Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

मुक्तहलिया र कमैयाको पुनःस्थापनाका लागि स्पष्ट योजना माग

मुक्तहलिया र कमैयाको पुनःस्थापनाका लागि स्पष्ट योजना माग
विज्ञापन
Advertisement

काठमाडौं । मुक्तकमैया, हलिया, कम्लरी र हरवाचरवालगायत कृषि बँधुवा मजदुर समुदायको न्यायोचित पुनःस्थापना तत्काल निष्कर्षमा पुर्‍याउन सरोकारवालाले सरकारसँग माग गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय कृषि बँधुवा मजदुर संयुक्त सङ्घर्ष समितिले सोमबार आयोजना गरेको नीतिगत संवाद कार्यक्रममा सहभागी वक्ताहरूले मुक्तिको घोषणा गरिए पनि वर्षौँ बित्दासमेत पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि नबढेको गुनासो गरे ।

उनीहरूले सरकारले २०५७ सालमा कमैया, २०६५ मा हलिया, २०७० मा कम्लरी र २०७९ सालमा हरवाचरवालाई मुक्त घोषणा गरे पनि अझै व्यवस्थित पुनःस्थापना हुन नसकेको बताए । विशेषगरी हरवाचरवा समुदायको तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र पुनःस्थापनाको प्रक्रिया सुस्त रहेको उनीहरूको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य सुरेन्द्र चौधरीले मुक्तहलिया, कमैया, कम्लरी र हरवाचरवाको पुनःस्थापनाका लागि सरकारले स्पष्ट ‘कटअफ डेट’ तोकेर कार्यान्वयन गर्नुपर्ने बताए । उनले राज्यको संरचनात्मक रूपान्तरणका लागि नीति निर्माताहरू संवेदनशील बन्न आवश्यक रहेको उल्लेख गरे ।

प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारूले कृषि बँधुवा मजदुरको मुद्दा मानवअधिकारसँग जोडिएको भन्दै राज्यले सम्मान, संरक्षण र परिपूर्तिको जिम्मेवारी लिनुपर्ने धारणा राखे । अर्का सांसद गणेशबहादुर विश्वकर्माले २०७८ सालमा गठित ‘मुक्तकमैया, हलिया, कम्लरी तथा हरवाचरवा वस्तुस्थिति अध्ययन समिति’को सिफारिस कार्यान्वयन गरे समस्या समाधानमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा सहभागी अन्य सांसदहरूले पनि मुक्त घोषणा गरिएका समुदायका समस्या समाधानका लागि सरकारले ठोस योजना ल्याउनुपर्नेमा जोड दिएका थिए ।

द फ्रिडम फन्डका बालाराम भट्टराईले मुक्त बँधुवा मजदुर समुदायको पुनःस्थापनाका लागि पर्याप्त बजेट, स्पष्ट कार्यविधि र तीन तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरूले पुनःस्थापनाको अभाव, आर्थिक समस्या, पहिचान र प्रमाणीकरणमा ढिलाइलगायत विषय उठाएका थिए ।

सङ्घर्ष समितिका अनुसार हालसम्म एक हजार १०४ मुक्त हलिया परिवारले पुनःस्थापनाको अन्तिम किस्ता रकम पाउन सकेका छैनन् भने एक हजार १३५ परिवार अझै पुनःस्थापनाको पर्खाइमा छन् । तत्कालीन समयमा ३२ हजार ५०९ मुक्तकमैया र १४ हजार २४२ मुक्तहलिया परिवारले परिचयपत्र प्राप्त गरेका थिए । यस्तै, देशभर १२ हजार ९७० मुक्तकम्लरी पहिचान भए पनि अझै हजारौँ व्यक्ति पुनःस्थापनाबाट वञ्चित रहेको समितिको भनाइ छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit