images images images
images images images
images
images
images

‘बालश्रम अन्त्य गरिदिन माग गर्दै प्रधानमन्त्रीलाई १९ बालश्रमिकको पत्र : भने –‘गरिबका धेरै सपना कहाँ हुन्छ ?’

images

काठमाडौं । अन्तर्राष्ट्रिय बालश्रमविरुद्धको दिवसको अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ जना बालश्रमिकले आफ्ना परिचयसहित पत्र लेखेका छन् । विभिन्न क्षेत्रमा बालश्रमिकका रूपमा बालापन व्यतित गर्दै आएका बालबालिका ‘समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका (सिविस)’ले गरेको अन्तरक्रिया लगत्तै बालश्रम अन्त्य गर्न आह्वान गर्दै उनीहरुले प्रधानमन्त्रीलाई लेखेको पत्रको एकै प्रकारको सम्बोधनमा आफ्ना फरक जिन्दगीको पीडादायी यथार्थलाई उजागर गरेका छन् ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा मकवानपुरबाट बाबुको हत्या आरोपमा आमा पक्राउ परेपछि बिचल्लीमा परेका सातजना दिदीभाइमध्यकी साहिली छोरी पुष्पालाई आफ्नै ठूलो बुबाले काठमाडौंको एउटा घरमा घरेलु कामदारको रूपमा छाडेर गएपछिको पीडालाई उनले पत्रमार्फत प्रधानमन्त्री समक्ष पोखेकी छिन् ।

images
images

बिहान ४ बजेदेखि घरको काम, त्यसपछि घरमालिकको होटलको काम र राति ११ बजेसम्मको कामले थकित बालिकाको अबस्था, मालिकको छोराबाट हुने हिंसा, आफ्ना आमा र दिदीभाइलाई अहिलेसम्म भेट्न नपाएको पीडा र उद्धारपछि अहिले बसेको आश्रयस्थलसम्मको पीडालाई मकवानपुरकी बालिकाले पत्रमार्फत प्रधानमन्त्रीसमक्ष व्यक्त गरेकी छिन् ।

उनले पत्रको सुरुआत गर्दै भनेकी छिन्

भक्तपुर, २९ जेठः
सम्माननीय प्रधानमन्त्रीज्यू
बालुवाटार, काठमाडौं

‘सम्माननीय प्रधानमन्त्रीज्यू सर्वप्रथम म जस्तो सबैको हेँलामा बाँचिरहेकी एक बालिकाको नमस्कार । मेरो नाम पुष्पा श्रेष्ठ हो । मेरो घर मकवानपुरको विकट गाउँमा पर्दछ । मेरो आमाको सात जना छोराछोरी मध्ये म साहिँली छोरी हुँ । म अहिले १४ वर्षकी भएँ । हाल म काठमाडौंको एक संस्थामा आश्रय लिएर भविश्य खोजिरहेकी छु ।’

उनले पत्रको अन्त्यमा लेखेकी छिन्

‘प्रधानमन्त्रीज्यू तपाई त बालबालिकालाई साह्रै माया गर्ने मान्छे भन्ने सुनेको छु । हामीजस्ता बालबालिकाको लालनपालन, शिक्षादीक्षा, स्वास्थ्यको सुबिधा तपाईंकै पालामा राज्यले गरोस् है? म निकै आशावादी छु । देशमा बालबालिकाका लागि जति पनि नीति नियम बनेका छन्, यो यथार्थमै लागू होस् है ? वर्षमा एक पटक दिवस मात्र मनाएर बालश्रमको अन्त्य हुँदैन नि । त्यसको लागि गाउँगाउँमा गएर, घरघर गएर बालबालिकाको अबस्था बुझ्नुपर्छ । बालबालिकाको पक्षमा बनेका कानुन लागू हुनुपर्छ। जो हाम्रो रक्षक हो, उही भक्षक भइरहेको छ, यस्ता व्यक्तिलाई कडा कानुन ल्याउनुपर्छ । यति चाँही तपाईंकै कार्यकालमा हुनेछ भन्ने ठूलो आशा र भरोसा लिएको छु, हवस्, मेरो पत्र पढिदिनु भएकामा धेरैधेरै आभारी छु ।’

बालश्रममा जकडिएर धेरै सकस भागेकी उदयपुरबाट भक्तपुरको इँटाभट्टामा काम गर्दै सूर्यविनायक नगरपालिका–८ जगातिमा बस्दै नजिकैको गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्राले लेखेको पत्रमा पनि उस्तै पीडा छताछुल्ल भएका छन् । गरिबीले सिंगो परिवारलाई इँट्टाभट्टासम्म श्रमका लागि ल्याएपछि इँट्टाभट्टामा काम गर्दा झ्याउलीमा भोग्नु परेका दिनलाई पत्रमार्फत उनले पोखेकी छिन् ।

