स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोहको आयोजना गरिएको थियो। बसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिको अवसरमा विशेष सम्मान र स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको सुरुवातमा जनकवि श्रेष्ठप्रति ‘अक्षरदीप प्रज्वलन, पुष्पार्पण’ र मौनधारण आयोजना गरिएको थियो । कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठको वृत्तचित्र ‘अक्षरयात्रा स् दशक आठ’ प्रस्तुत गरिएको थियो ।

त्यसैगरी ‘६ नवकृतिः अक्षरका छ नयाँ दीप’ अन्तर्गत श्रव्यदृश्य अनावरण तथा समीक्षा, जनकवि दुर्गालाल श्रेष्ठको कविता वाचन तथा कविता प्रस्तुति पनि गरिएको थियो । कार्यक्रममा ‘अक्षरमहर्षि सम्मान’ अर्पण गरियो। कार्यक्रममा कवि बसन्त चौधरीद्वारा अक्षराञ्जली समर्पण स्मृति कथन तथा रुबाई प्रतुति गरिएको थियो ।
को हुन् जनकवि दुर्गालाल श्रेष्ठ ?
फूलको आँखामा फूलै संसार
काँडाको आँखामा काँडै संसार ।

यो जनकवि दुर्गालाल श्रेष्ठको सर्वाधिक लोकप्रिय गीत हो । यो सँगै श्रेष्ठका नेपाल भाषा र नेपाली भाषाका थुप्रै कविता तथा गीतहरू छन् ।स्वर्गीय कवि दुर्गालाल श्रेष्ठले नेपाल भाषा परिषद्बाट सन् २००३ मा जनकविको उपाधि पाउनुभएको थियो । यस्तै मदन पुरस्कार गुठीबाट २०६७ मा जगदम्बाश्री सम्मान समेत पाउनुभएको थियो । यीबाहेक उहाँले दजनौँ सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको थियो ।

स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको जन्म विं सं। १९९२ सालमा काठमाडौंमा भएको थियो । आमा आशामोती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठका सुपुत्र दुर्गालाल श्रेष्ठले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गर्नुभएको हो । उहाँले सन् १९४९ मा आफ्नो लेखनयात्रा सुरु गर्नुभएको थियो । उहाँको पहिलो कविता ‘दुइथोपा’ सन् १९५२ मा सुस्केरा पत्रिकामा प्रकाशित भएको थियो । उहाँका छ दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने आज उहाँको ६ वटा कृति लोकार्पण गरिएको थियो ।
उहाँको साउन ३१ गते आइतबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा स्वर्गारोहण भएको थियो ।















प्रतिक्रिया दिनुहोस्