Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

वालेन सरकारका शैली सकारात्मक, तर पाँच गम्भीर प्रवृत्तिले चिन्ता बढायो : कांग्रेस

वालेन सरकारका शैली सकारात्मक, तर पाँच गम्भीर प्रवृत्तिले चिन्ता बढायो : कांग्रेस
विज्ञापन
Advertisement

काठमाडौं । रास्वपा सरकारले कार्यकालको पहिलो १०० दिन पूरा गरी आफ्नो कार्य प्रगति विवरण शनिबार सार्वजनिक गरिरहँदा राजनीतिक विश्लेषणमा भने सरकारको कार्यशैलीमा केही सकारात्मक संकेतसँगै पाँच गम्भीर प्रवृत्ति देखिएको कांग्रेसले निष्कर्ष निकालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्ययोजना’ समीक्षा मार्फत कांग्रेस सभापति गगन कुमार थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’लाई बढी महत्त्व दिएको टिप्पणी गरे। सरकारले आफैंले दिने अंकभन्दा संसद्, सञ्चारमाध्यम र नागरिक समाजले गर्ने समीक्षा बढी अर्थपूर्ण हुने उल्लेख गर्दै थापाले प्रधानमन्त्रीको कार्यशैलीमा अघिल्ला सरकारभन्दा फरकपन देखिएको स्वीकार गरे ।

उनका अनुसार विगतका प्रधानमन्त्रीहरू सत्ता समीकरण, गठबन्धन व्यवस्थापन र दलभित्रको शक्ति सन्तुलनमा केन्द्रित हुने गरेकोमा वर्तमान प्रधानमन्त्रीले सिंहदरबारमै बसेर शासकीय जिम्मेवारी र कार्यसम्पादनलाई प्राथमिकता दिनु सकारात्मक पक्ष हो। तर, सरकारको समग्र कार्यसम्पादनमा भने पाँच प्रमुख प्रवृत्तिले दीर्घकालीन जोखिम निम्त्याउन सक्ने चेतावनी थापाको छ।

कांग्रेसको पहिलो समस्या सरकार वास्तविक जनजीवनका समस्याभन्दा सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्न केन्द्रित भएको उल्लेख गरेको छ। भूमिहीन तथा सुकुम्बासी बस्तीमा डोजर चलाउने घटनालाई उदाहरण दिँदै कानुनी प्रक्रिया पूरा गरेर समाधान खोज्न सकिने विषयलाई प्रचारमुखी शैलीमा अघि बढाइएको आरोप कांग्रेसको छ । यसले प्रभावित समुदायमा अन्याय भएको र सरकारको कथनी र करनीबीच अन्तर देखिएको सभापति थापाको भनाइ छ। ‘सरकार वास्तविक समस्या समाधान गर्नुभन्दा पनि सामाजिक सञ्जालमा कसरी ‘भर्चुअल ताली’ बटुल्ने भन्नेतिर लागिरहेको छ । यसको सबैभन्दा कुरूप उदाहरण भूमिहीन र सुकुम्बासी बस्तीमा चलाइएको डोजर हो, थापाले भने, ‘विगतका सरकारहरूले बडो मेहेनत गरेर भूमिसम्बन्धी ऐन संशोधन गरी प्रतिनिधिसभाबाट पारित गरिसकेका थिए । कानुनको अन्तिम गाँठो फुकाएर वास्तविक सुकुम्बासीलाई भूमि दिलाउने बाटो खुला हुँदाहुँदै सरकारले त्यो कानुनी र नीतिगत बाटो रोजेन। किनकि, कानुनअनुसार काम गर्दा सामाजिक सञ्जालमा ‘थ्रिल’ पैदा हुँदैनथ्यो ।’

दोस्रो, सरकारले कानुनी प्रक्रिया र संस्थागत प्रणालीलाई कमजोर बनाउँदै परिणाममुखी शैलीलाई प्राथमिकता दिएको कांग्रेसको आरोप छ। मन्त्रीहरूले व्यवसायीलाई सार्वजनिक रूपमा धम्की दिने, प्रक्रिया नपु¥याई पक्राउ गर्ने तथा संवैधानिक निकायमाथि दबाब सिर्जना गर्ने प्रवृत्तिले कानुनको शासन कमजोर हुने जोखिम रहेको विश्लेषण गरिएको छ । ‘लोकतन्त्रमा विधि र प्रक्रियाको आफ्नै गरिमा हुन्छ, तर अहिलेको सरकारमा ‘प्रक्रियालाई गोली मार, म परिणाम दिन्छु’ भन्ने प्रवृत्ति हाबी देखिएको छ। यो ठ्याक्कै २०७४ सालको शक्तिशाली सरकारले देखाएको जस्तै शैली हो । शासकहरूले ‘रुल अफ ल’ र ‘रुल बाई ल’ बीचको लक्ष्मण रेखा बिर्सिएका छन्, सभापति थापाले भने।

सरकारले कानुनलाई आफूभन्दा माथि राख्नुको साटो आफ्नो ‘टुल’ वा औजारको रूपमा प्रयोग गर्न खोजेको उनको भनाइ छ।

तेस्रो, अर्थतन्त्रमा आवश्यक आत्मविश्वास सिर्जना गर्न सरकार असफल भएको निष्कर्ष कांग्रेसको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता, विदेशी मुद्रा सञ्चिति र घट्दो ब्याजदरका बाबजुद निजी क्षेत्र लगानी गर्न हिच्किचाइरहेको भन्दै यसको मुख्य कारण सरकारबाट निजी क्षेत्रप्रति सिर्जना गरिएको अविश्वास र त्रासको वातावरण रहेको दाबी उनको छ। थापाले भने, ‘बजारमा लगानी गर्ने आत्मविश्वास कसैमा छैन, किन ? किनभने सरकारले निजी क्षेत्रलाई ‘ठग’ को रूपमा मात्र चित्रण गर्ने र भयको वातावरण सिर्जना गर्ने काम गरेको छ।’सरकारले सुशासनको नारा दिएर अर्थतन्त्रलाई त्यससँग जोड्न नसकेको तथा सानो व्यवसाय गर्नेदेखि ठूला उद्योगीसम्म सबै त्रसित रहेको कांग्रेसको ठम्याइँ छ ।

चौथोमा, संविधान र समावेशी व्यवस्थाप्रतिको सरकारको दृष्टिकोणप्रति पनि कांग्रेसले प्रश्न उठाएको छ। संविधान निर्माणका क्रममा विभिन्न समुदायले गरेका आन्दोलन र सहमतिलाई हल्का रूपमा प्रस्तुत गर्ने अभिव्यक्तिले सामाजिक सद्भावमा असर पुग्न सक्ने उल्लेख गर्दै कांग्रेसले अधिकार र पहिचानका विषयलाई संवेदनशील रूपमा सम्बोधन गर्नुपर्नेमा सरकारका केही अभिव्यक्ति गैरजिम्मेवार देखिएको जनाएको छ। ‘यो पनि हटाइदिने, त्यो पनि ठोकिदिने भन्ने जस्ता हचुवा पाराका अभिव्यक्तिले सामाजिक सद्भाव बिथोल्न सक्छ। अधिकारको विषय जतिबेलासम्म प्राप्त हुँदैन, त्यतिबेलासम्म मात्र त्यो गौण हुन्छ, थापाले भने ।

पाँचौं, परराष्ट्र नीतिमा पनि सरकारले दीर्घकालीन राष्ट्रिय हितभन्दा आन्तरिक राजनीतिक लोकप्रियतालाई बढी प्राथमिकता दिएको आरोप कांग्रेसले लगाएको छ। बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र भू–राजनीतिक जटिलतालाई गम्भीर रूपमा व्यवस्थापन गर्नुपर्ने बेला सरकार सतही प्रचारमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै सभापति थापाले भने, ‘भू–राजनीतिक संवेदनशीलतालाई बुझेर परिपक्व कूटनीति अपनाउनुपर्नेमा सरकारले यसलाई पनि ‘डोमेस्टिक कन्जम्सन’ को विषय बनाएको छ। कसले कसलाई भेट्यो, भेट्दा दायाँ फर्कियो कि बायाँ, के लगाएर भेट्यो भन्ने जस्ता सतही कुरामा वाहवाही खोज्ने काम भएको छ। ’

सरकारको पहिलो १०० दिनमा देखिएका यी पाँच प्रवृत्ति-सामाजिक सञ्जालमा लोकप्रियताको मोह, विधि र प्रक्रियालाई बेवास्ता गर्ने शैली, आर्थिक आत्मविश्वासको अभाव, संविधानप्रतिको कमजोर बुझाइ तथा अपरिपक्व कूटनीति-देशका लागि चिन्ताजनक रहेको निष्कर्ष कांग्रेसले निकालेको छ।

जिम्मेवार प्रतिपक्षले सरकारका सामान्य गतिविधिभन्दा यस्ता संरचनागत र नीतिगत कमजोरीमाथि प्रभावकारी रूपमा प्रश्न उठाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारलाई ठिक ठाउँमा ल्याउन र भ्रमहरू चिर्न पार्टीको भूमिका अझ सशक्त बनाएर अघि बढ्ने थापाको भनाइ छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit