जानकी (बाँके) । बाँके जिल्लामा बढ्दो तापक्रम र अत्यधिक गर्मीका कारण आर्थिक तथा स्वास्थ्य चुनौती बढ्दै गएको छ। गर्मी बढेसँगै दैनिक ज्यालादारी मजदुर, किसान, विद्यार्थी तथा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ भने आम्दानी घट्नुका साथै गर्मीजन्य रोगका समस्या पनि बढ्न थालेका छन्।
गर्मीका कारण विशेषगरी रिक्सा चालक, कृषि मजदुर र टनेलखेती गर्ने किसानको आम्दानीमा गिरावट आएको छ। बिहान र साँझबाहेक दिउँसो यात्रु कम पाइने भएकाले रिक्साचालकको कमाइ घटेको छ। घरायसी जिम्मेवारी र चर्को गर्मीका कारण कामको समय सीमित हुँदा दैनिक आम्दानीमा उल्लेख्य असर परेको छ।
कृषि क्षेत्रमा पनि गर्मीको प्रत्यक्ष असर देखिएको छ। टनेलखेतीमार्फत तरकारी उत्पादन गर्दै आएका किसानले अत्यधिक तापक्रमका कारण उत्पादन घटेको बताएका छन्। करेला र लौकाजस्ता बालीमा लगानी गरे पनि अपेक्षाअनुसार उत्पादन नभएकाले आम्दानीमा ठूलो गिरावट आएको छ। बिरुवा सुक्ने, कोपिला नष्ट हुनेजस्ता समस्या देखिएका छन्।
त्सस्तै शैक्षिक क्षेत्रमा पनि गर्मीले असर पारेको छ। सरकारी विद्यालयहरू बिहान ६ बजेदेखि ११ बजेसम्म कक्षा सञ्चालन गर्न बाध्य भएका छन्। कक्षाकोठामा पङ्खा भए पनि तातो हावाका कारण विद्यार्थीलाई बस्न कठिन भइरहेको छ। थकान, टाउको दुख्ने, चक्कर आउने र ध्यान केन्द्रित गर्न नसक्ने समस्या देखिन थालेका छन्।
स्वास्थ्य क्षेत्रमा समेत गर्मीजन्य बिरामीको सङ्ख्या बढेको छ। भेरी अस्पतालमा पानीको कमी, अत्यधिक थकान, वान्ता, चक्कर आउने र बेहोस हुनेजस्ता समस्या लिएर आउने बिरामी बढेका छन्। बालबालिका, ज्येष्ठ नागरिक र बाहिर काम गर्ने श्रमिक बढी प्रभावित भएका छन्।
विशेषज्ञ चिकित्सकका अनुसार अत्यधिक गर्मीबाट बच्न दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन, पर्याप्त पानी पिउन र हलुका कपडा प्रयोग गर्न आवश्यक छ। छायाँमा बस्ने, झोलयुक्त खानेकुरा सेवन गर्ने र शरीरमा पानीको कमी हुन नदिने बानी अपनाउन सुझाव दिइएको छ। हिट स्ट्रोकको जोखिम रहेकाले सामान्य लक्षण देखिए पनि बेवास्ता नगरी चिकित्सकीय परामर्श लिनुपर्नेमा जोड दिइएको छ।

















प्रतिक्रिया दिनुहोस्