काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई आज पदमुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले सूचनामार्फत जनाएको छ ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई मिति २०८२/०७/२५ गतेदेखि पदमुक्त गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले भण्डारीलाई पदमुक्त गर्न सोमबार नै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । भण्डारीले विवादबीच मधेसमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई सोमबार बीचबाटोमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
एमालेको प्रस्तावमा प्रदेश प्रमुख बनेकी भण्डारीले सोमबार सरकार गठनको आह्वान नै नगरी होटलमा मुख्यमन्त्रीको शपथ गराएपछि त्यसविरुद्ध सर्वाेच्चमा रिट समेत परेको थियो । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयसमेतलाई विपक्षी बनाएर दायर रिटमा मंगलबार सुनुवाइ हुँदै छ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्