Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आवासीय चिकित्सकले ओपिडी सेवा बहिष्कार गर्दा बिरामी मर्कामा

आवासीय चिकित्सकले ओपिडी सेवा बहिष्कार गर्दा बिरामी मर्कामा
विज्ञापन
Advertisement

काठमाडौं । आवासीय चिकित्सकहरुले अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा अस्पताल आएका बिरामी मर्कामा परेका छन् । सरकारीसरह निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै २३ दिनदेखि आन्दोलनरत निजी मेडिकल कलेजका चिकित्सकका कारण बिरामी मारमा परेका हुन् । उनीहरुको आन्दोलनमा सरकारी चिकित्सकहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाहरु प्रभावित बन्न पुगेका हुन् । काठमाडौंको वीर अस्पतालमा मात्रै दैनिक दुई हजारभन्दा बढीले ओपिडी सेवा लिने गरेका छन् । ओपिडी सेवा ठप्प हुँदा उपचारमा आंशिक प्रभाव परेको वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले बताए ।
उनले भने, “आवासीय चिकित्सकहरु आन्दोलनमा जानुभएको छ । त्यसैले ओपिडी सेवामा आंशिक प्रभाव परेको छ । जति चिकित्सक हुनुहुन्छ उहाँहरुले हेरिराख्नुभएको छ । आकस्मिक तथा सघन उपचार कक्षमा भने सेवा निरन्तर छ त्यसमा प्रभाव परेको छैन ।”

आवासीय चिकित्सकहरुले सेवा बहिष्कार गर्दा राष्ट्रिय ट्रमा सेन्टरमा पनि ओपिडी सेवा पूर्ण रुपमा ठप्प छ । आकस्मिकबाहेक अरु सेवा दिन नसकिएको सेन्टरका निर्देशक डा बद्री रिजालले जानकारी दिए । “दैनिक ४०० देखि ५०० सम्म बिरामी आउँछन् । ओपिडी बन्द हुँदा समस्या परेको छ ।”

त्यसैगरी कान्ति बाल अस्पतालमा पनि चिकित्सकहरुले आन्दोलनमा साथ दिँदै ओपिडी सेवा बहिष्कार गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पतालमा पनि सेवा प्रभावित भएको छ ।

नेपाल चिकित्सक सङ्घले विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्न सबै निजी तथा सरकारी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरुका निर्देशक, चिकित्सकहरुलाई आह्वान गरेको थियो । जसका कारण सरकारी अस्पतालमा आज ओपिडी सेवा प्रभावित बन्न पुगेको हो ।

चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णयअनुसार आवासीय चिकित्सकहरुले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको भन्दै निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ । उपत्यकाभित्रका चिकित्सकहरु दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । चिकित्सक सङ्घको आह्वानले देशभरका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले आजदेखि आन्दोलनमा साथ दिएका छन् ।

उपचार सेवा नपाउँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति चिकित्सक सङ्घले क्षमा माग्दै सोको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’का संयोजक शेषराज घिमिरेले आज उपत्यकामा करिब हजारको सङ्ख्यामा चिकित्सहरु आन्दोनलमा सहभागी भएको बताए । उनले भने, “हाम्रो आन्दोलनमा सरकारी चिकित्सकहरुले पनि ऐक्यबद्धता जनाउन आउनुभएको छ । ओपिडी बहिष्कार गरेर साथ दिन आउनुभएको छ । निर्णय कार्यान्वयन नहुँदासम्म आन्दोलन जारी रहन्छ ।”

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरुबीच वार्ता गर्दै निर्णय कार्यान्वयन नभएसम्म निजी मेडिकल कलेजलाई मन्त्रालयले कुनै सहयोग नगर्ने बताइसकेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit