काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय देखिएको एलपी ग्यासको अभाव तत्कालीन रूपमा आपूर्ति मार्गमा आएको अवरोध र एकैपटक बढेको मागका कारण भएको नेपाल आयल निगमले जनाएको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण काठमाडौं उपत्यकामा ग्यास आपूर्ति गर्ने मुख्य बोटलिङ प्लान्टबाट ग्यास ल्याउन कठिन भएपछि बजारमा थप अभाव देखिएको हो। काठमाडौं उपत्यकामा सामान्य अवस्थामा नजिकै रहेका करिब १८ देखि २० वटा बोटलिङ प्लान्टबाट ४–५ किलोमिटरदेखि बढीमा ३० किलोमिटर दूरीसम्मका स्थानबाट साना तथा मध्यम आकारका ट्रकमार्फत ग्यास आपूर्ति हुँदै आएको थियो।
तर कृष्णभीरको सडक अवरुद्ध भएपछि तराई तथा अन्य क्षेत्रका प्लान्टबाट लामो दूरी पार गरेर ग्यास ल्याउनुपर्ने अवस्था आएको शाहले बताए। ‘पहिला ४–५ किलोमिटरदेखि बढीमा ३० किलोमिटरभित्र रहेका प्लान्टबाट काठमाडौंमा ग्यास आउँथ्यो। अहिले तराई क्षेत्रका प्लान्टबाट ठूलो दूरी पार गरेर ल्याउनुपर्ने भएकाले समस्या भएको हो,’ उनले भने। सामान्य अवस्थामा करिब ८ घण्टामा पूरा हुने ढुवानी दूरी अहिले सडकको अवस्था, ट्राफिक व्यवस्थापन र पहिरोका कारण १४ देखि १५ घण्टासम्म लाग्ने गरेको निगमको भनाइ छ। यसले ढुवानीको चक्र लम्ब्याउँदा काठमाडौंको आपूर्ति प्रणालीमा दबाब परेको हो।
आयात उच्च हुँदा पनि किन देखियो अभाव ?
निगमका अनुसार पछिल्लो समय नेपालमा एलपी ग्यासको आयातसमेत उच्च रहेको छ। सामान्य अवस्थामा असारमा करिब ३२ लाख सिलिन्डर बराबर ग्यास आयात गर्नुपर्ने भए पनि करिब ४२ लाख सिलिन्डर बराबर ग्यास आयात गरिएको शाहले बताए। त्यस्तै, अगस्टमा करिब ६० हजार मेट्रिक टन एलपी ग्यास आयात भएको र यो हालसम्मकै उच्च आयात भएको उनको भनाइ छ। तर आयात उच्च हुँदाहुँदै पनि कृष्णभीरको सडक अवरोधसँगै काठमाडौंमा अचानक माग बढेपछि आपूर्ति व्यवस्थापनमा समस्या आएको शाहको दाबी छ । शाहले कृष्णभीरको पहिरोलाई कारण देखाए पनि असार देखिनै उपत्यका लगायतका विभिन्न स्थानमा ग्यासको उच्च अभाव देखिएको थियो । निगमले आपूर्तिमा समस्या नभएको र उच्च आयातको तथ्यांक देखाइरहँदा नागरिकले लामो लाइनमा कुरेर पनि एक सिलिण्डर ग्यास पाउन सकिराखेका छैनन् । साउनपछि लामो समयसम्म आधा सिलिन्डर मात्र बिक्री भइरहेको अवस्थामा पुनः पूर्ण सिलिन्डर वितरण सुरु भएपछि बजारमा एकैपटक खाली सिलिन्डर भर्ने चाप बढेको निगमले जनाएको छ। यसले माग र आपूर्तिबीच असन्तुलन सिर्जना गरेको हो।
अन्य प्रदेशमा भने आपूर्ति सामान्य
शाहका अनुसार काठमाडौं उपत्यकाबाहेक अन्य प्रदेशमा एलपी ग्यासको आपूर्ति अवस्था सामान्य बन्दै गएको छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ग्यास नपाएको गुनासो लगभग बन्द भइसकेको उनले बताए। काठमाडौंमा भने भौगोलिक रूपमा नजिक रहेका बोटलिङ प्लान्टबाट हुने नियमित आपूर्ति प्रभावित भएकाले समस्या बढी देखिएको हो।
निगमसँग छैन आफ्नै बोटलिङ प्लान्ट र भण्डारण
