Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

ट्रम्पको चीन भ्रमण लगत्तै पुटिन बेइजिङमा, विश्व शक्ति सन्तुलनमा चाइनाको दबदबा बढेको हो ?

ट्रम्पको चीन भ्रमण लगत्तै पुटिन बेइजिङमा, विश्व शक्ति सन्तुलनमा चाइनाको दबदबा बढेको हो ?
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेपछि विश्व राजनीति फेरि चीन–रुस धुरीतर्फ केन्द्रित भएको छ। युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका–चीन सम्बन्ध र मध्यपूर्वको तनावबीच भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रपति पुटिन मङ्गलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय वार्ताका लागि बेइजिङ आइपुग्नुभएको पुगेका छन् । क्रेमलिनका अनुसार दुवै नेताले रुस–चीन रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा समन्वय बढाउने र बदलिँदो विश्व व्यवस्थामा साझा धारणा निर्माण गर्ने विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम छ ।

यो भ्रमण विशेष अर्थमा महत्त्वपूर्ण मानिएको छ, किनभने ट्रम्पले झन्डै एक दशकपछि चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपतिका रूपमा गत साता बेइजिङ पुगेर अमेरिका–चीन सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेका थिए । तर उक्त भ्रमणबाट ठोस उपलब्धि ननिस्किएको विश्लेषण भइरहेका बेला पुटिनको बेइजिङ आगमनले मस्को–बेइजिङ सम्बन्ध अझ मजबुत रहेको सन्देश दिएको मानिएको छ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी मुलुकहरूले मस्कोलाई कूटनीतिक र आर्थिक रूपमा अलग्याउने प्रयास गरेका थिए । त्यसयता रुस चीनमा अझ निर्भर बन्दै गएको छ। विशेषगरी चिनियाँ बजार अहिले रुसी तेलको प्रमुख गन्तव्य बनेको छ भने पश्चिमी प्रतिबन्धका कारण मस्कोले आर्थिक सहाराका लागि बेइजिङमाथि निर्भरता बढाएको छ । भ्रमणअघि नै दुवै नेताले आफ्नो रणनीतिक साझेदारीको ३० वर्ष पूरा भएको अवसरमा शुभकामना सन्देश आदानप्रदान गरेर सम्बन्धको घनिष्ठता प्रदर्शन गरेका थिए । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति सीले रुस–चीन सहकार्य निरन्तर गहिरिँदै गएको उल्लेख गरेका छन् ।

त्यसैगरी पुटिनले मङ्गलबार चिनियाँ जनताका नाममा जारी भिडियो सन्देशमा रुस–चीन सम्बन्ध ‘अभूतपूर्व उचाइमा’ पुगेको बताए । उनले दुई देशबीचको व्यापार तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै दुवै राष्ट्रले कसैको विरुद्धमा गठबन्धन नगरी विश्व शान्ति र साझा समृद्धिको पक्षमा काम गरिरहेको दाबी गरे । पुटिनले आफ्नो सम्बोधनमा कुनै तेस्रो देशको नाम नलिए पनि उनको अभिव्यक्तिलाई अमेरिका लक्षित सन्देशका रूपमा हेरिएको छ । वार्तापछि दुवै नेताले संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

गत सेप्टेम्बरमा बेइजिङ भ्रमणका क्रममा राष्ट्रपति सीले पुटिनलाई ‘पुरानो मित्र’ भन्दै विशेष स्वागत गरेका थिए। विश्लेषकहरूका अनुसार ट्रम्पको भ्रमणको तुलनामा पुटिनको भ्रमणमा कम सार्वजनिक तामझाम देखिए पनि चीन–रुस सम्बन्धलाई त्यस किसिमको प्रदर्शन आवश्यक नपर्ने अवस्था बनेको छ। वासिङ्टनस्थित ब्रुकिङ्स इन्स्टिच्युसनकी प्याट्रिसिया किमका अनुसार बेइजिङ र मस्कोले आफ्नो सम्बन्धलाई अमेरिका–चीन सम्बन्धभन्दा धेरै स्थिर र संरचनात्मक रूपमा बलियो मानेका छन्। उनका अनुसार दुवै देश अहिले साझा रणनीतिक हितका आधारमा नजिकिएका छन्।

चीनले युक्रेन युद्ध सुरु भएयता निरन्तर वार्तामार्फत समाधानको पक्षमा आवाज उठाउँदै आएको छ। तर बेइजिङले रुसको सैन्य आक्रमणको खुला आलोचना भने गरेको छैन। चीनले आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गर्दै आएको छ । गत साता ट्रम्प र सीबीच भएको वार्तामा युक्रेन युद्धको विषय पनि उठाइएको थियो । तर अमेरिकी राष्ट्रपति ठोस सहमति वा उपलब्धिविना नै चीनबाट फर्किएको विश्लेषण गरिएको छ ।

प्याट्रिसिया किमका अनुसार राष्ट्रपति सीले ट्रम्पसँग भएको वार्ताबारे पुटिनलाई विस्तृत जानकारी दिने सम्भावना अत्यधिक छ । उनले ट्रम्प–सी भेटबाट स्पष्ट परिणाम ननिस्कनुले मस्कोलाई चीनले आफ्नो हितविरुद्ध कुनै समझदारी नगरेको आश्वासन मिलेको टिप्पणी गरे । ऊर्जा सहकार्य पनि यसपटकको भेटवार्ताको केन्द्रमा रहने अनुमान गरिएको छ । ट्रम्पले हालै चीनले अमेरिकी तेल खरिद गर्न सहमति जनाएको दाबी गरेका थिए । त्यसपछि मस्कोले बेइजिङसँग ऊर्जा सम्बन्ध अझ बलियो बनाउन चाहेको विश्लेषण गरिएको छ ।

एसिया सोसाइटीका लाइल मोरिसका अनुसार रुस आफ्नो युद्ध प्रयासलाई निरन्तरता दिन चिनियाँ बजारमा निर्भर रहेकाले पुटिन चीनको समर्थन गुमाउन चाहँदैनन् । उनका अनुसार पुटिन मध्यपूर्वको अवस्थाबारे चीनको आगामी रणनीति बुझ्न पनि इच्छुक छन् । विशेषगरी अमेरिका–इजरायल र इरानबीचको तनावका विषयमा चीन र रुसको दृष्टिकोण केही फरक हुन सक्ने आकलन गरिएको छ । सिङ्गापुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका जेम्स चारका अनुसार चीन विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि प्रमुख समुद्री मार्ग खुला रहोस् भन्ने चाहन्छ र हर्मुज जलघाँटीको तनाव चाँडै अन्त्य होस् भन्ने पक्षमा छ ।

तर मस्कोले भने इरानमाथिको द्वन्द्वका कारण विश्व बजारमा ऊर्जा मूल्य बढ्दा त्यसबाट आर्थिक लाभ लिइरहेको विश्लेषण गरिएको छ । पश्चिमी प्रतिबन्धका बाबजुद रुसी ऊर्जा निर्यातको माग बढेकाले रुस फरक रणनीतिक हिसाबमा रहेको बताइएको छ। गत अप्रिलमा राष्ट्रपति सीसँगको भेटपछि रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले विश्व आपूर्ति अस्थिर बनेको अवस्थामा रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्न सक्ने बताएका थिए ।

एटलान्टिक काउन्सिलका जोसेफ वेबस्टरका अनुसार यसपटकको बैठकमा ऊर्जा सहकार्य प्रमुख एजेन्डाका रूपमा अघि आउने सम्भावना छ। उनले चीनले थप रुसी ऊर्जा खोजिरहेको र युक्रेनले रुसी ऊर्जा पूर्वाधारमाथि निरन्तर आक्रमण गरिरहेकाले मस्को पनि पूर्वतर्फ तेल निर्यात विस्तार गर्न इच्छुक रहेको बताए । एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit