काठमाडौं । चीनको कैलाश मानसरोवर गएका अनुमानित ३ हजार मानिसमध्ये करिब २ हजार ५ सय जना नेपाल फर्किएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बुधबार आयोजित पत्रकार सम्मेलनमा विपद्का कारण हिल्सा र तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काइएको जानकारी दिएका हुन्। फर्किनेमा अधिकांश तीर्थयात्री रहेका छन्। उनका अनुसार बाँकी मानिसलाई पनि नेपाल फर्काउन सहजीकरण भइरहेको छ। केही नेपाली तथा विदेशी नागरिक ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेका छन्।
त्यस्तै, करिब १ हजार ५ सय नेपाली नागरिक हाल केरुङमा रहेको मन्त्रालयले जनाएको छ। उनीहरू नेपाल फर्कन चाहेको अवस्थामा चिनियाँ पक्षसँग समन्वय गरी फिर्ताको व्यवस्था मिलाउन पहल भइरहेको प्रवक्ता पौडेलले बताए। ‘विपद्को समयमा कैलाश पर्वततर्फ जाने तथा फर्कने क्रममा रहेका अनुमानित ३ हजार मानिसमध्ये करिब २ हजार ५ सय जना, अधिकांश तीर्थयात्री, हिल्सा र तातोपानी नाकाबाट फर्किसकेका छन्। बाँकी मानिसलाई पनि फर्कन सहजीकरण गरिएको छ र केही ल्हासाबाट हवाईमार्ग हुँदै फर्किरहेका छन्’ प्रवक्ता क्षेत्रीले भने ।
चीन सरकारले तिब्बतमा रहेका नेपाली तथा विदेशी नागरिकलाई नेपाल–चीन सीमाका अन्य नाकाबाट फर्कने व्यवस्था मिलाउन सहयोग गरिरहेको मन्त्रालयले जनाएको छ। हाल केरुङमा रहेका १७६ नेपाली ट्रक तथा कन्टेनरलाई समेत उपयुक्त सीमा नाकाबाट पुनःमार्ग निर्धारण गरी आवागमन सहज बनाउन चिनियाँ अधिकारीसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बुधबारसम्म बाढी आएको दिन चीनतर्फबाट करिब १ सय नेपाली नागरिक बेपत्ता रहेको जानकारी प्राप्त भएको छ। यसैबीच, विपद्का कारण फेला परेका मानव अवशेषको संख्या बढ्दै गएपछि आवश्यक फरेन्सिक प्रक्रिया पूरा गरी अस्थायी दाहसंस्कार तथा दफन प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ। पहिचान गर्न सहज होस् र पछि पहिचान स्थापित भएपछि परिवारले मानव अवशेष प्राप्त गरी अन्तिम संस्कार गर्न सकून् भन्ने उद्देश्यले यस्तो प्रक्रिया अघि बढाइएको हो।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढी–केरुङ नाकासहितका क्षेत्रमा ठूलो जनधनको क्षति गरेपछि चीनतर्फ रहेका नेपाली तथा विदेशी नागरिकलाई अन्य सीमा नाकाबाट नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको हो।















प्रतिक्रिया दिनुहोस्