काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा हालै स्वदेशी उद्यमी तथा व्यवसायीसँग गरिएको परामर्शका आधारमा कार्यालयले संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा विदेशस्थित नेपाली नियोगहरूलाई स्वदेशी वस्तु तथा सेवाको प्रयोग बढाउन अनुरोध गरेको हो ।
कार्यालयले बुधबार जारी गरेको पत्रमा स्थानीय सीप, उद्यम र उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन भनिएको छ ।
पत्रअनुसार सरकारी निकायले अब स्टेशनरी, फर्निचर, निर्माण सामग्री तथा खाद्य वस्तु खरिद गर्दा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेछ । यस्तै, सरकारी बैठक, समारोह तथा कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि आग्रह गरिएको छ ।
सार्वजनिक निकायले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा स्वदेशी वस्तुलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा समावेश गर्नुपर्ने कार्यालयले जनाएको छ । स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी व्यवस्थाको नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने प्रावधानसमेत पत्रमा उल्लेख गरिएको छ ।
सरकारी निकायको खरिद प्रणालीमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदा नेपाली उद्योग तथा व्यवसायको बजार विस्तार हुनुका साथै उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयातमा निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्