images
images
images

 व्यावसायिक स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी गर्दै २६ वर्षीय युवा किसान साउद 

images
images

घोराही । पढाइ कृषि प्राविधिक । व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । पढाइ र काम मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको साउदको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् ।

स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैंले हेर्ने गरेको बताउँछन् । तीन वर्षअघि स्ट्रबेरीखेतीमा होमिएका २६ वर्षे साउदले गत वर्ष मात्रै  १८ लाख रुपैयाँ बराबरको स्ट्रबेरीको कारोबार गरेको बताए । “गत वर्ष ११ लाख रुपैयाँ त बचत नै भयो । अहिले दैनिक ७० किलोभन्दा बढी बिक्री भइरहेको छ ।” उनका अनुसार यस वर्ष हालसम्म चार लाख रुपैयाँभन्दा बढी स्ट्रबेरी बिक्री भइसकेको छ ।

images
images

साउदले १५ कट्ठा जग्गा भाडामा लिएर स्ट्रबेरीखेती गरिरहेका छन् । उनले स्ट्रबेरी प्रतिकिलो खुद्रामा सात सय र थोकमा पाँच सय रुपैयाँमा बिक्री भइरहेको बताए । स्ट्रबेरी दाङसहित बुटवल, नेपालगञ्ज र धनगढीलगायत ठाउँमा पठाउने गरेको उनले जानकारी दिए ।

किसान साउदले भने, “कृषि प्रविधिसँग सम्बन्धित विषय अध्ययन गरेपछि यसैमा केही गरौँ भन्ने सोचले कृषि फार्म स्थापना गरी स्ट्रबेरीखेती सुरु गरेको हुँ, अहिले यसैबाट राम्रो आम्दानी भइरहेको छ ।” परम्परागत कृषिमा प्रविधिको प्रयोगले सफलता मिलेको उनले बताए  । घोराहीमा मात्रै होइन, साउदले कपिलवस्तुमा १२ कट्ठामा र कैलालीमा १० कट्ठामा पनि व्यावसायिक रुपमा स्ट्रबेरीखेती गर्दै आएका छन् ।

स्ट्रबेरी  स्वादिलोसँगै पौष्टिक गुणले पनि राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने साउदको बुझाइ छ ।  “सुरुमा बिरुवा ल्याउँदा, सिँचाइलगायतमा सात लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको छ, बजारका लागि पनि कुनै समस्या छैन ।” उनका अनुसार कूल उत्पादनको ४० प्रतिशत दाङमा मात्रै बिक्री भइरहेको छ ।

उनले भने, “स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येमा पर्छ । आज भोलिको समय राम्रो हुन्छ ।” जिल्लामा पछिल्लो समय व्यावसायिक रूपमा यसको खेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेको उनि बताउँछन् ।

images
images

प्रतिक्रिया दिनुहोस्