Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

अर्थतन्त्र शिथिल र लगानीकर्ताको मनोबल न्यून छ : अध्यक्ष अग्रवाल

अर्थतन्त्र शिथिल र लगानीकर्ताको मनोबल न्यून छ : अध्यक्ष अग्रवाल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र हालसम्मकै सबैभन्दा अस्थिर र संवेदनशील मोडमा पुगेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल व्यापार संघको ३३औं वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै अग्रवालले गत भदौमा भएको जेनजी आन्दोलनका कारण निजी क्षेत्रले ८० अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै त्यसयता नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर अवस्थामा पुगेको बताएका हुन् ।

अध्यक्ष अग्रवालले आर्थिक वर्ष २०८१/८२ मा ४.४ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको भए पनि कोभिड–१९ को नकारात्मक प्रभाव तथा त्यसपछिको कुशल व्यवस्थापनको अभावका कारण स्थिति बिग्रिएको बताए । उनले भने, ‘नेपालको अर्थतन्त्र अत्यन्तै अस्थिर (भोलाटाइल) भएर गएको अवस्था छ। अर्थतन्त्र शिथिल छ । आर्थिक वृद्धिदर ८१/८२ मा ४.४ प्रक्षेपण गरिएको थियो । तर कोभिड १९ को नकारात्मक प्रभाव र त्यसपछिको कुशल व्यवस्थापनको अभावले नै भदौ २३ र २४ गते जेनजी आन्दोलन हुन गयो।’

यस घटनाले समग्र लगानीको वातावरण धमिल्याएको र व्यवसायीहरूको मनोबल निकै कमजोर बनाएको उनले बताए। अग्रवालले भने, ‘जेनजी आन्दोलनको क्रममा निजी क्षेत्रका औद्योगिक व्यवसायीक प्रतिष्ठानहरुको झण्डै ८० अर्ब जतिको क्षति भयो । समग्र व्यवसायी औद्योगिक वातावरणमा नकारात्मक असर पुग्यो । निजी क्षेत्रको मनोबल अत्यन्त न्यून भएको छ।’ भ्रष्टाचार, सुशासनको अभाव र स्वदेशमा अवसर नपाउँदा उत्पन्न भएको युवाको आक्रोशलाई सम्बोधन नगरेसम्म दिगो विकास असम्भव रहेको उनको तर्क छ।‘अपार प्राकृतिक स्रोतले भरिएको हाम्रो देशमा राजनीतिक स्थायित्व, अर्थ नीतिको स्थायित्वको अभावले देशको आर्थिक समृद्धि त परै जाओस्, हाम्रो युवा जनशक्तिलाई हामीले रोजगारी सिर्जना गर्न समेत सकिएन ।’

उनले दैनिक २५ सयभन्दा बढी युवाहरू रोजगारीको अभावमा विदेशिनु पर्ने बाध्यता रहेको बताए । जुन युवाहरूमा बढ्दो असन्तुष्टिको प्रमुख कारण बनेको र यही असन्तुष्टि जेनजी आन्दोलनको मुख्य कारणसमेत रहेको उनले बताए । उनले भने, ‘प्रतिदिन २५ सय भन्दा बढी युवाहरु स्वदेशमा रोजगारीको अभावले विदेशिनुपर्ने बाध्यता नै युवाहरुमा देखिएको असन्तुष्टिको मूल कारण समेत जेनजी आन्दोलन थियो ।’

अग्रवालले जेनजी पुस्ताले अघि सारेका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धिका मागहरूलाई महत्वपूर्ण ठहर गर्दै यी विषयहरू देशको विकासका आधारस्तम्भ भएको उल्लेख गरे । उनले सुशासनलाई युवाहरूको भविष्यप्रतिको भरोसाको रूपमा व्याख्या गर्दै भ्रष्टाचार उन्मूलन तथा विदेशमा हासिल गरेका अनुभवलाई स्वदेशमै सकारात्मक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । ‘जेनजी पुस्ताले अघि सारेका मागहरु सुशासन, भ्रष्टाचार निवारण र रोजगारी सिर्जना, आर्थिक समृद्धिको पहिलो खुड्किलो हुन् । सुशासन युवाहरुको भविष्यप्रतिको भरोसा हो । भ्रष्टाचार उन्मुलन र विदेशमा हासिल गरेको अनुभवलाई यहाँ हामीले सकारात्मक रुपमा प्रयोग गर्न आवश्यक छ,’ उनले भने ।

जेनजी आन्दोलन पछि नेपाल राजनीतिक रूपमा संवेदनशील मोडमा पुगेको बताए । तर, हालै सम्पन्न निर्वाचनको परिणामले आशा जगाएको पनि उनको भनाइ छ । उनले भने, ‘जेनजी आन्दोलनपछि नेपालको राजनीतिक संवेदनशील मोडमा पुगिसकेको थियो । तर हालै सम्पन्न निर्वाचनको परिणामले ठूलो आशाको संञ्चार गरेको छ । आगामी सरकारले निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति दिन माग गर्दछौं ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit