दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।
सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसान यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा ब्यस्त छन् ।
बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष १६ लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरेको बताए । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षकसमेत रहेका उनले सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको जानकारी दिए । गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको उनको भनाइ छ ।
यस्तै, सोही गाउँका कालबहादुर रानाले पनि आफूले चार लाखको सुन्तला बिक्री गरेको सुनाए । उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । रानाले भने, ‘ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन् ।’
स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने गरेको बताए । ‘प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ,’ थापाले भने । थापाले यस वर्ष दुई लाख १० हजार रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।
भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले सुनाए । ‘अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पु¥याउने गरिएको छ । जोखिमपूर्ण बाटो भएकाले असहज भने छ ’ थापाले भने ।
बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन्। यहाँको सुन्तला काठमाडौं, चितवन, पोखरासम्म पुग्ने गरेको छ। मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् । रासस















प्रतिक्रिया दिनुहोस्