काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनका लागि लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारी साधन आवतजावत बन्द गर्ने निर्णय गरेको छ ।
शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले असोज १८, १९ र २० गतेका लागि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने / बाहिरिने सवारी साधन आवतजावत बन्द गरेको जानकारी दिएको हो ।
देशका विभिन्न स्थानमा भैरहेको भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने संभावित विपद्को जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले जोखिम न्यूनीकरण गर्न सवारी साधन आवतजावत बन्द गरिएको जनाएको छ । ‘उक्त अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक वाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने / बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नु हुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
प्राधिकरणले असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद् सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरु संचार माध्यम तथा सामाजिक संजाललगायतबाट पछिल्लो अपडेट बुझेर मात्र घर बाहिर निस्कन अनुरोध गरेको छ ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्