काठमाडौं । स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिन अब भौतिक परिचयपत्र नै बोकेर अस्पताल पुग्नुपर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमा परिचयपत्रको स्पष्ट विवरण देखिने फोटोकपीका आधारमा समेत उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।
बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै परिचयपत्रको सक्कल प्रति साथमा नभएकै कारण बीमितलाई उपचार सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो । नयाँ व्यवस्थाअनुसार स्वास्थ्य बीमामा आबद्ध व्यक्तिले अस्पतालमा सेवा लिन जाँदा भौतिक परिचयपत्र, डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीमध्ये कुनै एक प्रस्तुत गरे पुग्नेछ ।
तर, कार्ड वा फोटोकपी देखाएकै आधारमा सेवा उपलब्ध हुने भने होइन । स्वास्थ्य संस्थाले त्यसमा उल्लेखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमामा आबद्ध भएरनभएको यकिन गर्नुपर्नेछ। बीमित भएको पुष्टि भएपछि मात्रै स्वास्थ्य बीमाअन्तर्गतको सेवा उपलब्ध गराउनुपर्ने बोर्डको निर्देशन छ । बोर्डका प्रवक्ता एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साहले जारी गरेको परिपत्रमा भौतिक परिचयपत्र नभएको कारणले मात्र कुनै पनि बीमितलाई स्वास्थ्य सेवाबाट वञ्चित नगर्न स्पष्ट पारिएको छ ।
यस व्यवस्थाले स्वास्थ्य बीमा परिचयपत्र हराएका, घरमै छुटेका वा अन्य कारणले भौतिक कार्ड साथमा नभएका सेवाग्राहीलाई उपचार लिन सहज बनाउने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्