Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

नीति अस्थिरता र जग्गा संकटले रोकिएको विदेशी लगानी ( रवि केसीकाे विचार)

नीति अस्थिरता र जग्गा संकटले रोकिएको विदेशी लगानी ( रवि केसीकाे विचार)
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालमा प्रत्यक्ष विदेशी लगानी भिर्‍याउने विषयमा धेरै बहस हुने गर्छ। सरकार, निजी क्षेत्र र अर्थविद्हरूले लगानी अभिवृद्धिका लागि अनेक योजना र नीतिको चर्चा गरिरहेका छन्। तर व्यवहारमा हेर्दा नेपाल अझै पनि विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्न सकेको छैन।

विज्ञापन
Advertisement
Advertisement

मेरो तीन दशकभन्दा लामो बहुराष्ट्रिय कम्पनीको अनुभव र स्वदेशी उद्योग सञ्चालनको भोगाइलाई आधार बनाएर नेपालमा लगानीको वातावरण किन कमजोर छ र यसलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे स्पष्ट पार्न चाहान्छु ।

नेपाललाई गरिब वा सम्भावनाहीन देशका रूपमा होइन, ‘विश्वकै उत्कृष्ट औद्योगिक केन्द्र बन्न सक्ने राष्ट्र’ का रूपमा हेर्नुपर्ने छ भन्ने मलाई लाग्छ । मेरो विचारमा नेपालसँग उद्योग विकासका लागि आवश्यक आधारभूत सम्भावनाहरू पर्याप्त छन् :

विशाल बजारको बीचमा नेपाल
नेपाल भौगोलिक रूपमा संसारकै दुई ठूला अर्थतन्त्रहरू भारत र चीन को बीचमा अवस्थित छ। साथै बंगलादेश, पाकिस्तान लगायत दक्षिण एसियाली देशहरू नजिकै छन्। विश्वको करिब दुईतिहाइ जनसंख्या नेपालको एक घण्टाको हवाई दूरीभित्र पर्छ। यसको अर्थ, नेपालमा उत्पादन गरिएका वस्तुहरूको विशाल बजार नजिकै उपलब्ध छ। जहाँ जनसंख्या बढी हुन्छ, त्यहीँ बजारको सम्भावना पनि ठूलो हुन्छ।

सस्तो र स्वच्छ ऊर्जा
नेपालसँग जलविद्युतको अपार सम्भावना छ। उद्योग सञ्चालनका लागि आवश्यक पर्ने ऊर्जा नेपालमा स्वच्छ र तुलनात्मक रूपमा सस्तो छ। धेरै देशहरू पेट्रोलियम ऊर्जामा निर्भर छन्, तर नेपालसँग नवीकरणीय ऊर्जा स्रोत छ। यदि सही नीतिका साथ उद्योगीकरण अघि बढाइयो भने नेपाल ऊर्जा निर्यात गर्ने मात्र होइन, ऊर्जा प्रयोग गरेर ठूलो औद्योगिक उत्पादन गर्ने देश बन्न सक्छ भन्ने मलाई लाग्छ।

सस्तो श्रमशक्ति
नेपाल, भारत, बंगलादेश र पाकिस्तान क्षेत्र अहिले विश्वकै सस्तो श्रमशक्ति उपलब्ध हुने क्षेत्रमध्ये पर्छ । खाडी मुलुकहरूले नेपाली कामदार लैजान ठूलो खर्च गर्छन्, तर त्यही श्रमशक्ति नेपालमै रोजगारी सिर्जना गर्न सकिने अवस्था छ। नेपालमा श्रम लागत कम भएकाले उत्पादन लागत पनि प्रतिस्पर्धी बन्न सक्छ।

अनुकूल मौसम
नेपालको मौसम उद्योगका लागि ठूलो वरदान छ भन्ने मलाई लाग्छ । धेरै देशहरूले अत्यधिक गर्मी वा चिसोका कारण कार्यस्थल अनुकूल बनाउन ठूलो ऊर्जा खर्च गर्नुपर्छ। तर नेपालमा वर्षको अधिकांश समय सामान्य तापक्रम रहने भएकाले अतिरिक्त ऊर्जा खर्च कम हुन्छ। यसले उत्पादन लागत घटाउँछ। मैले सम्भवना कुरा गरे । अब यति हुँदा हुँदै पनि नेपालमा लगानी किन आएन भन्ने विषयमा केही बाधाहरुको बारेमा चर्चा गरौं  :

