काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन ‘नेपाल निर्जीवन बीमा व्यवसायी संघ’ को अध्यक्षमा मनोहर दास मुल निर्विरोध चयन भएका छन् ।
जेठ २५ गते सम्पन्न संघको नवौं र दशौं वार्षिक साधारण सभाले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका अध्यक्षसमेत रहेका मुललाई आगामी २ वर्षका लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । यसअघि उनी संघको उपाध्यक्षको जिम्मेवारीमा थिए ।
साधारण सभाले मुलको नेतृत्वमा नयाँ कार्यसमिति समेत गठन गरेको छ। संघको उपाध्यक्षमा युनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठ, महासचिवमा हिमालयन एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा नेको इन्स्योरेन्सका अध्यक्ष रमेश कुमार निरौला चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सञ्चालक पवन अग्रवाल नियुक्त भएका छन् । सभाले निवर्तमान अध्यक्ष राजेन्द्र मल्लको योगदानको कदर गर्दै उनलाई कार्यसमितिमा आमन्त्रित सदस्यका रुपमा राख्ने निर्णय गरेको छ ।
नवनिर्वाचित अध्यक्ष मुलसँग निर्जीवन बीमा क्षेत्रमा दुई दशक लामो अनुभव रहेको छ। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा स्वर्णपदक (गोल्ड मेडल) प्राप्त गरेका उनी विभिन्न उद्योग तथा व्यावसायिक गतिविधिमार्फत देशको अर्थतन्त्रमा सक्रिय छन्। मुल हाल नेपाल कागज व्यवसायी संघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य र नेपाल टेनिस संघको अध्यक्षसमेत रहेका छन् । उनी २०७९ फागुन २९ गतेदेखि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षको रूपमा कार्यरत छन् ।
निर्वाचनपश्चात् बोल्दै अध्यक्ष मुलले नेपालको निर्जीवन बीमा व्यवसायलाई अझ व्यवस्थित, पारदर्शी, स्वच्छ तथा प्रतिस्पर्धी बनाउन आफू प्रतिबद्ध रहने बताए ।

















प्रतिक्रिया दिनुहोस्