Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, बेपत्ताहरुको खोजीकार्य जारी

रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, बेपत्ताहरुको खोजीकार्य जारी
विज्ञापन
Advertisement

रामेछाप । दोलखाको रोल्वालिङ हिमशृङखलामा गएको भीषण हिमपहिरोमा परी हराइरहेका चार जनाको आज बिहान उद्धार गरिएको छ । उद्धार गरिएका चारै जना घाइते अवस्थामा भेटिएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

दोलखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालका अनुसार, हाइ अल्टिच्युड हेलिकोप्टरमार्फत दुई जना विदेशी तथा दुई जना नेपाली पथप्रदर्शकलाई आज बिहान यलुङ री हिमालको आधार शिविर नजिकैबाट उद्धार गरिएको हो । हिमपहिरोस्थल नजिकैबाट चार जनालाई घाइते अवस्थामा हेलिकोप्टरद्वारा उद्धार गरेको उनले जानकारी दिए । यसै गरी हिमपहिरोबाट जोगिएका थप तीन जना नेपाली पथप्रदर्शकलाई दोलखाको ना गाउँमा सुरक्षित रूपमा राखिएको छ । उनीहरूलाई पनि उद्धार गरेर चरिकोट ल्याइने तयारी गरिएको प्रशासनले जनाएको छ ।

रोल्वालिङ हिमशृङखलाको डोल्मा खाङ (६,३३२ मिटर) र यलुङ री (५,६३० मिटर) हिमाल आरोहणका लागि आइतबार पाँच विदेशीसहित १५ जना आरोही यलुङ री बेस क्याम्प पुगेका थिए । बाक्लो हिमपातका कारण उनीहरूले सोही ठाउँमा टेन्ट टाँगेर बसेका थिए । सोमबार बिहान आरोहण सुरु गर्ने तयारीमा रहेका बेला आकस्मिक रूपमा हिमपहिरो खस्दा उनीहरू पुरिएका थिए ।

हिमपहिरोमा पुरिएर एक विदेशीसहित तीन जनाको हिजै मृत्यु भएको पुष्टि भएको छ भने अझै पाँच जना बेपत्ता छन् । हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ । उद्धार तथा खोजी कार्यमा नेपाली सेनाको टोली, सशस्त्र प्रहरी र स्थानीय उद्धारकर्मी परिचालन गरिएको छ । टोली हाल ना गाउँ हुँदै हिमपहिरो गएको स्थानतर्फ अघि बढिरहेको छ तर दुर्गम भौगोलिक स्थिति र प्रतिकूल मौसमका कारण सो स्थलमा पुग्न कठिनाइ भएको जनाइएको छ ।

दुई छुट्टाछुट्टै ट्राभल कम्पनीमार्फत पुगेका आरोही समूहहरू डोल्मा खाङ र यलुङ री दुवै हिमाल आरोहणका लागि तयारी अवस्थामा रहेका थिए । आइतबार आधार शिविरमा पुगेका उनीहरू सोमबार आरोहणको तयारीमा थिए । तर सोमबार बिहानै पहिरो गएको थियो ।

स्थानीय प्रशासनले प्रतिकूल मौसममा हिमाली क्षेत्रका आरोही तथा पर्यटकहरूलाई अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमविद्हरूका अनुसार पछिल्ला दिनहरूमा उच्च हिमाली भागमा लगातार बाक्लो हिमपात भइरहेको छ । यसले हिमपहिरोको जोखिम बढाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit