काठमाडाैं । नेपालको निजी क्षेत्रका अग्रणी उद्यमी विनाेद चाैंधरी फेरि एकपटक विश्वका धनी व्यक्तिहरूको सूचीमा समावेश भएका छन्। अमेरिकी व्यावसायिक पत्रिका फाेर्सले सार्वजनिक गरेको सन् २०२६ को विश्व अर्बपति सूचीअनुसार चौधरी विश्वका १९८२औँ धनी व्यक्ति बनेका छन्।
फोर्ब्सका अनुसार चौधरीको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर पुगेको छ, जुन नेपाली रुपैयाँमा करिब ३ खर्ब २ अर्ब बराबर हुन्छ। अघिल्लो वर्ष सार्वजनिक गरिएको सन् २०२५ को सूचीमा उनी १७६३औँ स्थानमा थिए, जहाँ उनको सम्पत्ति करिब २ अर्ब डलर आसपास रहेको उल्लेख गरिएको थियो। पछिल्लो एक वर्षमा मात्रै उनको सम्पत्तिमा करिब १० करोड डलरको वृद्धि भएको देखिन्छ।
सार्कमा भारतबाहेक एकमात्र अर्बपति
सार्कका सदस्य मुलुकहरूमध्ये भारतीय अर्बपतिहरू बाहेक विश्व अर्बपति सूचीमा पर्ने व्यक्ति चौधरी मात्र हुन्। यसले नेपालको निजी क्षेत्रबाट विश्व बजारमा स्थापित उद्यमीको दुर्लभ उदाहरण प्रस्तुत गर्छ।
यसअघि सन् २०१९ मा चौधरी विश्व अर्बपति सूचीमा १३४९औँ स्थानसम्म पुगेका थिए। तर काेभिड १९ प्यान्डेमिकका कारण विश्वव्यापी आर्थिक गतिविधि प्रभावित हुँदा केही वर्ष उनको सम्पत्तिमा गिरावट आएको थियो। पछिल्ला वर्षमा भने व्यवसाय विस्तार, अन्तर्राष्ट्रिय लगानी र विविध क्षेत्रमा विस्तारमार्फत उनले आफ्नो सम्पत्ति पुनः वृद्धि गर्न सफल भएका छन्।
विश्व सूचीको शीर्षमा एलन मस्क
फोर्ब्सको अर्बपति सूचीमा पहिलो स्थानमा अमेरिकी उद्यमी एलन मस्क रहेका छन्। उनको कुल सम्पत्ति करिब ८३९ अर्ब डलर रहेको उल्लेख गरिएको छ। दोस्रो स्थानमा अमेरिकी प्रविधि उद्यमी ल्यारी पेज रहेका छन्। फोर्ब्सका अनुसार विश्वका सबैभन्दा धेरै अर्बपति युनाइटेड स्टेटस चाइना र इन्डियामा रहेका छन्।
सीजी साम्राज्यको विस्तार
विनाेद चाैधरी नेपालको बहुराष्ट्रिय व्यावसायिक समूह चाैधरी ग्रुप (सीजी) का अध्यक्ष हुन्। सीजी समूहले खाद्य उद्योग, बैंकिङ, होटल, रियल इस्टेट, ऊर्जा, दूरसञ्चार तथा उपभोक्ता वस्तु लगायत दर्जनौँ क्षेत्रमा लगानी विस्तार गरेको छ।
सीजी समूहले उत्पादन गर्ने वाइवाइ चाउचाउ विश्वका धेरै देशमा निर्यात हुने नेपाली ब्रान्डका रूपमा स्थापित भइसकेको छ। नेपालबाट अन्तर्राष्ट्रिय बजारमा पुगेका सफल उपभोक्ता ब्रान्डहरूमध्ये वाइवाइलाई विशेष रूपमा चिनिन्छ।
व्यवसायसँगै राजनीति
व्यवसायिक सफलतासँगै चौधरी राजनीति र सार्वजनिक जीवनमा पनि सक्रिय छन्। उनी नेपाली कंग्रेसबाट प्रतिनिधिसभा सदस्य समेत भइसकेका छन्। निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नीति निर्माणमा पनि उनको सहभागिता रहने गरेको छ।
नेपाली उद्यमशीलताको प्रतीक
विश्व अर्बपति सूचीमा निरन्तर उपस्थिति कायम राख्नु चौधरीका लागि मात्र व्यक्तिगत उपलब्धि होइन, यो नेपाली उद्यमशीलताको विश्वमञ्चमा उपस्थितिको संकेत पनि हो।
विश्वव्यापी प्रतिस्पर्धाको बीचमा नेपालजस्तो सानो अर्थतन्त्रबाट उदाएको व्यवसायिक साम्राज्यले देखाएको यो यात्रा धेरै नेपाली उद्यमीका लागि प्रेरणाको स्रोत बनेको छ।







कर्पोरेट समाचार 



















प्रतिक्रिया दिनुहोस्