काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका छन् ।
मङ्गलबार साँझ ७ बजे अमेरिकातर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेले यात्राका क्रममा अध्ययनका लागि पल केनेडीद्वारा लिखित ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’ पुस्तक हस्तान्तरण गरेका थिए।
प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसङ्घको ८१औं महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते नेपाल फर्किने कार्यतालिका रहेको छ।
वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारी
प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गरेपछि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ। प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
प्रधानमन्त्री शाहले सम्हाल्दै आएका रक्षा मन्त्रालयको कार्यभारसमेत अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण भएको छ। यसैगरी, संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गरेका परराष्ट्रमन्त्री शिशिर खनालको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि अर्थमन्त्री वाग्लेलाई दिइएको छ।
प्रधानमन्त्री शाहले परराष्ट्रमन्त्री खनालको अनुपस्थितिमा परराष्ट्र मन्त्रालयको कार्यभार अर्थमन्त्री वाग्लेलाई तोकेका थिए ।















प्रतिक्रिया दिनुहोस्