Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

मोबाइलदेखि ब्याट्रीसम्म ‘ई–वेस्ट’ व्यवस्थापन गर्न नेपालमै रिसाइक्लिङ उद्योग खोल्नुपर्छ: वरिष्ठ उपाध्यक्ष मल्होत्रा

मोबाइलदेखि ब्याट्रीसम्म ‘ई–वेस्ट’ व्यवस्थापन गर्न नेपालमै रिसाइक्लिङ उद्योग खोल्नुपर्छ: वरिष्ठ उपाध्यक्ष मल्होत्रा
विज्ञापन
Advertisement

काठमाडौं। नेपालमा विद्युतीय तथा विद्युतीय उपकरणबाट निस्कने फोहोर (ई–वेस्ट) को मात्रा बढ्दै गएको सन्दर्भमा यसको दिगो व्यवस्थापनका लागि स्वदेशमै रिसाइक्लिङ उद्योग स्थापना गर्नुपर्नेमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले जोड दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

उनले ई–वेस्टलाई वातावरणीय चुनौतीका रूपमा मात्र नहेरी पुनःप्रयोग गर्न सकिने स्रोत र नयाँ औद्योगिक अवसरका रूपमा विकास गर्नुपर्ने बताएका छन्।राजधानीमा आयोजित ई–वेस्टसम्बन्धी संवाद कार्यक्रममा मल्होत्राले मोबाइल फोन, ब्याट्री, कम्प्युटरलगायत विद्युतीय उपकरणको प्रयोग बढेसँगै तिनबाट निस्कने फोहोरको उचित व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए। प्रयोगपछि उपकरण जथाभावी फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै व्यवस्थित संकलन, वर्गीकरण, प्रशोधन र पुनःप्रयोगको प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो। ‘ई–वेस्टलाई केवल फोहोरका रूपमा होइन, पुनःप्रयोग गर्न सकिने बहुमूल्य स्रोतका रूपमा लिनुपर्छ। यसको व्यवस्थापनका लागि नेपालमै रिसाइक्लिङ उद्योग स्थापना गर्न सके वातावरण संरक्षणसँगै रोजगारी सिर्जना र औद्योगिक विकासमा समेत योगदान पुग्छ,’ मल्होत्राले भने।

उनका अनुसार ई–वेस्टको समस्या नेपालमा मात्र सीमित छैन। विश्वभर विद्युतीय उपकरणको प्रयोग र प्रतिस्थापन बढ्दै जाँदा यसको उत्पादनसमेत तीव्र रूपमा बढिरहेको छ। सन् २०२२ मा विश्वभर करिब ६२ मिलियन टन अर्थात् ६ करोड २० लाख टन ई–वेस्ट उत्पादन भएको तथ्यले यस समस्याको व्यापकता देखाउँछ। उत्पादित ई–वेस्टको ठूलो हिस्सा व्यवस्थित रूपमा संकलन र पुनःप्रयोग हुन नसक्दा वातावरणीय जोखिम थप बढिरहेको उनले उल्लेख गरे। नेपालमा मोबाइल फोन, ब्याट्री, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणको प्रयोग विस्तार भइरहेको अवस्थामा तिनको उपयोगपछिको व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्ने मल्होत्राको धारणा छ। उपकरणको खपत बढ्नु मात्रै विकासको सूचक नभई तिनबाट उत्पन्न हुने फोहोरलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने विषय पनि उत्तिकै महत्त्वपूर्ण हुने उनले बताए। उनले गुणस्तरीय र लामो समयसम्म टिक्ने विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

कम मूल्यका तर छिट्टै बिग्रिने उपकरणको अत्यधिक प्रयोग र बारम्बार प्रतिस्थापन गर्ने प्रवृत्तिले ई–वेस्टको मात्रा बढाउन सक्ने उनको भनाइ थियो। त्यसैले उपकरणको आयु बढाउने, मर्मत गरेर पुनःप्रयोग गर्ने र प्रयोगपछि सुरक्षित रूपमा संकलन गर्ने अभ्यासलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। ‘विद्युतीय उपकरणको प्रयोग बढ्नु स्वाभाविक हो, तर प्रयोगपछि निस्कने फोहोर व्यवस्थापन गर्ने पूर्वाधार र प्रणाली पनि सँगसँगै विकास हुनुपर्छ,’ मल्होत्राले भने। उनका अनुसार नेपालमै ई–वेस्ट प्रशोधन तथा पुनःप्रयोग गर्ने उद्योग स्थापना गर्न सके वातावरणीय संरक्षण र आर्थिक गतिविधिलाई एकसाथ अघि बढाउन सकिन्छ। त्यस्ता उद्योगले ई–वेस्टमा रहेका प्लास्टिक, फलाम, तामा, आल्मुनियमलगायत उपयोगी सामग्री छुट्याएर पुनःप्रयोगयोग्य बनाउन सक्छन्। यसबाट नयाँ वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ प्राप्त हुनुका साथै विदेशबाट आयात गरिने केही औद्योगिक सामग्रीको निर्भरता घटाउनसमेत सहयोग पुग्न सक्छ।

