दमौली (तनहुँ)। तनहुँमा वर्षौंदेखि अलपत्र रहेका दुई रणनीतिक सडक निर्माणबारे गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनील लम्सालको ध्यानाकर्षण गराइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी, शुक्लागण्डकी नगर समितिले मन्त्री लम्साललाई भेट्दै दुलेगौडा–हर्कपुर र दुलेगौडा–लामागाउँ सडक निर्माणमा भइरहेको ढिलासुस्ती तत्काल अन्त्य गर्न आग्रह गरेको हो।
रास्वपाका अनुसार २०७६ सालमै ठेक्का लागेको दुलेगौडा–हर्कपुर सडक पटक–पटक म्याद थपिए पनि अझै सम्पन्न हुन सकेको छैन। वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण स्थानीय, विद्यार्थी, बिरामी र यात्रु दैनिक सास्ती खेप्न बाध्य छन्।
यस्तै, विश्व बैंकको सहयोगमा निर्माण भइरहेको दुलेगौडा–लामागाउँ सडक पनि ठेकेदारको ढिलासुस्तीका कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको आरोप लगाइएको छ।
रास्वपाले काम नगर्ने ठेकेदारमाथि कानुनी कारबाही गर्दै आवश्यक परे ठेक्का रद्द गरी नयाँ प्रक्रिया सुरु गर्न तथा दुवै सडक निर्माण यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग गरेको छ।















प्रतिक्रिया दिनुहोस्