काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न सरकारले गम्भीर परामर्श र गृहकार्य गरिरहेको बताएकी छन् ।
बिहीबार त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले दलीय हस्तक्षेपको अवस्थालाई अन्त्यगरी विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षको प्रयास आवश्यक रहेको बताइन् । यस्तै उनले शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको पनि धारणा राखिन् ।
उनले भनिन्,‘नेपालमा शिक्षामा लगानी वृद्धि गर्नुपर्ने आवश्यकता छ । सँगै यस क्षेत्रमा सुनिने गरेको दलीय हस्तक्षेपको अवस्थालाई अन्त्यगरी विश्वविद्यालयलाई प्राज्ञिक वहसको थलो बनाउन सबै पक्षको प्रयास आवश्यक छ । शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै हामीले केही ठोस कदम थालेका छौं। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’
त्यस्तै प्रधानमन्त्री कार्कीले शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यवहारिक शैक्षिक कार्यक्रम थप गर्नुपर्नेमा जोड दिइन् । ‘नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको अवस्थामा शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँ र व्यवहारिक शैक्षिक कार्यक्रम थप गर्ने विषयमा पनि सरोकारवालाहरुले पर्याप्त ध्यान दिनुपर्ने देख्दछु,’उनले भनिन् । परिक्षाको नतिजा समयमा नआउने गुनासो विद्यार्थीहरुबाट आफूले सुनेको बताउँदै उनले यस्तो अवस्था किन आयो भनि सरोकारवालाहरुले उत्तर खोज्नुपर्ने बताइन्।

















प्रतिक्रिया दिनुहोस्