ति बालिकाले पत्रमा बाँच्नलाई गर्दै आएको संघर्ष व्यक्त गर्दै गरिबका सपना कहाँ हुन्छ र ? भन्दै व्याङ्ग्यसहितको प्रश्न गरेकी छिन्, ‘प्रधानमन्त्रीज्यू, आफ्नो गाउँ र यो शहरमा मजदूरी गर्न आउनलाई कसलाई रहर थियो र? बाँच्नु त प¥यो नी । गरीबका लागि बाँच्नु नै कठिन सङ्घर्ष रहेछ । एउटा भोका पेट भर्नकै लागि आङ्ग ढाक्ने एकसरो कपडाकै लागि हामी गरिबले छ महिना इँट्टाभट्टाको हिलो, धूलो र धुवा झेल्नुपर्छ । गरिबका धेरै सपना कहाँ हुन्छ र ? आफ्नो परिवारका लागि भरपेट खान र एकसरो लाउन पाए त पुगिहाल्यो नि हैन र?’

उनको पत्रमा बालश्रमिका अवधिमा उनले भोगेको अनगिन्ती घाउहरुलाई व्यक्त गरेकी छिन् । अन्तमा उनले लेखेकी छिन् , ‘प्रधानमन्त्रीज्यू हामीजस्ता श्रममा परेका बालबालिकालाई विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरिदिनु प¥यो । बालश्रमविरुद्ध ऐन नियम कानुन बनाएर र बनेका कानुनलाई वास्तविक रूपमा कार्यान्वयनमा ल्याउनु प¥यो । १६ वर्ष उमेर माथिका बालबालिकालाई स्वरोजगारमूलक हातमा सीप दिनु प¥यो । श्रमलाई रोक्न नारा होइन, समस्या समाधानको जगमा उभिनु ¥यो । श्रमिकका परिवारलाई रोजगारको दिनु प¥यो, यति भए पुग्छ । आशा गरेको छु यो पत्र पढेर हजुरले सबै बालबालिकको माग सम्बोधन गरिदिनु हुनेछ ।’

प्रधानमन्त्रीलाई पत्र भन्दै १९ बालबालिकाले लेखेका पत्रमा फरक श्रमका फरक भोगाइलाई पत्रमार्फत उल्लेख गरेका छन् । सिन्धुपाल्चोक मेलम्ची घर भई एउटा संस्थामा आश्रय लिइरहेकी १५ वर्षीया ….दाहालको पीडा झन् भयानक छ । सिन्धुपाल्चोक मेलम्चीकी दाहाल परिवारको आर्थिक अवस्था कमजोर भएको कारण मानव वेचविखनको जोखिममा पुग्दा उनीलगायत मनोरञ्जनका ती क्षेत्रमा पुगेका बालिकामा माथि हुने यौन हिंसाको पीडालाई उनले प्रधानमन्त्री समक्ष राखेकि छिन् ।

उनले पत्रमा लेखेकी छिन्, ‘हामीले जबरजस्ती अरु नचिनेको अपरिचित व्यक्तिसँग यौन सम्पर्क राख्नुपथ्र्यो । हामी बिरामी हुँदा, नसक्ने अवस्थामा हँदा, महिनावारी हुँदासमेत हामीलाई अरु व्यक्तिसँग यौन सम्पर्कमा राखिन्थ्यो । हामी साह्रै कमजोर हुन्थ्यौँ । हामीलाई राम्रो खाना थिएन । भातभन्दा धेरै जाँड रक्सी खुवाइन्थ्यो । म काम गर्न सक्दिन भन्दा पिटाइ खानुपथ्र्यो । बिरामी हुँदा आराम गर्न दिँदैन थिए । ज्वरो आयोभन्दा नाटक ग¥यो भन्थे । म अब यहाँ काम गर्दिन भन्दा त्यहाँको साहु साहुनीले ५०÷६० हजार तिरेर यहाँबाट जा भनेर नराम्रो शब्द बोलेर हामीलाई गाली गर्ने गर्थे । दिनमा ५० भन्दा बढी व्यक्तिसँग यौन सम्पर्कमा राख्दाको भोगाइले कति पीडा भयो होला? सम्झदा पनि कहाली लाग्छ ।’

त्यही यौन सम्पर्कको कारणले गर्दा आज यस्तो सानो उमेरमै आफ्नो ज्यानले थाम्न नसक्ने औषधि र रोगको समाना गर्नुपरिरहेको पत्रमा लेख्दै ति बालिकाले प्रधानमन्त्रीसँग आर्थिक अवस्था कमजोर भएका नानीबाबुलाई निःशुल्क संस्थामा संरक्षण गरेर राख्ने व्यवस्था गरिदिन अनुरोध गरेकी छिन् । यस्तै उनले निशुल्क शिक्षा, स्वास्थ्य उपचार गरिदिने, यौन दुव्र्यसन हुने ठाउँतिर प्रहरीले छापा मापरेर कारबाही गर्न अशिक्षित व्यक्तिलाई पनि शिक्षाको बाटो र रोजगारी एवं सीप पुगे बाँच्ने आधार खडा हुने र बालश्रममा जानु नपर्ने वातावरण बनाउन आग्रह गर्दै उनिहरु माथि कारबाही गर्न माग गरेकी छिन् ।

उनले पत्रमा लेखेकी छिन्, ‘प्रधानमन्त्रीज्यू मैलै जस्तै पीडा अरु कसैले भोग्नु नपरोस्, मैले कार्य गरेको क्षेत्रमा अरु आबद्ध नानीहरुको मागसहित मेरो माग हो यो । त्यस्ता ठाउँमा स्थानीय तह र प्रहरीले कडा निगरानी र कारबाही गरोस्, हिंसा हुने यस्ता ठाउँहरु बन्द गरियोस्, मजस्ता नानीहरुलाई सुरक्षित ठाउँमा संरक्षण गरेर सीप र शिक्षा दिनुहोस् ।’

यी पत्र त नमूना मात्रै हुन् । प्रधानमन्त्रीलाई न्यायको माग गर्दै काभ्रेलाञ्चोकको महाभारत घर भई हाल राजधानीको एक संस्थामा आश्रय लिइरहेकी १७ वर्षकी …… तामाङ्गले आफूमाथि श्रम शोषण गर्ने र हिंसा गर्नेलाई कारबाही गरि न्याय दिन माग गरेकी छिन् । गरिब परिवार, एक छाक खान धौधौ, पढ्ने खर्च जुटाउन नसक्ने अबस्थामा आफ्नै दाजुले वैदेशिक रोजगारीका लागि विदेसिनुअघि आफैँले काम गर्दै आएको घरमा पढ्न, आयआर्जन गर्न भन्दै राखिदिएका थिए । घरेलु श्रमीक बन्दाको पीडा र शोषणलाई उनले पत्रमार्फत प्रधानमन्त्रीलाई जानकारी गराएकी छिन् ।

घरमा पढ्न त परै जाओस् आधा पेट खाएर बिहान ४ बजेदेखि मध्यराति १२ बजेसम्म घरको काम गर्नुपरेको शोषणलाई उनले पत्रमा बताएकी छिन् । यो बालश्रममा परिरहँदा श्रम मात्र नभई उनिमाथि हिंसा पनि हुने गरेको थियो । राति घर मालिकले कोठामै आएर गर्ने हिंसाबाट आक्रान्त बनेको जीवनलाई उद्धारमार्फत राहतको श्वास फेर्न पाएको व्यथा उनले प्रधानमन्त्रीलाई सुनाएकी छिन् । बालश्रम र हिंसाका कारण आजसम्म आफ्नो क्षमताको विकास गर्न नसकेको बताउदै उनले आफूमाथि शोषण र हिंसा गर्नेलाई कारबाही गर्न माग गरिन् ।

बालश्रमको अन्त्यको लागि कडा कानुनी ब्यवस्था र त्यसको कार्यान्वयनले मात्रै हुन्छ भन्दै पत्रमा उनले थप लेखेकी छिन्, ‘प्रधानमन्त्रीज्यू, आज यो निवेदन लेखिरहँदा एक बलियो आशा पलाएको छ । जसमा तपाईंले बालश्रममा परेका धरै चेलीको समस्याको समाधान गर्नुहुनेछ । यो चेलीले त्यो बेला मात्र खुसी पाउनेछ, जुनबेला प्रधानमन्त्रीज्यूले यस समस्याको समाधान गर्नुहुन्छ । धन्यवाद प्रधानमन्त्रीज्यू मेरो निवेदनलाई एक महत्वपूर्ण कागजको रूपमा पढिदिनु भएकामा ।’