तर, ई–वेस्टबाट उपयोगी सामग्री निकाल्ने प्रक्रिया सामान्य फोहोर व्यवस्थापनभन्दा जटिल हुने भएकाले त्यसका लागि उपयुक्त प्रविधि, दक्ष जनशक्ति र सुरक्षित प्रशोधन पूर्वाधार आवश्यक पर्ने उनको भनाइ छ। विशेषगरी विद्युतीय उपकरणभित्र रहेका विभिन्न धातु तथा अन्य सामग्रीलाई सुरक्षित रूपमा छुट्याउने र पुनःप्राप्ति गर्ने प्रविधिमा लगानी गर्नुपर्ने उनले बताए। ई–वेस्ट व्यवस्थापनमा ब्याट्रीको सुरक्षित संकलन र प्रशोधनलाई विशेष महत्त्व दिनुपर्ने मल्होत्राले उल्लेख गरे। मोबाइल फोन, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणमा प्रयोग हुने ब्याट्रीको अनुचित व्यवस्थापनले आगलागी, रासायनिक चुहावट तथा वातावरणीय प्रदूषणको जोखिम निम्त्याउन सक्ने भएकाले तिनलाई सामान्य फोहोरसँग मिसाएर फाल्ने प्रवृत्ति रोक्न आवश्यक रहेको उनको भनाइ थियो।

मल्होत्राका अनुसार ब्याट्रीमा रहेका उपयोगी सामग्री पुनःप्राप्ति गर्ने प्रविधि विकास गर्न सके तिनलाई नयाँ ब्याट्री उत्पादन, वैकल्पिक ऊर्जा प्रणाली तथा अन्य औद्योगिक प्रयोजनमा उपयोग गर्ने सम्भावना रहन्छ। यसका लागि प्राविधिक क्षमता विस्तार, सुरक्षित प्रशोधन विधि र पुनःप्राप्त सामग्रीको बजार विकासमा ध्यान दिनुपर्ने उनले बताए। उनले भने, ‘ई–वेस्टमा रहेका उपयोगी सामग्रीको पुनःप्राप्ति गर्न सके फोहोरको मात्रा घटाउनुका साथै उद्योगका लागि आवश्यक कच्चा पदार्थसमेत प्राप्त गर्न सकिन्छ। यसले वातावरणीय र आर्थिक दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्छ।’

ई–वेस्ट व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको मल्होत्राको धारणा छ। सरकारले यस क्षेत्रका लागि स्पष्ट नीति तथा नियामकीय व्यवस्था निर्माण गर्नुका साथै संकलन, ढुवानी, वर्गीकरण र प्रशोधनका लागि आवश्यक पूर्वाधार विकासमा सहजीकरण गर्नुपर्ने उनले बताए। त्यस्तै, निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। ई–वेस्ट व्यवस्थापनसम्बन्धी उद्योग स्थापना गर्न आवश्यक लगानी, प्रविधि र बजारको सुनिश्चितता पनि महत्त्वपूर्ण हुने देखिन्छ। संकलन प्रणाली प्रभावकारी नभए प्रशोधन उद्योगलाई पर्याप्त कच्चा पदार्थ उपलब्ध नहुन सक्छ भने पुनःप्राप्त सामग्रीको बजार सुनिश्चित नहुँदा उद्योगको आर्थिक सम्भाव्यता कमजोर हुन सक्छ। त्यसैले उद्योग स्थापना गर्ने योजनासँगै घरपरिवार, व्यवसाय, विद्युतीय उपकरणका विक्रेता तथा उत्पादकबाट ई–वेस्ट संकलन गर्ने व्यवस्थित संयन्त्र विकास गर्नुपर्ने आवश्यकता छ।

नेपालमा यस्तो उद्योगको विकास हुन सके वातावरणीय प्रदूषण न्यूनीकरण, प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग, आयात प्रतिस्थापन र रोजगारी सिर्जनामा योगदान पुग्ने विश्वास मल्होत्राले व्यक्त गरे। ई–वेस्टबाट पुनःप्राप्त सामग्रीलाई औद्योगिक उत्पादनमा प्रयोग गर्न सके फोहोर व्यवस्थापनको लागतलाई आर्थिक मूल्य सिर्जना गर्ने अवसरमा रूपान्तरण गर्न सकिने उनको भनाइ थियो। उनले ई–वेस्टको दिगो व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र र उपभोक्ताबीच सहकार्य आवश्यक रहेको दोहोर्‍याए। उपकरणको जिम्मेवार प्रयोग, मर्मत तथा पुनःप्रयोगलाई प्रोत्साहन, प्रयोगपछि सुरक्षित संकलन र आधुनिक प्रविधिबाट प्रशोधन गर्ने प्रणाली विकास गर्न सके नेपालमा ई–वेस्ट व्यवस्थापनलाई नयाँ औद्योगिक क्षेत्रका रूपमा अघि बढाउन सकिने उनको धारणा छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit