Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पातपतिङ्गरबाट जैविक मल उत्पादन गरेर ३५ हजार किलो बिक्री

पातपतिङ्गरबाट जैविक मल उत्पादन गरेर ३५ हजार किलो बिक्री
विज्ञापन
Advertisement

गण्डकी । पोखरा महानगर–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ ।सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी सङ्कलन गरी जैविक मल उत्पादन सुरु गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

वातावरण संरक्षण, जैविक विविधता प्रवर्द्धन तथा माटोको उर्वराशक्ति वृद्धि गर्दै प्राकृतिक स्रोत उपयोग गरेर हरित रोजगार सिर्जना गर्ने मुल उद्देश्यका साथ समूहले जैविक मल उत्पादनमा जोड दिएको समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार समूहले वन क्षेत्रको अँधेरीकुनामा सङ्कलन गरेको वन पैदावारलाई नवीनतम् प्रविधि प्रयोग गरी मलमा परिणत गरेको छ। समूहले पहिलो पटक ३५ हजार किलो मल उत्पादन गरेर बिक्री गरेको छ । ठोट्ने खोला कृषि सहकारी संस्था लिमिटेडमार्फत् समूहले बजारीकरण गरिरहेको छ। जैविक मल प्रति किलो २५ रुपैयाँ र गडेँउले (वर्मि) मल प्रति किलो ४० रुपैयाँमा बिक्री हुँदै आएको छ। समूहले पहिलो पटक उत्पादित मल बिक्री गरी १३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

अध्यक्ष श्रेष्ठले भने, ‘जैविक मल प्रयोगले माटोको जैविक तत्व वृद्धि गर्ने, उर्वराशक्ति दिगो राख्ने र रसायनिक अवशेषमुक्त उत्पादनलाई प्रोत्साहन गर्नेछ।’ सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको ‘एक वन, एक उत्पादन’ अभियान अन्तर्गत सुरु गरिएको परियोजनाबाट हरित रोजगार सिर्जना हुनाका साथै जैविक कृषि अभ्यास बढ्ने र वातावरण अनुकूलन उत्पादन प्रणाली विस्तार हुने उनको भनाइ छ ।

पातपतिङ्गरलाई आधुनिक मेसिनद्वारा कटिङ गरी सानो आकारको बनाएर हरियो प्लाष्टिक टनेल भित्र राखिन्छ । सो टनेलमा गँड्यौलाको प्रयोग गरी मल बनाउने गरिन्छ । सो कार्यका लागि जैविक विविधता अनुसन्धान र विकास पहल (लिवर्ड) ले २५ हजार गँड्यौलासहित आवश्यक भौतिक संरचना निर्माणमा सहयोग गरेको छ ।

हरियो पातपतिङ्गरको प्रति केजी तीन र सुकेको प्रति केजी पाँच रुपैयाँका दरले वन समूहले खरिद गर्दा चार लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनाइएको छ। गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालय माटो तथा मल गुणस्तर परीक्षण प्रयोगशालाको प्रतिवेदन अनुसार आवश्यक मापदण्ड पूर्ण भएको प्रमाणित भइसकेको छ ।

उत्पादित मलमा चिस्यान ८ दशमलव १, पिएच ६ दशमलव २, नाइट्रोजन १ दशमलव ३, फस्फोरस ० दशमलव ५, पोटासियम ३ दशमलव ०३ र कार्वन २५ दशमलव ३४ प्रतिशत रहेको प्रयोगशालाको प्रतिवेदनमा उल्लेख छ। समूहका सदस्य एवम् कृषि प्राविधिक प्रशान्त श्रेष्ठकाअनुसार समूहले कौशीखेतीका लागि पाँच र कृषिका लागि २० केजीको मलको प्याकेट तयार गरेको छ ।

उनले डिभिजन वन कार्यालय कास्कीले भौतिक पूर्वाधार निर्माणका लागि चार लाख ५० हजार रुपैयाँ र गण्डकी जलाधार जलवायु उत्थानशील कार्यालयले कृषि पाठशाला सञ्चालनका लागि तीन लाख ५० हजार रुपैयाँ प्राप्त भएको जानकारी दिए । ८६ दशमलव ७५ हेक्टरमा फैलिएको उक्त वनमा हाल १९२ घरपरिवार उपभोक्ता छन् ।

गण्डकी प्रदेशअन्तर्गत नवलपुर जिल्लास्थित विनयत्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वन समूहले विगतदेखि जैविक मल उत्पादन गर्दै आएको छ । पछिल्लो समय गाउँपालिकाले अपनत्व लिएको सो उद्योगमा हाल ८० जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको समूहले जनाएको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit