काठमाडौं । काठमाडौं उपत्यकामा भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउने तयारीसँगै नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
प्राधिकरणका अनुसार भूमिगत लाइन सञ्चालन, प्राविधिक सुधार तथा आगामी हिउँदमा विद्युत् माग व्यवस्थापनका लागि आज (असोज १५ देखि २६) गतेसम्म विभिन्न स्थानमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् कटौती गरिनेछ।
निर्धारित तालिकाअनुसार असोज १५ गते सतुंगल–बौथली, १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक, १७ र २० गते मुलपानी, १८ गते गर्जुधारा, २१ गते बलम्बु, २२ गते कोटेश्वर–बालकुमारी, २४ गते सिफल, २५ गते सतुंगल–धौलागिरी आवास क्षेत्र र २६ गते धोबीखोला क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ। मौसम प्रतिकूल भएमा भने निर्धारित समयमा विद्युत् कटौती नगरिने प्राधिकरणले जनाएको छ। विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुरक्षित, भरपर्दो र स्वचालित बनाउने उद्देश्यले प्राधिकरणले यो आयोजना चरणबद्ध रूपमा अघि बढाइरहेको जनाएको छ।
पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जबाट सुरु भएको आयोजना दोस्रो चरणमा काठमाडौंका अन्य सहरी क्षेत्रमा विस्तार भइरहेको छ। त्यसपछि ललितपुर, भक्तपुर हुँदै पोखरा र भरतपुरसम्म विस्तार गर्ने योजना प्राधिकरणको छ। आयोजनाअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टका लाइन तथा अप्टिकल फाइबर जमिनमुनि बिछ्याइनेछ। प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि विद्युत् आपूर्तिको विश्वसनीयता र सुरक्षा बढ्नुका साथै सडकमा जथाभावी रहेका विद्युत्, टेलिफोन तथा इन्टरनेटका तार व्यवस्थापन भई सहरी सौन्दर्यमा समेत सुधार आउने प्राधिकरणको अपेक्षा छ।
















प्रतिक्रिया दिनुहोस्