८ अर्बको निर्यात गर्दा नेपालले रू ४७ अर्ब ९४ करोड ६६ लाख बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात गरेको छ । त्यस्तै, सात अर्ब ९८ करोड २३ लाख रूपैयाँ बराबरको सूर्यमुखी तेल,पाँच अर्ब ८३ करोड ७३ लाख रूपैयाँको अलैंची, चार अर्ब ३२ करोड ३९ लाख रूपैयाँको कार्पेट निर्यात भएको छ ।
विभागका अनुसार चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल रू १३ खर्ब तीन अर्ब ७३ करोड ८६ लाख बराबरको वैदेशिक व्यापार गर्दा रू नौ खर्ब ८७ अर्ब ३९ करोड ३८ लाखको घाटा बेहोरेको छ । पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रूपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रूपैयाँ बराबरको निर्यात भएको छ ।
छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा रू पाँच खर्ब ६३ अर्ब ६७ करोडको व्यापार घाटा बेहोरेको छ । गत साउनदेखि फागुनसम्म भारतबाट छ खर्ब ८८ अर्ब ६८ करोड रूपैयाँको आयात हुँदा रू एक खर्ब २५ अर्ब बराबरको निर्यात भएको छ ।
चीनसँग दुई खर्ब १९ अर्ब १८ करोडरू पैयाँको आयात र दुई अर्ब १२ करोड रूपैयाँको निर्यात हुँदा २१ अर्ब ७० करोड रूपैयाँको व्यापार घाटा बेहोरेको छ । साथै अर्जेन्टिना, युक्रेन, युनाईटेड अरब ईमिरेट्स, अस्ट्रेलियाल गायतका मुलुकहरुसँग नेपालको व्यापारघाटा उच्च छ । उक्त अवधिमा ३४ वटामुलुकसँगको व्यापारमा नेपाल नाफामा छ । अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ ।
सो अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला आठ महिनामा नेपालले ७८ अर्ब ८६ करोड ३७ लाख रूपैयाँको डिजेल, ४२ अर्ब ८० करोड १७ लाख रूपैयाँको पेट्रोल र ४१ अर्ब बराबरको एलपी ग्यास आयात गरेका छ । त्यस्तै, नौ अर्ब ६९ करोड २२ लाख रूपैयाँ बराबरको विद्युतीय सवारीसाधन र दुई अर्ब ११ करोड रूपैयाँ बराबरको अन्य सवारीसाधन आयात भएको छ । यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख रूपैयाँ बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्याङ्क छ ।

















प्रतिक्रिया दिनुहोस्