काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक–कर्मचारीबाट हालसम्म १६ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम असुलउपर गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुल भएको हो। अध्ययन बिदापछि सेवा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट विश्वविद्यालयले बिदाका क्रममा उपलब्ध गराएको तलब, भत्ता तथा अन्य सुविधासमेत हिसाब गरी नियमानुसार हर्जाना जोडेर रकम असुल गरिरहेको छ।
विश्वविद्यालयका अनुसार अझै थप केसहरूको हिसाब–किताब तयार गर्ने र पुराना अभिलेख खोजी गर्ने काम जारी छ। हालसम्म हिसाब–किताब तयार भएका थप केसमा करिब २१ करोड ५० लाख रुपैयाँ बराबरको रकम देखिएको छ। सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गरी विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम निर्धारण गर्ने कामसमेत भइरहेको त्रिविले जनाएको छ। त्यसरी निर्धारण भएको रकम असुलउपर गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।
त्रिविले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई २०८३ साल पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरेको छ। तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले स्पष्ट पारेको छ।
















प्रतिक्रिया दिनुहोस्