दार्चुला । दार्चुलाको महाकाली नगरपालिका क्षेत्रमा सौर्यबत्ती जडान भएपछि मुख्य सडकहरू रातिको समयमा उज्यालो बनेका छन्। विद्युत् भार कटौतीका कारण अन्धकार हुने बेतदेखि खलङ्गा हुँदै श्रीबगडसम्मको राजमार्गमा २०७ वटा सौर्य सडक बत्ती जडान गरिएको हो।
सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानमा नगरपालिकाले सञ्चालन गरेको यो परियोजनाअन्तर्गत सौर्य ऊर्जामार्फत सडक बत्ती जडान गरिएको महाकाली नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले जानकारी दिएका छन्। उनका अनुसार बेतदेखि खलङ्गासम्मका मुख्य सडक क्षेत्रमा बत्ती जडान भइसकेपछि रातिको आवतजावत सहज भएको छ।
नगरपालिकाले प्रदेश सरकारबाट प्राप्त रु २ करोड ६४ लाख समपूरक अनुदानमा बोलपत्र आह्वान गरी अल्ट्रा इन्फोसिससँग रु १ करोड ४१ लाख ९१ हजार ४७० मा सम्झौता गरेको थियो। सम्झौताअनुसार कम्पनीले सबै क्षेत्रमा सौर्य सडक बत्ती जडानको काम सम्पन्न गरेको हो।
महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरका अनुसार ‘उज्यालो महाकाली, सुरक्षित महाकाली’ अभियानअन्तर्गत सडकमा सौर्य बत्ती विस्तार गरिएको हो। उनले विद्युत् अनियमितताका कारण हुने समस्या समाधान गर्दै रातिको समयमा सुरक्षित आवागमन सुनिश्चित गर्ने उद्देश्य रहेको बताए।
नगरपालिकाले हाल सदरमुकाम खलङ्गा बजार, महाकाली नदी किनार, लास्कु क्षेत्र तथा महाकाली करिडोरअन्तर्गत बङ्गाबगड र श्रीबगडसम्मका क्षेत्रमा बत्ती जडान गरेको छ। साथै, आपूर्तिकर्ता कम्पनीले एक वर्षसम्म मर्मत तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
स्थानीयवासीहरूले सौर्यबत्ती जडानपछि रातिको समयमा हिँडडुल गर्न सहज भएको प्रतिक्रिया दिएका छन्। तर केही स्थानीयले खलङ्गा बजार तथा आसपासका क्षेत्रमा थप बत्ती जडान र बिग्रिएका पुराना बत्तीको मर्मत आवश्यक रहेको माग गरेका छन्।

















प्रतिक्रिया दिनुहोस्