काठमाडौं । भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा पौने नौ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।
उनका अनुसार, रसुवा, नुवाकोट र धादिङमा रहेका १२० साइटमध्ये ८३ साइट बाढीका कारण अवरुद्ध भएका थिए। तीमध्ये त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। ती तीनबाहेक अन्य अवरुद्ध साइटको सेवा पुनः सञ्चालनमा ल्याइसकिएको मन्त्रीले जानकारी दिए। बाँकी तीन साइट तत्काल पुनःस्थापना गर्न नसकिए पनि आवश्यक स्थानमा वैकल्पिक टावर स्थापना गरी मोबाइल नेटवर्कको पहुँच कायम गरिएको छ। टिमुरेको टावरमा हेलिकप्टरमार्फत सोलार प्रणाली जडान गरी सेवा सञ्चालनमा ल्याइएको उनले बताए।
रसुवा, नुवाकोट र धादिङमा रहेको कुल ६५ दशमलव ३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७ दशमलव ९ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएकोमा २७ दशमलव ४ किलोमिटर मर्मत भइसकेको मन्त्रालयले जनाएको छ। वायरलाइन नेटवर्कतर्फ रसुवा र नुवाकोटका तीन ओएलटी पूर्णरूपमा क्षतिग्रस्त भएका थिए भने केही एफटीटीएच नेटवर्कमा समेत क्षति पुगेको थियो। तीमध्ये अधिकांश ओएलटी पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।
टिमुरे र रसुवागढी क्षेत्रमा फाइबर तथा माइक्रोवेभ प्रणालीमा क्षति पुगेपछि हाल फाइबरको सट्टा माइक्रोवेभ प्रविधिबाट ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्