काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारलाई राजनीतिक दल र जेनजीबीच पेन्डुलमजस्तै बनाउने काम भएको बताएकी छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारमाथी राजनीतिक दल र जेनजीले नै दबाब दिइरहेको बताइन् ।
राजनीतिक दलले सरकार तत्काल छाड्न तथा नागरिक सरकार बनाएको जेनजीले पनि कित आफ्ना सबै माग एकसाथै पूरा गरिदेउ नत्र सरकारमा नबस भन्ने हिसाबले आफूलाई सरकार छाड्न दबाब दिइरहेको उनको भनाइ छ । ‘ राजनीतिक पार्टीले पनि भरमार गाली गर्छन। अहिलै छोड, भोलि छोड भन्छ । जेनजीले पनि आजै छोड, भोलि, पर्सी छोड भन्छ। छोडौँ भने के छोडौँ,’ उनले भनिन्, ‘तिमीहरूलाई एउटा, औकात त छोडेर हिँड्ने रहेछ भन्ने भाष्य आउँछ हामी त पेन्डुलम जस्तो भयौं।’
निर्वाचन किन चाहियो भनेर युवाहरु नै बोल्न थालेको गुनासो गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचन त संसारको नियम कानुन हो । वैधानिकता र अवैधानिकताको कुराहरु रहेछ्न । यसरी नै यही सरकार चलिरह्यो भने तानासाह हुन्छ, कतै जाँदा सुख नहुने कथा हाम्रो छ ।’
उनले सरकारले गरेको काम बाहिर बस्नेले नदेखेको गुनासो गर्दै सरकारले क्षमताले भ्याएसम्म काम गरिरहेको बताइन् । यद्यपी प्रधानमन्त्री कार्कीले देश बंगलादेशजस्तो नहोस् भन्नेमा आफू रहेको बताइन् । उनले नेपालीहरुको विकास नभएको उल्लेख गर्दै अब नेपालमा मारकाटको स्थिति आउन नहुनेमा जोड दिइन् । उनले भनिन्, ‘हामी नेपाल बंगलादेश नहोस् भन्नेमा छौँ,’ उनले भनिन्, ‘नेपालीहरूले जीवनभर अति दुःख पाएका छन् । परिवर्तनका लागि नभेटेरै होला सबै विदेशीएका छन् । यो परिस्थितिमा फेरि मारकाटको स्थिति भयो भने के होला ?’
उनले अहिलेकोको सरकारसँग सबैले परिवर्तन र विकासको आशा राखेको उल्लेख गर्दै सबैको आशा एकैचोटी छोटो आयुको सरकारले पूरा गर्न नसक्ने प्रस्ट पारिन् । काम गर्दागर्दै पनि सरकारको आलोचना भैरहेको गुनासो गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी त अचानो जस्तो पो भएछौँ।’

















प्रतिक्रिया दिनुहोस्