काठमाडौं। रसुवामा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई कर्मचारीको १० दिनपछि जीवितै उद्धार गरिएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका प्राविधिकसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई जीवितै उद्धार गरेको हो। उद्धार गरिएका महर्जनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंस्थित नेपाली सेनाको छाउनी अस्पताल ल्याइँदैछ। सञ्जय साहलाई पनि काठमाडौं ल्याउन लागिएको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार महर्जनलाई थप उपचारका लागि छाउनी अस्पताल ल्याउन लागिएको हो।

बाढी तथा पहिरोका कारण सुरुङभित्र भग्नावशेष र लेदो जमेको अवस्थामा उद्धार टोलीले त्यसलाई पन्छाउँदै शुक्रबार दुवै जनालाई सकुशल बाहिर निकालेको हो। उद्धार गरिएका दुवै जनाको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
सुरुङभित्र अझै अन्य व्यक्ति पनि फसेको हुन सक्ने आशंकामा संयुक्त उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका प्राविधिकहरू सुरुङभित्र बाँकी रहेका व्यक्तिको खोजीमा जुटिरहेका छन्।















प्रतिक्रिया दिनुहोस्