जग्गा नीति ठूलो बाधा
नेपालमा लगानी आउन नसक्नुको मुख्य कारण भनेको जग्गाको नीति नै हो । उद्योगका लागि सबैभन्दा पहिलो आवश्यकता जग्गा हो। तर नेपालमा व्यक्तिले पाउने र उद्योगले पाउने जग्गाको सीमा लगभग उस्तै छ। यदि कुनै बहुराष्ट्रिय कम्पनीले अर्बौं रुपैयाँ लगानी गर्न चाहन्छ भने उसलाई ठूलो क्षेत्रफल आवश्यक पर्छ। तर सीमित जग्गा नीतिका कारण उद्योग विस्तार कठिन हुन्छ। त्यसैगरी, बाटो, बिजुली र पूर्वाधार पुगेको जग्गाको मूल्य अत्यधिक महँगो छ। उद्योग विस्तार गर्न थप जग्गा खोज्दा ब्ल्याकमेलिङसम्म हुने अवस्था रहेको उनको अनुभव छ।

पूर्वाधारको अभाव

नेपालले विदेशी लगानी बोलाउँछ, तर उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार पर्याप्त छैन। उद्योग स्थापना गर्न सडक, बिजुली, पानी, ढुवानी पहुँच लगायत आधारभूत संरचना आवश्यक पर्छ। सरकारले विशेष आर्थिक क्षेत्र (‘सेज’) को चर्चा गरे पनि व्यवहारमा पर्याप्त सुविधा उपलब्ध गराउन सकेको छैन ।

अस्थिर नीति र कर प्रणाली
लगानीकर्ताले सबैभन्दा बढी खोज्ने कुरा नीतिगत स्थायित्व हो। नेपालमा कर नीति, भन्सार दर र नियमहरू बारम्बार परिवर्तन हुने भएकाले लगानीकर्ता असुरक्षित महसुस गर्छन्। एउटा उद्योग स्थापना गर्न नै ४–५ वर्ष लाग्छ, त्यसपछि नाफामा पुग्न थप वर्ष लाग्छ। तर नीति बीचमै बदलिँदा दीर्घकालीन योजना बनाउन कठिन हुन्छ । वर्षौं पुरानो कर फाइल एकैचोटि परीक्षण हुने, त्यसपछि महालेखा परीक्षकको टिप्पणी आउने, अनि मिडियामा ‘घोटाला’ शीर्षक बन्ने अवस्थाले उद्योगीहरू मानसिक दबाबमा पर्ने गरेका छन् ।

कुनै उद्योगले प्रगति गर्दा त्यसलाई प्रोत्साहन गर्नेभन्दा पनि शंका गर्ने प्रवृत्ति बढी देखिन्छ। साना गल्ती वा घटनालाई अत्यधिक नकारात्मक रूपमा प्रस्तुत गर्दा विदेशी ब्रान्ड र लगानीकर्ता डराउने वातावरण बन्ने गरेको छ । हजारौं मानिसलाई रोजगारी दिने व्यक्तिको समय र योगदानको मूल्य बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।

नेपालमा साँच्चै बेरोजगारी छ, कि कामदारको अभाव?
उद्योगहरूले अहिले दक्ष र प्रतिबद्ध कामदार पाउन कठिनाइ भोगिरहेका छन्। धेरै युवाहरू विदेशमा कठिन परिश्रम गर्न तयार छन्, तर नेपालमै त्यही स्तरको अनुशासन र मेहनत कम देखिन्छ। यदि नेपाली युवाले विदेशमा जस्तै इमान्दारीपूर्वक काम गर्ने हो भने नेपालमै राम्रो आम्दानी गर्न सक्छन् ।

ऊर्जा निर्यात होइन, उद्योगीकरण प्राथमिकता

नेपालले हजारौं मेगावाट विद्युत् उत्पादन गरेर निर्यात गर्ने योजना बनाइरहेको छ।सस्तो मूल्यमा ऊर्जा बेच्नुभन्दा त्यसै ऊर्जा प्रयोग गरेर देशभित्र उद्योग स्थापना गर्नु बढी लाभदायक हुन्छ भन्ने मलाई लाग्छ । नेपालले औद्योगिक उत्पादन बढाउन सके रोजगारी, निर्यात र आर्थिक वृद्धि तीनै क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

मेरो विचारमा यदि सरकार, निजी क्षेत्र र समाजले मिलेर लगानीमैत्री वातावरण निर्माण गर्न सके, नेपाल पाँच वर्षमै दक्षिण एसियाको आकर्षक औद्योगिक गन्तव्य बन्न सक्छ। नेपाललाई केवल हिमाल र पर्यटनको देशका रूपमा होइन, उत्पादन र उद्योगको केन्द्रका रूपमा स्थापित गर्न सकिने सम्भावना छ ।

(नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा केसीले राखेको धारणामा आधारित)

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit