काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कर्मचारीले सुरु गरेको आन्दोलन अझै रोकिएको छैन । आन्दोलन सुरु भएको झन्डै एक महिना पुग्न लाग्दा समेत समस्या समाधान हुन सकेको छैन भने कार्यालयका कर्मचारी २३ दिनदेखि निरन्तर विरोधमा छन् ।
नेप्से कर्मचारी संघले कार्यालयको मूल गेटदेखि भित्ता तथा नेप्से अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कार्यकक्षको ढोकामा समेत ‘हाम्रो आन्दोलन जारी छ, प्रवेश निषेध अध्यक्ष हेमन्त बस्याल, सीईओ चुडामणी चापागाईं’ भनेर लेखेको कागज टाँसिएको छ ।

यही असोज ७ गते राती साढे १२ बजेसम्म नेप्सेका अध्यक्ष, सीईओ र कर्मचारीबीचमा उत्पन्न विवादपछि सोही दिन कर्मचारीहरुले दुबै जनालाई थुनिदिएका थिए । त्यसयता सीईओ चापागाईं हालसम्म पनि कार्यालय पुगेका छैनन् । तर, कर्मचारी संघले भने हालमा कालो पट्टी बाँध्ने देखि ‘असक्षम झोले अध्यक्ष हेमन्त बस्याल राजीनामा दे’, असक्षम सीईओ चुडामणी चापागाईं राजीनामा दे’ लगायतका नारा लेखिएका प्ले कार्डसहित विरोध जारी राखेका छन् ।
नेप्सेमा देखिएको यो विवादको कारण झन्डै पाँच वर्ष पुरानो हो ।
नेप्सेका कर्मचारीले आर्थिक वर्ष २०६७/७७ सम्ममा कम्पनीको खुद नाफाबाट ५ प्रतिशत बोनस पाउँदै आएका थिए । आ.व २०७७/७८ मा तत्कालीन सञ्चालक समिति अध्यक्ष र सीईओले कर्मचारीले पाउँदै आएको ५ प्रतिशत बोनसलाई १ प्रतिशत बनाउनुपर्ने विषय नेप्सेले अगाडि सारेको थियो ।
तर, तत्कालीन सञ्चालक समिति अध्यक्षले ५ प्रतिशत बोनस १ प्रतिशतमा झार्ने कुरा गरेपनि निर्णय भने ५ प्रतिशत नै दिने भयो । पछि यो विषय अर्थ मन्त्रालयमा पुग्यो । अर्थ मन्त्रालयले ५ प्रतिशतको ठाउँमा १ प्रतिशतमात्रै बोनस दिनुपर्ने भनेर सीमा तोकेपछि कर्मचारी ट्रेड युनियन उक्त निर्णयको विरुद्धमा श्रम अदालत भक्तपुर पुग्यो ।

५ प्रतिशत बोनस वितरण नगर्नु भनी श्रम तथा रोजगार कार्यालयले गरेको निर्णय समेत कानूनसम्मत नभएकोले उक्त निर्णय बदर गरी कर्मचारीको विगतका आवहरुमा जस्तै ५ प्रतिशत बोनस प्राप्त गर्नुपर्ने अधिकारको रक्षा गरी पाउँ भन्दै कर्मचारी अदालतमा पुगेका थिए । उक्त मुद्दामा श्रम अदालत भक्तपुरले २०८२ असार ५ गते आएर कर्मचारीको पक्षमा नै फैसला गर्यो ।
त्यसपछि पाँच प्रतिशत बोनस पाउने आशाम कर्मचारी मख्ख परेर बसेका थिए । श्रम अदालतको उक्त फैसला उचित नभएको भन्दै नेप्सेका अध्यक्ष, सीईओ र सञ्चालक समिति सो निर्णयको विरुद्धमा रिट दर्ता गर्ने प्रक्रियामा अगाडि बढे । तर, नेप्से सञ्चालक समितिले आफ्नै कर्मचारीविरुद्ध रिट लिएर अदालत जान खोजेपछि थप रुष्ट भएका कर्मचारी २३ दिनदेखि दुबै जनाको राजीनामा माग गर्दै विरोध गरिरहेका छन् ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्