रामपुर । पाल्पाका किसानहरू यतिबेला खेतबारीमा आलु खन्ने काममा व्यस्त छन् । व्यावसायिक उत्पादनका लागि आलु लगाएका किसानले उत्पादित आलु थन्क्याउन खेताला लगाएर आलु खन्ने काम गरिरहेका छन् ।
पाल्पा रामपुरका युवा सुशील ढुङ्गानाले रामपुर–५ सानीअमराई बहखोला खेतमा करिब आठ रोपनी खेतमा आलु लगाएका छन्। आलु उत्पादन भएपछि दिनभर खेताला लगाएर आलु खन्ने कार्य भैरहेको ढुङ्गानाले बताए । “शनिबार र आइतबार दुई दिनसम्म १६र१७ जनाले आलु खन्ने काम भएको छ”, उनले भने, “एकै पटक उत्पादन हुने हुनाले परिवारले मात्रै खनेर नसकिने भएपछि खेताला खोजेर आलु खनिएको छ ।” उनले यस पटक चार क्विन्टल आलु लगाएका छन् ।
उत्पादन राम्रै भएकाले उनि आलुखेतीबाट उत्साहित छन् । यो वर्ष करिब ५० क्विन्टल आलु उत्पादन हुने उनको अनुमान छ । रामपुर बेझाड बजारमा व्यवसाय सञ्चालन गरेका ढुङ्गानाले घरमा कृषि कार्यमा जोड दिँदै आएका छन् । शनिबार पसल बन्दको समय पारेर खेताला खोजेर आलु खन्न सुरु गरेको उनले बताए ।
‘आलु खन्ने काम भएको छ, फल राम्रो लागेकाले उत्पादन राम्रो छ, खेतमा दिनभर खेतालाबाट आलु खन्ने र साँझमा घरमा थन्क्याउने कार्यले एउटा आलु उत्सवजस्तै लागेको छ, घरका कोठाहरु अहिले आलुले भरिएका छन् । यो देख्दा रमाइलो लागेको छ, पसलमा काम नभएको समयलाई सदुपयोग गर्दै घरमा कृषि कार्य तथा पशुबस्तुको स्याहारमा व्यस्त हुन्छु, फुर्सदको समय मैले खेर फालेको छैन’, उनले भने ।
उनले खुमलटार रातो जातको आलु लगाएका हुन् । बाउबाजेको पालादेखि नै आलुखेती गर्दै आएको उनी बताउँछन् । पहिलापहिला घरायसी प्रयोजनका लागि मात्रै आलु लगाउने गर्थे । हिजोआज भने बिक्रीका लागि उन्नत जातका आलु लगाउन थालेका छन् ।
रामपुर नगरपालिकाले शीतभण्डार निर्माण गरेपछि उनले व्यावसायिक उत्पादनमा जोड दिएका हुन् । भण्डारण गर्न अन्यत्र लैजानु नपर्ने, आफ्नै गाउँ ठाउँमा भण्डारणको राम्रो सुविधा भएपछि व्यावसायिक ढङ्गबाट खेती गर्न थालेको ढुङ्गानाले बताए । आलु खनेर सकेपछि शीतभण्डारणमा राख्ने र पछि बेमौसमीयाममा महँगो मूल्यमा बिक्री गर्ने लक्ष्यसहित योजनाबद्ध तरिकाले आलु लगाउने गरेको उनको भनाइ छ । अहिले सबैका घरघरमा आलु उत्पादन हुने हुँदा कम मूल्यमा आलु बिक्री गर्नुभन्दा बेमौसमी समयमा बिक्री गर्दा धेरै मूल्य पाइने भएपछि घरमा उत्पादन भएका सबै आलु शीतभण्डारणमा किसानले राख्ने गरेका छन् ।
यहाँका किसानलाई शीतभण्डारणको सुविधाले आलु भण्डारणका लागि अन्यत्र लैजानुपर्ने समस्या टरेको छ । पछिल्लो समय किसानले आलु उत्पादनमा जोड दिन थालेका छन् । रामपुर नगरपालिकाले स्थानीय उत्पादनलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि तीन सय मेट्रिक टन क्षमताको सुविधा सम्पन्न शीतभण्डारण तयार पारेर सञ्चालनमा ल्याएको छ ।
रामपुर –६ स्थित कौवा बस्ने सीता देवकोटाले शीतभण्डारणमा आलु राख्ने तयारी गरिरहेकी छन् । उनले आलु खनेर सकेपछि घरमा ग्रेडिङ गरेर भण्डारणका लागि शीतभण्डारणमा राख्न आलु तयार पारेर राखेकी छन् ।रामपुर नगरपालिकाका किसानले आलुखेतीलाई व्यावसायिक खेतीमा जोड दिँदै आएका छन् । जिल्लाकै आलु उत्पादनका लागि राम्रो पकेट क्षेत्र रहेको हुँदा आलुबाट राम्रो आयआर्जन गर्न किसान सफल बनेका छन् ।
रामपुर नगरपालिका कार्यालय तथा वडा कार्यालयले अनुदान उन्नत जातका बीउ उपलब्ध, किसानलाई खेतबारीमै प्राविधिक सेवा, शीतभण्डारणको सुविधाजस्ता विविध कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय यहाँका किसान आलुखेतीमा हौसिएका छन् ।
















प्रतिक्रिया दिनुहोस्