प्रधानमन्त्रीको नाममा विभिन्न जिल्लाबाट श्रमका लागि केन्द्रीय राजधानीका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर बस्दै आएका बालबालिकामध्ये १३ वर्षीया सुस्मिता घले, १५ वर्षीया रञ्जु पनेरु, १५ वर्षीय कृष्ण साह, १३ वर्षीय युवराज मगर, १२ वर्षीय सुविन वाइवा, १६ वर्षीय अमित पहरी, १३ वर्षको समिर पौडेल, १३ वर्षीय राजेश गोले, १५ वर्षीयब शर्मिला थिङ्ग, नौ वर्षीय सुवास वाइबा, १६ वर्षीया पेम्नुरी शेर्पा, १५ वर्षीया रेखा परियार, १६ वर्षीय सञ्जित गुरुङ्ग, १५ वर्षीया मेनुका परियार, १३ वर्षीय निशन दर्जीले पत्र लेख्दै प्रधानमन्त्रीलाई बालश्रमको अन्त्यका लागि अनुरोध गरेका छन् ।

प्रधानमन्त्रीलाई बुझाउँदै पत्र :

प्रधानमन्त्रीलाई लेखिएका पत्रहरु बालबालिकाले आज अपराह्न बालुवाटर पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने भएका छन् । सिविसकी अध्यक्ष विमला ज्ञवालीले आज अपराह्न प्रधनमन्त्रीलाई भेट गरी बालबालिकाकै हातबाट पत्र बुझाउने जानकारी दिइन् । उनले भनिन्, “प्रधानमन्त्री बालबालिकाको सवालमा निकै सकारात्मक हुनुहुन्छ, त्यसैले बालबालिकाले लेखेको पत्रसहित प्रधानमन्त्रीले बालबालिकालाई भेट्ने कार्यक्रम तय भएको छ। बालश्रम रोक्न उहाँको भूमिका प्रभावकारी हुने अपेक्षा राखेका छौँ ।”

उनले ३० वर्षदेखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै बालश्रका अन्त्यका लागि लागिरहेको बताउँदै गाउँमै गएर अभिभावकलाई स्वरोजगारमूलक कार्यक्रम लागू गरेर बालबालिकाको शिक्षामा समेत टेवा प¥याएको बताइन् । संस्थाले बालबालिकालाई गाउँमै रोक्न र शिक्षाका निरन्तर दिन रामेछापको मन्थली, खाँडादेवी, सिन्धुपाल्चोकको हेलम्बुलायतका क्षेत्रमा अति गरिब परिवारलाई बिउँ पूजीँको रूपमा जनही ५० हजार सहयोग गरेर विभिन्न पेशामा संलग्न गराउँदै बालश्रम अन्त्यका लागि स्वरोजगारमूलक कार्यक्रम लागू गरेको उनको भनाइ छ ।

बालश्रमका क्षेत्रमा एडभोकेसी गर्दै आएका बालअधिकारकर्मी युवराज घिमिरेले अहिले पनि ११ लाख बालबालिका प्रत्यक्ष रूपमा श्रममा रहेको र करिब दुई लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको बताए ।

नेपाल सरकारले पछिल्लो समय सार्वजनिक गरेको तथ्याङ्कमा पनि पाँचदेखि १७ वर्ष उमर समूहका १३ दशमलव ३ प्रतिशत, १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत र १४ वर्षभन्दा कम उमेरका १८ प्रतिशत बालबालिका अझै पनि श्रममा रहेको उल्लेख भएको उनले बताए । सिविसले ४०० बालश्रमिकमा गरेको सर्वेक्षणमा सबभन्दा बढी गरिबीका कारण र त्यसपछि पारिवारिक हिंसाका कारण बालबालिका श्रममा आएको पाइएको छ ।

महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले बालबालिकासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा आएका विषयलाई थप संशोधन गरेर लैजाने जानकारी दिए । उनले ऐन संशोधनका लागि सुझावहरु प्राप्त भइरहेको उल्लेख गरे । यसैगरी, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयका उपसचिव दीपक ढकालले ऐनमा ३७ वटा विषयमा संशोधन प्रस्ताव गरिएको जानकारी दिए । जसमध्ये २२ वटा विषय साबिकको ऐनको प्रावधानमा संशोधन गर्नुपर्ने गरी प्रस्ताव आएको र सात वटा विषयमा नयाँ व्यवस्था थप्ने प्रस्ताव गरिएको, आठ वटा दफा÷उपदफामा सामान्य व्याख्या, व्याकरणीय त्रुटि सुधार र आनुषाङ्गिक विषय समेटिने गरी प्रस्ताव गरिएको बताए । कानुनमा १४ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने व्यवस्था छ । अठार वर्षमुनिका सबै बालबालिकालाई निकृष्ठ प्रकारको जोखिमयुक्त श्रममा लगाउन नपाइने कानुनी व्यवस्था छ ।

images
images

प्रतिक्रिया दिनुहोस्