नेपाल आयल निगमसँग आफ्नै एलपी ग्यास बोटलिङ प्लान्ट तथा पर्याप्त सिलिन्डर भण्डारण पूर्वाधार नरहेको कार्यकारी निर्देशक शाहले बताए। नेपालमा ५८ वटा ब्रान्डमार्फत निजी क्षेत्रले एलपी ग्यासको कारोबार गर्दै आएको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग ग्यास खरिदका लागि अर्डर गर्ने भए पनि आयात, बोटलिङ र वितरणको अधिकांश काम निजी क्षेत्रमार्फत हुँदै आएको छ। ‘आजको मितिमा निगमसँग एउटा पनि बोटलिङ प्लान्ट छैन, एउटा सिलिन्डरको भण्डारणसमेत छैन। सबै काम निजी व्यवसायीमार्फत नै हुँदै आएको छ,’ शाहले भने। यसअघि निगमले एलपी ग्यासको भण्डारण तथा बोटलिङ पूर्वाधार निर्माण गर्ने प्रयास गरे पनि विभिन्न नीतिगत कारणले अघि बढ्न नसकेको उनले बताए।
नेपालको एलपी ग्यास आपूर्ति प्रणाली भारत तथा अन्तर्राष्ट्रिय बजारमा निर्भर रहेकाले बाह्य घटनाक्रमको प्रभाव नेपालमा समेत पर्न सक्ने शाहले बताए। नेपालले इन्डियन आयलबाट ग्यास खरिद गरे पनि आईओसीले समेत ठूलो हिस्सा अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव तथा आपूर्ति अवरोधको असर नेपालमा पर्न सक्ने उनको भनाइ छ। ‘ग्यासको डिपेन्डेन्सी घटाउनुको विकल्प छैन। पछिल्लो १० वर्ष हेर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा कुनै न कुनै घटना भइरहेकै हुन्छ, जसले पेट्रोलियम पदार्थको आपूर्तिमा असर पार्न सक्छ,’ उनले भने। यसका लागि दीर्घकालीन रूपमा एलपी ग्यासको भण्डारण क्षमता विस्तार गर्ने, पाइपलाइन तथा अन्य पूर्वाधार निर्माण गर्ने र सिलिन्डर व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए।
उपभोक्तालाई प्राथमिकता, होटल–उद्योगलाई विद्युत् प्रयोग गर्न आग्रह
अहिलेको आपूर्ति संकटमा उपलब्ध ग्यासलाई घरायसी उपभोक्तातर्फ केन्द्रित गर्नुपर्ने शाहको भनाइ छ। काठमाडौं उपत्यकामा दैनिक ठूलो मात्रामा एलपी ग्यास खपत हुने भएकाले आपूर्ति सहज नहुँदासम्म घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिनुपर्ने उनले बताए। ‘उपभोक्ताको चुलो बाल्नु सबैको दायित्व हो। होटल तथा उद्योगले वैकल्पिक ऊर्जा प्रयोग गर्न सक्ने भएकाले अहिलेको अवस्थामा घरायसी उपभोक्तालाई प्राथमिकता दिनुपर्छ,’ उनले भने। उनले होटल तथा उद्योग क्षेत्रमा सम्भव भएसम्म विद्युत्को प्रयोग बढाएर एलपी ग्यासको खपत घटाउन सके घरायसी उपभोक्तालाई ग्यास आपूर्ति सहज बनाउन सकिने बताए। ‘अहिले केही दिनका लागि बाटो सहज नहुँदा काठमाडौंमा विद्युत्को प्रयोग बढाउने, होटल तथा उद्योगसँग समन्वय गरेर ग्यासको खपत घटाउने र उपलब्ध ग्यास घरायसी उपभोक्तातर्फ केन्द्रित गर्ने प्रयास गर्नुपर्छ,’ शाहले भने।
समस्या कहिले समाधान हुन्छ ?
निगमका अनुसार कृष्णभीरको सडक आवागमन सहज हुँदै गएसँगै ग्यास आपूर्ति पनि क्रमशः सुधार हुने अपेक्षा गरिएको छ। अहिले व्यवसायीहरूले वैकल्पिक ढुवानी साधन तथा थप ट्रकको व्यवस्था गरिरहेका छन् भने निगमले आईओसी र ग्यास व्यवसायीसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ। ‘जहाँ जे समन्वय गर्नुपर्ने हो, निगम र इन्डियन आयल दुवै तहबाट गरिरहेका छौं। सामूहिक प्रयास भयो भने अहिलेको आपूर्ति समस्या समाधान गर्न सकिन्छ,’ शाहले भने।
यससँगै तत्कालका लागि वैकल्पिक ढुवानीमार्ग र विद्युत्को प्रयोग बढाउने तथा दीर्घकालीन रूपमा भण्डारण, पाइपलाइन र बोटलिङ पूर्वाधार विस्तार गर्ने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।
















प्रतिक्रिया दिनुहोस्