काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ भने आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी गरेको छ।
स्वास्थ्य बीमा कार्यक्रमको विद्यमान व्यवस्थामा देखिएका समस्या समाधान गर्दै यसको दायरा विस्तार र सेवा प्रवाह सुधार गर्ने लक्ष्यसहित मन्त्रालयले कानुनी तथा नीतिगत सुधारलाई तीव्रता दिएको हो। यसैक्रममा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग थप छलफल भएको छ। यसअघि पनि मन्त्री मेहताको नेतृत्वमा सरोकारवाला निकायहरूसँग चरणबद्ध छलफल हुँदै आएको थियो।
मन्त्रालयका अनुसार प्रस्तावित संशोधनमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान संकलन र उपचार सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ। सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई समेत स्वास्थ्य बीमाको दायरामा समेट्ने प्रस्ताव गरिएको छ। आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी भने राज्यले लिने व्यवस्था प्रस्तावमा समेटिएको छ।
त्यस्तै, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने योजना पनि अघि सारिएको छ। यसबाट एउटै प्रकृतिका स्वास्थ्य सुविधा व्यवस्थापनमा दोहोरोपन हटाउने र सेवा प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको छ। प्रस्तावित सुधारमा स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने, बीमितलाई उपचार सेवा लिन सहज बनाउने तथा अनावश्यक स्वास्थ्य परीक्षण र अनुचित दाबी नियन्त्रण गर्ने विषयसमेत समेटिएका छन्।
आर्थिक अभावकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न ऐन संशोधन आवश्यक रहेको मन्त्री मेहताको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्