काठमाडौं । बजेट विनियोजनमा विभेद भएको भन्दै सत्तारूढ दलका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा असन्तुष्टि व्यक्त गरेका छन् । सासंदहरुले ठूला नेताहरू र मन्त्रीहरूको जिल्लामा मात्रै बजेट छुट्याइएको भन्दै चर्को आलोचना गरेका छन् ।
छलफलमा भाग लिँदै सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थलका लागि एक करोड मात्रै बजेट विनियोजन गरिएकोमा आपत्ति जनाए । सरकारले तीन करोडभन्दा कमको बजेट विनियोजन नगर्ने भनिएको प्रचार भए पनि टरिगाउँको लागि पर्याप्त रकम नआएको बताए ।
सांसद मेनकाकुमारी पोखरेलले पनि टरिगाउँ विमानस्थलका लागि प्रधानमन्त्रीले नै विश्वास दिलाए पनि न्यून बजेट विनियोजन भएको बताए । सांसद पूर्णबहादुर घर्ती मगरले विनियोजन जनपक्षीय र यथार्थपरक नभएको टिप्पणी गरे। उनले सहकारी नियमनमा स्थानीय सरकारको सहभागिता आवश्यक भएको बताए ।
अम्मरबहादुर थापाले बजेट जनपक्षीय नभएको र देशको बृहत्तर हितका लागि काम गर्न नसकेको धारणा राखे । रञ्जुकुमारी झाले सबै जिल्लामा समान रूपमा बजेट वितरण गर्न माग गरे ।
रामप्रकाश चौधरीले मधेस प्रदेशका पूर्वाधार विकास योजनाहरूमा यस वर्ष पनि बजेट नआएको गुनासो गरे। सर्लाहीका कतिपय योजनाहरू अघिल्लो वर्षैदेखि बजेट नपाएर अलपत्र परेको उल्लेख गरे ।
सांसद प्रभु साहले सरकारले सञ्चालन गरेका उद्योगहरू घाटामा रहेका बेला निजी व्यवसायीबाट कर उठाउने कुरा उठाउनु अनुचित भएको बताए । उनले संघीय राजधानी जोड्ने राजमार्गहरू बन्दजस्तै अवस्थामा रहेको भन्दै नेताहरूको जिल्लामा मात्रै सडक निर्माणमा बजेट छुट्याइएको आरोप लगाए ।
सांसद रामकृष्ण यादवले मन्त्री र ठूला नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेर अन्य जिल्लालाई पछाडि पारिएको बताए। सांसद ईश्वरबहादुर रिजालले पर्यटनको अपार सम्भावना भएको दोलखामा आवश्यक बजेट विनियोजन नभएको गुनासो गरे ।
सांसदहरूले सत्तारूढ दलभित्रै बजेटको वितरण असमान र पक्षपाती भएको भन्दै सरकारको आलोचना गरे ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्